8
1 तब सोलोमनले इस्राएलका सबै धर्म-गुरु, कुल-कुलका नायकहरू र इस्राएलका परिवारका मुख्य-मुख्य व्यक्तिहरूलाई सियोन अर्थात् दाऊदको सहरबाट परमप्रभुको सन्दुक ल्याउनलाई यरूशलेममा जम्मा गरे । 2 एतानीम महिना अर्थात् सातौँ महिनामा चाडको अवसरमा इस्राएलका सबै मानिस सोलोमन राजाको सामु भेला भए । 3 इस्राएलका सबै धर्म-गुरु आए, अनि पुजारीहरूले सन्दुक उठाए । 4 तिनीहरूले परमप्रभुको सन्दुक, भेट हुने पाल र पालभित्र भएका सजावटका सबै पवित्र सामान ल्याए । पुजारी र लेवीहरूले यी सामानहरू ल्याएका थिए । 5 सोलोमन राजा र इस्राएलका सारा समुदाय सन्दुकको सामु भेला भए, अनि तिनीहरूले असङ्ख्य भेडाहरू र गोरुहरू बलिदान चढाए । 6 पुजारीहरूले परमप्रभुको करारको सन्दुकलाई त्यसको उचित स्थान अर्थात् करूबहरूको छायामुनि मन्दिरको महा-पवित्रस्थानमा लगेर राखे । 7 किनकि करूबहरूले सन्दुक राखिएको ठाउँको माथि आ-आफ्ना पखेटा फैलाएका थिए, र ती पखेटाले सन्दुक र त्यसका डन्डाहरूमाथि छाया पारेका थिए । 8 यी डन्डाहरू यति लामा-लामा थिए, कि तिनका टुप्पाहरू महा-पवित्रस्थानको सामु पवित्रस्थानबाट देख्न सकिन्थे, तर तिनलाई बाहिरबाट भने देख्न सकिँदैनथ्यो । ती आजको दिनसम्म त्यहीँ छन् । 9 इस्राएलीहरू मिश्र देशबाट आउँदा परमप्रभुले तिनीहरूसित करार बाँध्नुहुँदा होरेब पर्वतमा मोशाले दुईवटा शिला-पाटी सन्दुकभित्र राखेका थिए, र सन्दुकभित्र यी शिला-पाटीहरू मात्र थिए । 10 पुजारीहरू पवित्रस्थानबाट बाहिर आउँदा परमप्रभुको मन्दिर बादलले भरियो । 11 बादलको कारणले पुजारीहरूले सेवा गर्न सकेनन् किनकि परमप्रभुको महिमाले उहाँको मन्दिर भरिएको थियो । 12 तब सोलोमनले भने, “परमप्रभु बाक्लो बादलमा बस्नुहुनेथियो भनी उहाँले भन्नुभएको थियो, 13 तर तपाईं सदासर्वदै रहनलाई मैले एउटा शोभनीय वासस्थान निर्माण गरेको छु ।” 14 तब राजा फर्केर उभिरहेका इस्राएलका सारा समुदायलाई आशिष् दिए । 15 तिनले भने, “इस्राएलका परमेश्वर परमप्रभुको स्तुति होस् जो मेरा पिता दाऊदसित बोल्नुभयो, र जसले यसो भन्दै आफ्नै हातले यो कुरा पुरा गर्नुभएको छ, 16 'मैले मेरो जाति इस्राएललाई मिश्रबाट बाहिर ल्याएको दिनदेखि मेरो नाउँ राख्नको लागि मैले इस्राएलका सबै कुलबाट कुनै पनि सहर छानिनँ । 17 तथापि मेरो जाति इस्राएलमाथि शासन गर्न मैले दाऊदलाई छानेँ ।' इस्राएलका परमेश्वर परमप्रभुको नाउँमा एउटा भवन निर्माण गर्ने इच्छा मेरा पिता दाऊदको ह्रदयमा थियो । 18 तर परमप्रभुले मेरा पिता दाऊदलाई भन्नुभयो, 'तेरो ह्रदयमा मेरो नाउँमा एउटा भवन निर्माण गर्ने इच्छा राम्रै छ । 19 तरै पनि तैँले त्यो भवन बनाउने छैनस्, बरु तेरो छोरो अर्थात् तेरो आफ्नै रगत र मासुको छोरोले मेरो नाउँमा भवन बनाउने छ ।' 20 परमप्रभुले आफूले भन्नुभएको वचन पुरा गर्नुभएको छ, किनकि म मेरा पिता दाऊदको ठाउँमा खडा भएको छु, र परमप्रभुले प्रतिज्ञा गर्नुभएझैँ म इस्राएलको सिंहासनमा बसेको छु । मैले इस्राएलका परमेश्वर परमप्रभुको नाउँमा घर बनाएको छु । 21 मैले त्यहाँ सन्दुकको निम्ति ठाउँ बनाएको छु जसमा परमप्रभुको करार राखिएको छ । उहाँले मिश्रबाट हाम्रा पिता-पुर्खाहरूलाई ल्याउनुहँदा उहाँले तिनीहरूसित यो करार बाँध्नुभएको थियो ।” 22 सोलोमन परमप्रभुको वेदी र इस्राएलका सारा समुदायको सामुन्ने खडा भए, र स्वर्गतिर आफ्ना हात फैलाए । 23 तिनले भने, “हे इस्राएलका परमेश्वर परमप्रभु, माथि स्वर्गमा वा तल पृथ्वीमा तपाईंजस्तो कुनै ईश्वर छैन जसले आफ्ना सारा ह्रदयले तपाईंको अगि हिँड्ने तपाईंका दासहरूसित करारको विश्वसनीयता कायम राख्नुहुन्छ । 24 तपाईंले आफ्ना दास अर्थात् मेरा पिता दाऊदसित प्रतिज्ञा गर्नुभएको वचन पुरा गर्नुभएको छ । हो, तपाईंले आफ्नो मुखले बोल्नुभयो र त्यसलाई आफ्नो हातले पुरा गर्नुभयो जस्तो आज हुन आएको छ । 25 अब हे इस्राएलका परमेश्वर परमप्रभु, तपाईंका दास अर्थात् मेरा पिता दाऊदसित प्रतिज्ञा गर्नुभएको वचन पुरा गर्नुहोस् । तपाईंले भन्नुभयो, 'तँ मेरो अगि हिँडेजस्तै तेरा सन्तानहरू मेरो अगि हिँड्न होसियार भए भने इस्राएलको सिंहासनमा बस्न कुनै मानिसको अभाव हुने छैन ।' 26 अब हे इस्राएलका परमेश्वर, तपाईंले आफ्ना दास अर्थात् मेरा पिता दाऊदसित बोल्नुभएको तपाईंको वचन पुरा होस् । 27 तर के परमेश्वर साँच्चै नै पृथ्वीमा बस्नुहुन्छ र ? सारा विश्व र आकाशमा पनि तपाईं अटाउनुहुन्न भने मैले बनाएको यस मन्दिरमा तपाईं कसरी अटाउन सक्नुहुन्छ त! 28 तरै पनि हे परमप्रभु मेरा परमेश्वर, तपाईंका दासको यस प्रार्थना र बिन्तीलाई आदर गरिदिनुहोस् । आज तपाईंका दासले तपाईंको सामु टक्र्याउने प्रार्थना र पुकारालाई सुनिदिनुहोस् । 29 रातदिन यस मन्दिरतर्फ तपाईंका आँखा खुला रहोस् जुन ठाउँको बारेमा तपाईंले भन्नुभएको छ, 'त्यहाँ मेरो नाउँ र उपस्थिति रहने छ' ताकि तपाईंका दासले यस ठाउँतर्फ चढाएका प्रार्थनाहरू तपाईंले सुन्नुभएको होस् । 30 त्यसैले हामीले यस ठाउँतर्फ फर्केर प्रार्थना गर्दा तपाईंका दास र तपाईंको जाति इस्राएलको बिन्तीलाई सुनिदिनुहोस् । हो, तपाईं बसोबास गर्नुहुने ठाउँ अर्थात् स्वर्गबाट सुन्नुहोस् । तपाईंले सुन्नुभएपछि क्षमा दिनुहोस् । 31 कुनै मानिसले आफ्नो छिमेकीको विरुद्धमा पाप गरी त्यसलाई शपथ खान लगाइयो र त्यसले यस मन्दिरभित्रको वेदीको सामु आई शपथ खायो भने 32 स्वर्गबाट सुनेर जवाफ दिनुहोस् । दोषीहरूलाई दण्डाज्ञा दिँदै तिनीहरूले गरेको खराबी तिनीहरूकै शिरमाथि खन्याउँदै आफ्ना दासहरूको न्याय गर्नुहोस् । निर्दोषहरूलाई दोषी नठहराउनुहोस् र तिनीहरूको धार्मिकताअनुसार तिनीहरूको प्रतिफल दिनुहोस् । 33 तपाईंको जाति इस्राएलले तपाईंको विरुद्धमा पाप गरेकाले तिनीहरू शत्रुबाट पराजित हुँदा तिनीहरू तपाईंकहाँ फर्की तपाईंको नाउँलाई पुकारे, प्रार्थना गरे र तपाईंको मन्दिरमा क्षमाको अनुरोध गरे भने 34 तब स्वर्गमा सुन्नुहोस् र तपाईंको जाति इस्राएलको पाप क्षमा गरिदिनुहोस् । तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिनुभएको देशमा तिनीहरूलाई फर्काएर ल्याउनुहोस् । 35 मानिसहरूले तपाईंको विरुद्धमा पाप गरेकाले आकाश बन्द भई वृष्टि रोकिँदा तिनीहरूले यस ठाउँतर्फ फर्केर प्रार्थना गरी तपाईंको नाउँ पुकारे र तिनीहरूलाई कष्ट आउँदा तिनीहरूका पापबाट फर्के भने 36 स्वर्गमा सुन्नुहोस् र तपाईंका दासहरूसाथै तपाईंको जाति इस्राएलको पाप क्षमा गरिदिनुहोस् अनि तिनीहरू कसरी चल्नुपर्ने हो भनी तिनीहरूलाई असल तरिका सिकाउनुहोस् । सम्पत्तिको रूपमा तपाईंले आफ्नो जातिलाई दिनुभएको तपाईंको देशमा वृष्टि ल्याइदिनुहोस् । 37 जब देशमा अनिकाल पर्दा वा रोग, विपत्ति, वनस्पति ओइलाउने ढुसी वा शीत वा सलहहरू वा झुसिलकिराहरू आउँदा वा तिनीहरूको कुनै सहरमा मूलद्वारमा शत्रुले आक्रमण गर्यो वा त्यहाँ कुनै विपत्ति वा रोग लाग्दा, 38 कुनै एक व्यक्ति वा तपाईंको सारा जाति इस्राएलले हरेकले आफ्नो ह्रदयको दुःख सम्झेर आफ्नो हात यस मन्दिरतिर उचाली प्रार्थना र बिन्ती चढायो भने 39 स्वर्गबाट सुन्नुहोस् जहाँ तपाईं बस्नुहुन्छ, तिनीहरूलाई क्षमा दिनुहोस् र हरेकले गरेअनुसार त्यसको प्रतिफल दिनुहोस् । किनकि तपाईंले मात्र सारा मानव-जातिका ह्रदय जान्नुहुन्छ । 40 तपाईंले हाम्रा पिता-पुर्खाहरूलाई दिनुभएको यस देशमा तिनीहरू बस्दा तिनीहरूको जीवनभर तिनीहरू तपाईंदेखि डराऊन् भन्नाका लागि यसै गर्नुहोस् । 41 यसको अतिरिक्त, तपाईंको जाति इस्राएलभन्दा बाहिरको कुनै परदेशी तपाईंको नाउँको कारणले टाढाको देशबाट आएको छ– 42 किनकि त्यसले तपाईंको महान् नाउँ, तपाईंको शक्तिशाली हात र तपाईंको फैलाइएको पाखुराको बारेमा सुनेको छ– र यस मन्दिरतर्फ हेरेर प्रार्थना चढाएको छ भने 43 तब स्वर्गबाट सुन्नुहोस् जहाँ तपाईं बस्नुहुन्छ अनि त्यस परदेशीले मागेको कुरा दिनुहोस् । तपाईंले आफ्नो जाति इस्राएललाई गरेजस्तै पृथ्वीका सबै जातिले तपाईंको नाउँलाई जानी तपाईंदेखि डराऊन् भन्ने हेतुले यसो गर्नुहोस् । मैले बनाएको यो घरमा तपाईंको नाउँ राखिएको छ भनी तिनीहरूले जान्न सकून् भनेर यसो गर्नुहोस् । 44 तपाईंले जुनसुकै बाटो भएर पठाउनुभए तापनि तपाईंको जाति शत्रुको विरुद्धमा लड्न बाहिर गएको छ, र हे परमप्रभु, तिनीहरूले तपाईंले चुन्नुभएको सहर र मैले तपाईंको नाउँमा बनाएको मन्दिरतर्फ हेरेर तपाईंमा प्रार्थना चढाएका छन् भने 45 स्वर्गमा तिनीहरूका प्रार्थना र बिन्ती सुनेर तिनीहरूलाई मदत गर्नुहोस् । 46 पाप नगर्ने कोही नभएकोले तिनीहरूले तपाईंको विरुद्धमा पाप गरेका छन्, र तपाईं तिनीहरूसित रिसाउनुभई तिनीहरूलाई शत्रुको हातमा सुम्पिदिनुभएको छ र शत्रुहरूले तिनीहरूलाई तिनीहरूको देशबाट धेरै टाढाको देशमा निर्वासनमा लगेका छन्, 47 र तिनीहरू निर्वासित भएर अर्कै देशमा लगिएका रहेछन् भनी तिनीहरूले थाहा पाएपछि तिनीहरूले पश्चात्ताप गरेर तिनीहरूलाई निर्वासित गर्नेहरूको देशबाट तिनीहरूले तपाईंको निगाह खोजेका छन् र तिनीहरूले 'हामीले बाटो बिराई पाप गरेका छौँ, हामीले दुष्टतापूर्वक व्यवहार गरेका छौँ' 48 भनेर भनेमा र तिनीहरूलाई निर्वासित बनाएर लैजानेहरू अर्थात् तिनीहरूका शत्रुहरूको देशमा तिनीहरूका सारा ह्रदय र सारा प्राणले तिनीहरू तपाईंकहाँ फर्के भने र तिनीहरूले तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिनुभएको तपाईंको देश र तपाईंले छान्नुभएको सहर र मैले तपाईंको नाउँमा बनाएको यस मन्दिरतर्फ हेरी तपाईंलाई प्रार्थना चढाए भने, 49 तब तपाईंको वासस्थान स्वर्गबाट मदतको लागि तिनीहरूले चढाएको प्रार्थना र अनुरोध सुन्नुहोस् । यसरी तिनीहरूसितको सम्बन्ध पुनर्स्थापित हुने छ । 50 तपाईंको विरुद्धमा पाप गरेका तपाईंको जातिलाई क्षमा दिनुहोस्, र तिनीहरूले तपाईंको विरुद्धमा गरेका सबै अधर्म क्षमा गरिदिनुहोस् अनि तिनीहरूका विजेताहरूका सामु तिनीहरूलाई दया देखाउनुहोस् र तिनीहरूका विजेताहरूलाई पनि तिनीहरूमाथि दया देखाउन लगाइदिनुहोस् । 51 तिनीहरू तपाईंले चुन्नुभएका तपाईंका जाति हुन् जसलाई तपाईंले फलाम गल्ने भट्टीको बिचबाट अर्थात् मिश्रबाट छुटकारा दिनुभयो । 52 तपाईंका दास र तपाईंको जाति इस्राएलले जुनसुकै बेला तपाईंलाई पुकारा गर्दा तिनीहरूको कुरा सुन्न तपाईंका आँखा खुला रहून् । 53 किनकि हे परमप्रभु, तपाईंले हाम्रा पुर्खाहरूलाई मिश्रबाट ल्याउनुहुँदा तपाईंका दास मोशालाई व्याख्या गर्नुभएझैँ तपाईंकै हुन र तपाईंका प्रतिज्ञाहरू प्राप्त गर्न तपाईंले नै तिनीहरूलाई पृथ्वीका सबै जातिबाट अलग गर्नुभयो ।” 54 जब सोलोमनले परमप्रभुको सामु यी सबै प्रार्थना र बिन्ती चढाएर सिद्ध्याए, तब तिनी परमप्रभुको वेदीबाट उठे जहाँ तिनले घुँडा टेकेर आफ्ना हात स्वर्गतिर फैलाएका थिए । 55 “परमप्रभुको स्तुति होस्, जसले आफ्ना सबै प्रतिज्ञा पुरा गरी आफ्नो जाति इस्राएललाई विश्राम दिनुभएको छ । 56 परमप्रभुले आफ्ना दास मोशासित गर्नुभएका असल प्रतिज्ञाहरूमध्ये एउटै पनि विफल भएको छैन । 57 परमप्रभु हाम्रा परमेश्वर हाम्रा पुर्खाहरूसित हुनुभएझैँ हामीसित पनि होऊन् । उहाँले हामीलाई कहिल्यै नछोडून्, न त त्यागून् । 58 उहाँका सबै मार्गमा जिउन, र उहाँले हाम्रा पिता-पुर्खाहरूलाई दिनुभएका उहाँका आदेशहरूसाथै निर्देशनहरू अनि विधिविधानहरू पालन गर्न उहाँले हाम्रा ह्रदय आफूतर्फ फर्काऊन् । 59 मैले परमप्रभुको सामु चढाएका यी वचनहरू रातदिन परमप्रभु हाम्रा परमेश्वरको नजिक रहून् ताकि दिनप्रतिदिनको खाँचोअनुसार तपाईंको दास र तपाईंको जाति इस्राएलको कारण मदत मिलोस्, 60 ताकि पृथ्वीका सबै जातिले परमप्रभु नै परमेश्वर हुनुहुन्छ र उहाँबाहेक अर्को ईश्वर छैन भनी जानून् । 61 त्यसकारण, आजको दिनमा झैँ परमप्रभु हाम्रा परमेश्वरका विधिविधानहरू र उहाँका आज्ञाहरू पालन गर्न तिमीहरूको ह्रदय उहाँप्रति साँचा होऊन् । 62 त्यसैले राजा र तिनीसँगै सारा इस्राएलले परमप्रभुको निम्ति बलिदानहरू चढाए । 63 सोलोमनले परमप्रभुको निम्ति बाइस हजार गाईवस्तु र एक लाख बिस हजार भेडा-बाख्रा मेलबलिको रूपमा चढाए । यसरी राजा र इस्राएलका सारा समुदायले परमप्रभुको मन्दिर समर्पण गरे । 64 त्यसै दिन राजाले परमप्रभुको मन्दिरको सामु चोकको बिचको भागलाई पनि अर्पण गरे, अनि तिनले त्यहाँ होमबलि, अन्नबलि र मेलबलिको बोसो चढाए, किनकि परमप्रभुको सामु राखिएको काँसाको वेदी यति सानो थियो कि त्यहाँ होमबलि, अन्नबलि र मेलबलिको बोसो चढाउन सकिँदैनथ्यो । 65 यसैले सोलोमनले त्यस बेला एउटा चाड मनाए । त्यहाँ लेबो-हमातदेखि मिश्रको खोलासम्मका सारा इस्राएल, ठुलो समुदायले परमप्रभु हाम्रा परमेश्वरको सामु सात दिन र अर्को सात दिन गरी जम्मा चौध दिनसम्म चाड मनाए । 66 आठौँ दिनमा तिनले मानिसहरूलाई बिदा दिए, र तिनीहरूले राजालाई धन्यको भने अनि परमप्रभुले आफ्ना दास दाऊद र आफ्नो जाति इस्राएलको निम्ति गर्नुभएका सबै असल कार्यको कारण हर्षित र आनन्दित हृदयसाथ तिनीहरू आ-आफ्ना घरतर्फ लागे ।