20
तब दाऊद रामाको नैयोतबाट भागे र जोनाथनकहाँ आए र भने, “मैले के गरेको छु? मेरो अपराध के हो? तपाईंको बुबाको सामु मैले गरेको पाप हो,जसको कारणले उहाँले मेरो ज्यान लिन खोज्नुहुन्छ?” जोनाथनले दाऊदलाई भने, “यो कुरा दूर होस् । तपाईं मर्नुहुन्‍न । मेरो बुबाले मलाई नभनी सानो वा ठुलो कुनै पनि कुरा गर्नुहुन्‍न । मेरो बुबाले यो कुरा किन लुकाउनुहुन्छ? यो यस्तो होइन?” तापनि दाऊदले फेरि शपथ खाए र भने, “मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भनेर तपाईंको बुबाले राम्ररी थाहा पाउनुभएको छ । उहाँले भन्‍नुभएको छ, 'जोनाथनले यो कुरा थाहा पाउनुहुँदैन नत्र ऊ दुःखित हुनेछ ।' तर जस्तो परमप्रभु जीवित हुनुहुन्छ र तपाईं जीवित हुनुहुन्छ, म र मृत्यु बिच एक कदम मात्र छ ।” तब जोनाथनले दाऊदलाई भने, “तपाईंले मलाई जे भन्‍नुहुन्छ, म तपाईंको निम्ति त्यही गर्नेछु ।” दाऊदले जोनाथनलाई भने, “भोलि औंसी हो, म राजासँग खान बस्‍नुपर्छ । तर मलाई जान दिनुहोस्, ताकि तेस्रो दिनको साँझसम्म म आफै खेतमा लुक्‍न सकूँ । तपाईंका बुबाले म नहुँदा खिन्‍न महसुस गर्नुभयो भने, यसो भन्‍नुहोस्, 'दाऊदले आफ्नो सहर बेथलेहेममा जान पाऊँ भनी तिनले मसँग ज्‍यादै बिन्‍ती गरेर विदा मागे । किनभने त्‍यहाँ सबै कुलको वार्षिक बलिदान हुँदैछ ।' उहाँले, 'ठिकै छ' भन्‍नुहुन्‍छ भने, तपाईंको दासलाई शान्ति हुनेछ । तर उहाँ रिसले चुर हुनुभयो भने, उहाँले कुनै खराब गर्ने अठोट गर्नुभएको छ भनी जान्‍नुहोस् । यसकारण आफ्‍नो दासमाथि दायपूर्वक व्यवहार गर्नुहोस् । किनभने तपाईंले आफ्नो दासलाई आफूसँगै परमप्रभुको करारमा ल्याउनुभएको छ । तर ममा कुनै पाप छ भने, मलाई तपाईं आफैले मार्नुहोस् । किनकि मलाई किन तपाईंको बुबाकहाँ ल्याउनुहुन्छ?” जोनाथनले भने, “यो कुरा तपाईंबाट दूर रहोस्! मेरा बुबाले तपाईंमाथि हानि ल्याउने अठोट गर्नुभएको छ भनी मैले थाहा पाएँ भने, के म तपाईंलाई भन्दिनँ र?” 10 तब दाऊदले जोनाथनलाई भने, “तपाईंका बुबाले तपाईंलाई कतै खस्रो किसिमको जवाफ दिनुभयो भने मलाई कसले भनिदिने?” 11 जोनाथनले दाऊदलाई भने, “आउनुहोस्, हामी खेतमा जाऔं ।” त्यसैले तिनीहरू दुवै जना खेतमा गए । 12 जोनाथनले दाऊदलाई भने, “परमप्रभुको इस्राएलको परमेश्‍वर नै साक्षी हुनुभएको होस् । जब भोलि वा पर्सि मैले मेरो बुबालाई प्रश्‍न गरेपछि, हेर्नुहोस्, दाऊदप्रति शुभेच्छा छ भने, के म तपाईंकहाँ कसैलाई पठाउने र त्‍यो कुराको जानकारी तपाईंलाई दिनेछैन र? 13 मेरो बुबाले तपाईंलाई हानि गर्ने इच्छा गर्नुभएको रहेछ, र तपाईं शान्तिमा जान सक्‍नुभएको होस् भनी मैले तपाईंलाई थाहा दिइनँ, र तपाईंलाई पठाइनँ भने, परमप्रभुले जोनाथनलाई यसै र अझ बढी गर्नुभएको होस् । परमप्रभु जसरी मेरो बुबासँग हुनुहुन्‍छ, त्यसरी नै उहाँ तपाईंसँग रहनुभएको होस् । 14 म जीवित रहें भने के तपाईंले मलाई परमप्रभुको करारको विश्‍वस्‍तता देखाउनुहुनेछैन र ताकि म मर्नेछैन? 15 परमप्रभुले दाऊदका शत्रुहरूलाई पृथ्वीको सतहबाट निमिट्यान्‍न पार्नुहुँदा पनि मेरो घरानाबाट तपाईंको करारको विश्‍वस्‍तता नहटाउनुहोला ।” 16 त्यसैले जोनाथनले दाऊदको घरानासँग करार बाँधे र भने, “परमप्रभुले दाऊदका शत्रुहरूबाट लेख लिनुभएको होस् ।” 17 जोनाथानले दाऊदप्रतिको तिनको प्रेमले गर्दा फेरि तिनले शपथ खाए, किनभने तिनलाई आफ्नो प्राणलाई झैं उनले प्रेम गरे । 18 तब जोनाथनले तिनलाई भने, “भोलि औंसी हो । तपाईं नहुँदा खिन्‍न महसुस हुनेछ, किनभने तपाईंको आसन खाली हुनेछ । 19 जब तपाईं तिन दिन लुकेपछि, तुरुन्‍तै तल जानुहोस् र यो कुरा सुरु भयो भने तपाईं लुक्‍नुभएकै ठाउँमा आउनुहोस्, अनि एजेल ढुङ्गाको छेउमा बस्‍नुहोस् । 20 मैले कुनै कुरालाई तारो बनाएर हानेझैं, म यसको छेउमा तिन वटा काँडहरू हान्‍नेछु । 21 तब म आफ्‍नो जवान केटोलाई यसो भन्‍नेछु र पठाउनेछु, 'जा र काँडहरू टिपेर ले ।'मैले त्यो जवानलाई, 'हेर्, काँडहरू तेरो यतापट्टि छन्, ति लिएर आइज” तब आउनुहोस् । किनभने परमप्रभु जीवित हुनुभएझैं त्यहाँ तपाईंको निम्ति सुरक्षा हुनेछ, र हानि हुनेछैन । 22 “तर मैले त्यो जवानलाई यसो भनें, 'हेर्, काँडहरू तेरो उतापट्टि छन्,' तब तपाईं आफ्नो बाटो लाग्‍नुहोस्, किनकि परमप्रभुले तपाईंलाई टाढा पठाउनुभएको छ ।” 23 म र तपाईंले गरेको सहमतिको बारेमा, हेर्नुहोस्, परमप्रभु तपाईं र मेरो बिचमा सदासर्वदा साक्षी हुनुहुन्छ' ।” 24 त्यसैले दाऊदले आफूलाई खेतमा लुकाए । जब औंसी आयो, तब राजा खानलाई बसे । 25 सदाझैं राजा आफ्नो आसनमा भित्ताको छेउमा बसे । जोनातन खडा भए, र अबनेर शाऊलको छेउमा बसे । तर दाऊदको ठाउँ खाली थियो । 26 तापनि शाऊलले त्यस दिन केही पनि भनेनन्, किनभने तिनले सोचे, “तिनलाई केही भएको छ । तिनी शुद्ध छैनन् । निश्‍चय नै तिनी शुद्ध छैनन् ।” 27 तर औंसीको भोलि पल्ट दाऊदको ठाउँ खाली थियो । शाऊलले जोनाथनलाई भने, “यिशैका छोरा खानलाई हिजो वा आज किन आएको छैन्?” 28 जोनाथनले शाऊललाई जवाफ दिए, “दाऊदले बेथलेहेम जानलाई मसँग ज्‍यादै बिन्‍ती गरेर अनुमती मागे । 29 तिनले भने, “कृपया मलाई जान दिनुहोस् । किनकि हाम्रो परिवारको सहरमा एउटा बलिदान छ, र म त्यहाँ हुनुपर्छ भनी मेरो दाजुले मलाई आदेश दिएका छन् । मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने, कृपया मलाई जान र आफ्‍ना दाजुहरूलाई भेट्न दिनुहोस् ।' यसकारण तिनी राजासँग खानलाई टेबलमा आएका छैनन् ।” 30 तब जोनाथनको विरुद्धमा शाऊल रिस दन्‍कियो र तिनले उनलाई भने, “तँ पथभ्रष्‍ट र विद्रोही स्‍त्री को छोरो! तैंले यिशैका छोरालाई आफ्नै शर्म र आफ्नो आमाको नग्‍नताको शर्मको निम्ति रोजेको छस् भन्‍ने के मलाई थाहा छैन? 31 किनकि यिशैका छोरा पृथ्वीमा रहेसम्‍म, न तँ रहेनेछस् न त तेरो राज्य नै रहनेछ । अब कसैलाई पठा र त्यसलाई मकहाँ लिएर आइज, किनकि त्यो मरिनैपर्छ ।” 32 जोनाथनले आफ्नो बुबा शाऊललाई जवाफ दिए, “के कराणले तिनलाई मारिनुपर्ने? तिनले के गरेका छन्?” 33 तब शाऊलले तिनलाई मार्न आफ्नो भालाले हाने । यसरी आफ्नो बुबाले दाऊदलाई मार्न अठोट गरेका कुरा जोनाथनलाई पक्‍का थाहा भयो । 34 जोनाथन रिसले आगो भएर टेबलबाट उठे र महिनाको दोस्रो दिन कुनै खाने कुरा खाएनन्, किनकि दाऊदको निम्‍ति तिनी शोकित भए, किनकि तिनका बुबाले उनको अनादर गरेका थिए । 35 भोलिपल्‍ट बिहान दाऊदलाई भनेको समयमा भेट गर्न जोनाथन खेतमा गए र एक जना जवान मानिस तिनीसँगै थियो । 36 तिनले आफ्‍नो जवान मानिसलाई भने, “दौडी र मैले हानेका काँडहरू खोजेर ले ।” त्‍यो जवान मानिस जाँदैगर्दा तिनले उसको पछिल्‍तिर काँड हाने। 37 जब जोनाथने हानेका काँडहरू भएको ठाउँमा जवान मानिस पुग्‍यो, तब जोनातनले त्‍यो जवान मानिसलाई बोलाए र भने, “के काँड तेरो पछिल्तिर छैनन् र?” 38 तब जोनाथनले त्‍यो जवान मानिसलाई भने, “छिटो गर्, छिटो गर्, नबस् । त्यसैले जोनाथनको जवान केटाले काँडहरू जम्‍मा गर्‍यो र आफ्नो मालिककहाँ आयो । 39 तर त्‍यो जवान मानिसलाई अरू कुनै कुरा थाहा थिएन । जोनाथन र दाऊदले मात्र सो कुरा जान्दथे । 40 जोनाथनले आफ्ना हतियारहरू आफ्नो जवान मानिस दिए र त्यसलाई भने, “जा, ति सहरमा लैजा ।” 41 त्‍यो जवान मानिस जानेबित्तिकै, दाऊद ढिस्कोको पछाडिबाट उठे, जमिनमा घोप्टो परे र शिर झुकाएर तिन पटक दण्डवत गरे । तिनीहरूले एकआपसमा चुम्बन गरे र सँगसँगै रोए, अनि दाऊद झन् धेरै रोए । 42 जोनाथनले दाऊदलाई भने, “शान्तिसँग जानुहोस्, किनभने, 'तपाईं र म, तपाईंका सन्तान र मेरा सन्तान बिचमा परमप्रभु सदाको निम्ति हुनुभएको होस्' भनी परमप्रभुको नाउँमा हामी दुवैले शपथ खाएका छौं ।” तब दाऊद उठे, र गए र जोनाथन सहरमा फर्के ।