18
जब तिनले शाऊलसँग कुरा गरिसकेका थिए, तब जोनाथनको प्राण दाऊदको प्राणसँग बाँधियो र जोनाथनले तिनलाई आफ्‍नै प्राणलाई झैं प्रेम गरे । त्यस दिन शाऊलले दाऊदलाई आफ्नो सेवामा लिए । उनले तिनलाई आफ्‍नो बुबाको घरमा फर्कन दिएनन् । तब जोनाथन र दाऊदले मित्रताको करार बाँधे, किनभने जोनाथनले तिनलाई आफ्नै प्राणलाई झैं प्रेम गरे । जोनाथनले आफूले लगाइरहेका पोशाक फुकाले र आफ्नो हतियार, तरवार, धनु र पेटी सहित त्‍यो तिनले दाऊदलाई दिए । शाऊलले जहाँ पठाए पनि दाऊद जान्थे, र तिनी सफल भए । शाऊलले तिनलाई युद्ध गर्ने मानिसहरूको उच्‍च पदमा स्थापित गरे । सबै मानिसहरू र शाऊलका सेवकहरूकै दृष्‍टिमा पनि यो कुरा असलै लाग्‍यो । जब तिनीहरू पलिश्तीहरूलाई पराजित गरेर आए, तब इस्राएलका सहरहरूबाट स्‍त्रीहरू खैंजडी र अन्य साङ्गितिक साधनहरूसँगै आनन्द साथ गाउँदै र चाँच्दै निस्के शाऊल राजालाई भेट्‍न आए । ती स्‍त्रीहरूले संगीतका साधनहरू बजाउँदै एकसाथ गीतहरू गाए । तिनीहरूले यसरी गाएः “शाऊलले हजारौंलाई मारेका छन् र दाऊदले दसौं हजारलाई मारेका छन् ।” शाऊल रिसले चुर भए र यो गितले तिनलाई अप्रसन्‍न बनायो । तिनलेल भने, “तिनीहरूले दाऊदलाई दसौं हजारको श्रेय दिए, तर तिनीहरूले मलाई भने हजारौं मात्रको श्रेय दिए । राजाको दर्जाबाहेक अब अरू बढी उसले के पाउनु छ र?” शाऊलले त्यस दिनदेखि दाऊदलाई शंकाको दृष्‍टिे हेरे । 10 भोलि पल्ट शाऊलमा परमेश्‍वरबाटको हानिकारक आत्मा आयो र तिनले घरभित्र नै अगमवाणी बोले । त्यसैले दाऊदले हरेक दिन गरेझैं आफ्‍नो सङ्गीतको साधन बजाए । शाऊलको हातमा भाला थियो । 11 शाऊलले भाला हाने, किनकि तिनले सोचे, “म दाऊदलाई भित्तामा छेडिदिन्‍छु ।” तर त्‍यो दिन दाऊद दुईपल्‍ट यसरी नै शाऊलको उपस्थितिबाट उम्के । 12 परमप्रभु दाऊदसँग हुनुहुन्‍थ्‍यो, तर शाऊलसँग फेरि हुनुभएन, यसैले शाऊल तिनीसँग डराए । 13 त्यसैले शाऊलले तिनलाई आफ्नो उपस्थितिबाट हटाए र तिनलाई हजारको कमाण्‍डरमा नियुक्‍त गरे । यसरी दाऊद बाहिर निस्के र मानिसहरूको सामु आए । 14 दाऊद आफ्‍ना मार्गमा सफलता पाए, किनभने परमप्रभु तिनीसँग हुनुहुन्थ्यो । 15 जब शाऊलले तिनको फलिफाप भएको देखे, तब उनलाई तिनको डर भयो । 16 तर सारा इस्राएल र यहूदाले दाऊदलाई प्रेम गरे, किनभने उनीहरूका सामु तिनी भित्र-बाहिर गर्थे । 17 तब शाऊलले दाऊदलाई भने, “मेरी जेठी छोरी मेराब यहाँ छिन् । तिनलाई म तिम्रो पत्‍नी हुनलाई दिनेछु । मेरो निम्ति मात्र साहसी हुनु र परमप्रभुको युद्ध लड्नुपर्छ ।” किनकि शाऊलले सोचे, “तिनीमाथि मेरो हात नपरोस्, तर तिनीमाथि पलिश्तीहरूको हात परोस् ।” 18 दाऊदले शाऊललाई भने, “म राजाको ज्वाइँ बन्‍न, म को हुँ र मेरा नातेदारहरू वा इस्राएलमा मेरो बुबाको कुल को हो र?” 19 तर शाऊलकी छोरी मेराबलाई दाऊदलाई पत्‍नीको रूपमा दिने बेलामा, तिनलाई महोलाको अद्रिएलको पत्‍नीको रूपमा दिइयो । 20 तर शाऊलकी छोरी मीकलले दाऊदलाई प्रेम गर्थिन् । तिनीहरूलले दाऊदलाई भने र यो कुराले तिनी खुसी भए । 21 तब शाऊलले सोचे, “दाऊदसँग म त्‍यसकै विवाह गरिदिनेछु, ताकि त्‍यसको निम्ति यो एउटा पासो होस् र पलिश्तीहरूका हात उसको विरुद्धमा परोस् ।” यसरी शाऊलले दाऊदलाई दोस्रोपल्‍ट यसो भने, “तिमी मेरो ज्‍वाइँ हुनेछौ ।” 22 शाऊललले आफ्ना सेवकहरूलाई आज्ञा दिए, “दाऊदसँग गोप्यमा कुरा गर र यसो भन, 'हेर, राजा तिमीसँग खुसी हुनुहुन्छ, र उनका सबै सेवकहरूले तपाईंलाई मन पराउँछन् । त्‍यसो हो भने, अब राजाको ज्वाइँ हुनुहोस्' ।” 23 त्यसैले शाऊलका सेवकहरूले यी कुराहरू दाऊदलाई भने । तब दाऊदले भने, “के राजाको ज्वाइँ हुनु तपाईंहरूका निम्‍ति सानो कुरा हो, किनकि म त गरीब र तुच्छ मानिस हुँ?” 24 शाऊलका सेवहरूले दाऊदले भनेका यी कुराहरू उनलाई बताए । 25 त्यसपछि शाऊलले भने, “दाऊदलाई यसो भन, 'राजाले आफ्ना शत्रुहरूमाथि बद्‍ला लिनलाई दुलहीको मूल्य पलिश्तीहरूको सयवटा खलडीबाहेक कुनै कुरा चाहनुहुन्‍न' ।” दाऊद पलिश्तीहरूको हातबाट मरून् भन्‍ने शाऊलको विचार थियो । 26 जब तिनका सेवकहरूले दाऊदलाई यी कुराहरू बताए, तब दाऊद राजाको ज्वाइँ हुन राजी भए । 27 ती दिन सिद्धिनअगि नै, दाऊद आफ्ना मानिसहरूसँग गए र दुई सय जना पलिश्तीहरूलाई मारे । दाऊदले तिनीहरूका खलडी ल्याए र तिनीहरूले राजालाई त्यो पूर्ण संख्यामा दिए, ताकि तिनी राजाका ज्‍वाइँ हुन सकून् । त्यसैले शाऊलले तिनकी छोरी मीकललाई उनको पत्‍नी हुनलाई दिए । 28 परमप्रभु दाऊदसँग हुनुभएको र शाऊलकी छोरी मीकलले तिनलाई प्रेम गरेको जब शाऊलले देखे र थाहा पाए, 29 तब दाऊदसँग शाऊल झन् धेरै डराए । शाऊल निरन्‍तर रूपमा दाऊदका शत्रु भए । 30 त्यसपछि पलिश्तीहरूका शासकहरू युद्ध गर्न आए र तिनीहरू जति पटक युद्ध गर्न आए पनि दाऊदचाहिं तिनीहरूमाथि शाऊलका अन्य सेवकहरूभन्दा धेरै सफल भए, जसले गर्दा तिनको नाउँको उच्‍च कदर गरिएको थियो ।