11
मेरो अनुकरण गर्नेहरू होओ, जसरी म ख्रीष्‍टको अनुकरण गर्दछु । म तिमीहरूको प्रशंसा गर्दछु किनकि तिमीहरूले हरेक कुरामा मलाई सम्झन्छौ । म तिमीहरूको प्रशंसा गर्दछु, किनकि मैले सिकाएका शिक्षा तिमीहरूले कायम राख्छौ । म तिमीहरूले यो बुझ भन्‍ने चाहन्छु कि येशू ख्रीष्‍ट प्रत्येक मानिसको शिर हुनुहुन्छ, मानिस स्‍त्रीको शिर हो, र परमेश्‍वरचाहिँ ख्रीष्‍टको शिर हुनुहुन्छ । कुनै पुरुषले आफ्नो शिर ढाकेर प्रर्थना गर्छ अथवा अगमवाणी बोल्छ भने उसले परमेश्‍वरको अपमान गर्छ । तर यदि कुनै स्‍त्रीले आफ्नो शिर नढाकी प्रार्थना गर्छे वा अगमवाणी बोल्छे भने उसले आफ्नो शिरको अपमान गर्छे । किनकि यसो गर्नु भनेको उसले आफ्नो केश खौरेको जस्तै हो । यदि कुनै स्‍त्रीले आफ्नो शिर ढाक्दिन भने, उसले आफ्नो केश छोटो गरी काटोस् । यदि कपाल काट्नु उसको लागि शर्मको कुरा हो भने उसले आफ्नो शिर ढाकोस् । पुरुषले आफ्नो शिर नढाकोस् किनकि ऊ परमेश्‍वरको प्रतिरूप र गौरव हो । तर स्‍त्रीचाहिँ पुरुषको गौरव हो । किनकी पुरुष स्‍त्रीबाट बनिएको होइन, तर स्‍त्री पुरुषबाट बनिएकी हो । न त पुरुष स्‍त्रीको निम्ति सृष्‍टि गरिएका हो, तर स्‍त्री पुरुषको निम्ति बनिएकी हो । 10 यसै कारणले स्वर्गदूतहरूका खातिर स्‍त्रीले आफ्नो शिरमा अधिकारको चिह्न लगाउनुपर्छ । 11 तापनि प्रभुमा स्‍त्री पुरुषबाट स्वतन्‍त्र हुन्‍न न त स्‍त्रीबाट पुरुष नै । 12 किनकि जसरी स्‍त्री पुरुषबाट आउँछे त्यसरी नै पुरुष पनि स्‍त्रीबाट आउँछ । र सबै कुरा परमेश्‍वरबाट आउँछन् । 13 तिमीहरू आफैँ विचार गरः के स्‍त्रीले आफ्नो शिर नढाकी परमेश्‍वरसँग प्रार्थना गर्नु उपयुक्त हो ? 14 कुनै पुरुषले लामो केश पाल्नु उसको निम्ति शर्मको कुरो हो भन्‍ने प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र ? 15 कुनै स्‍त्रीको लामो केश हुनु, उसको निम्ति गौरवको कुरो हो भन्‍ने प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र ? 16 तर यदि कोही यस विषयमा बहस गर्न चाहन्छ भने हामीसँग अर्को कुनै प्रथा छैन, न परमेश्‍वरको मण्डलीसँग छ । 17 यी निर्देशनहरू दिँदा म तिमीहरूको प्रशंसा गर्दिनँ । किनकि तिमीहरू असलको निम्ति होइन तर खराबको निम्ति भेला हुन्छौ । 18 पहिलो कुरा त तिमीहरू मण्डलीमा भेला हुँदा, तिमीहरूमा फाटो हुन्छ भन्‍ने म सुन्छु र म केही हदसम्म विश्‍वास पनि गर्छु । 19 तिमीहरूका माझमा स्वीकृत भएका व्यक्‍तिहरू चिनिनको लागि पनि तिमीहरूका माझमा गुटबन्दी हुनु आवश्यक छ । 20 तिमीहरू भेला भएर खाएको कुरा प्रभु-भोज होइन । 21 जब तिमीहरू खान्छौ, अरूले आफ्नो भोजन खानुअगि हरेकले आफ्नो खाना खान्छ । एक जना भोकै हुन्छ र अर्को मातेको हुन्छ । 22 के खान र पिउनको लागि तिम्रो आफ्नै घर छैन र ? के तिमीहरू केही नभएकाहरूलाई अपमान गर्छौ र परमेश्‍वरको मण्डलीलाई तुच्छ ठान्छौ ? म तिमीहरूलाई के भनूँ ? के तिमीहरूको प्रशंसा गरूँ ? यसको निम्ति म तिमीहरूको प्रशंसा गर्दिनँ । 23 मैले जे परमेश्‍वरबाट पाएँ त्यो मैले तिमीहरूलाई सुम्पिदिएँ, कि प्रभु येशू ख्रीष्‍टले धोका पाएको त्यो रात रोटी लिनुभयो । 24 धन्यवाद दिनुभएपछि उहाँले रोटी भाँच्‍नुभयो र भन्‍नु भयो, “यो मेरो शरीर हो; यो तिमीहरूको निम्ति हो । मेरो सम्झनाको निम्ति यो गर ।” 25 त्यसरी नै खाइसक्‍नुभएपछि कचौरा लिनुभयो र भन्‍नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो । जब तिमीहरू पिउँछौ, मेरो सम्झना गर्ने गर ।” 26 जब जब तिमीहरूले यो रोटी खान्छौ र कचौराबाट पिउँछौ, उहाँ नआउञ्‍जेलसम्म प्रभुको मृत्युको घोषणा गर्छौ । 27 यसकारण जसले अयोग्य रीतिले रोटी खान्छ र कचौराबाट पिउँछ, ऊ प्रभुको शरीर र रगतको दोषी हुनेछ । 28 कुनै व्यक्‍तिले पहिले आफैँलाई जाँचोस् र रोटी खाओस् र कचौरबाट पिओस् । 29 किनकि जसले शरीरको वास्ता नाराखीकन रोटी खान्छ र कचौराबाट पिउँछ, उसले खाएको र पिएको कारण आफूमाथि न्यायको दण्ड ल्याउँछ । 30 त्यसकारण, तिमीहरूमध्ये धेरै जना रोगी र बिमारी छन् र कोही त मरिसकेका छन् । 31 तर यदि हामीले आफैँलाई जाँच गर्‍यौँ भने हामी न्यायमा पर्नेछैनौँ । 32 तर जब हामी परमेश्‍वरबाट जाँचिन्छौँ हामी अनुशासित हुनेछौँ, र संसारसँगै दोषी ठहरिनेछैनौँ । 33 त्यसकारण, मेरा भाइहरू हो, जब तिमीहरू खानको लागि भेला हुन्छौ एकले अर्कालाई पर्ख । 34 यदि कोही भोकाएको छ भने त्यसले घरैमा खाओस्, ताकि तिमीहरू भेला हुँदा तिमीहरू न्यायमा पर्नेछैनौ । र तिमीहरूले लेखेका अन्य विषयहरूको बारेमा म आएपछि निर्देशनहरू दिनेछु ।