22
यसैले दाऊद त्यहाँबाट भागे र अदुल्‍लामको गुफामा गए । जब तिनका दाजुहरू र तिनका बुबाका सबै घरानाले यो सुने, तिनीहरू तिनीकहाँ तल गए । कष्‍टमा परेका हरेक, ऋणमा परेका हरेक र असन्तुष्‍ट हरेक, ती सबै तिनीकहाँ भेला भए । दाऊद तिनीहरूका कप्‍तान भए । तिनीसँग करिब चार सय जना मानिस थिए । तब दाऊद त्यहाँबाट मोआबको मिस्पामा गए । तिनले मोआबको राजालाई भने, “कृपया, परमेश्‍वरले मेरो निम्ति के गर्नुहुन्छ भनी मैले थाहा नपाएसम्‍म मेरो बुबा र मेरो आमालाई तपाईंकहाँ रहन दिनुहोस् ।” तिनले तिनीहरूलाई मोआबको राजासँग छोडे । दाऊद किल्लामा रहँदा तिनका बुबा र आमा पुरा समय तिनीसँगै बसे । तब गाद अगमवक्ताले दाऊदलाई भने, “तपाईंको किल्लामा नबस्‍नुहोस् । छोडेर यहूदाको देशमा जानुहोस् ।” त्यसैले दाऊद त्यहाँबाट निस्के र हारेतको वनमा गए । दाऊदलाई तिनीसँग भएका मानिसहरूसहित भेटिए भन्‍ने कुरा शाऊलले सुने । अहिले शाऊल रामामा भएको झ्याउको रूखमुनि आफ्नो हातमा भाला लिएर बसिरहेका थिए र तिनका सेवकहरू तिनका वरिपरि खडा थिए । शाऊलले आफ्नो वरिपरि खडा भएका सेवकहरूलाई भने, “हे बेन्यामीनका मानिसहरू हो, सुन ! के यिशैका छोराले तिमीहरू हरेकलाई खेत र दाखबारीहरू दिनेछ? के उसले तिमीहरू सबैलाई हजारका कप्‍तानहरू र सयका कप्‍तानहरू बनाउनेछ, जसको बदलामा तिमीहरू मेरो विरुद्धमा षड्यान्त्र गर्दैछौ? मेरो छोराले यिशैका छोरासँग करार गर्दा तिमीहरू कसैले पनि मलाई जानकारी दिएनौ । मेरो निम्‍ति तिमीहरू कोही पनि दुःखी छैनौ । मेरो छोराले मेरो सेवक दाऊदलाई मेरो विरुद्धमा उक्‍साएको कुरा तिमीहरू कसैले पनि मलाई जानकारी दिएनौ । आज ऊ लुक्छ र मलाई आक्रमण गर्न मलाई हेरेर बस्‍छ ।” तब शाऊलका सेवकहरूसँगै खडा भएका एदोमी दोएगले जवाफ दियो, “यिशैका छोरा नोबमा अहीतूबका छोरा अहीमेलेककहाँ आएको मैले देखें । 10 परमप्रभुबाट उसलाई सहायता मिलोस् भनी तिनले उसको निम्ति प्रार्थना गरे, र तिनले उसलाई खानेकुरा र पलिश्‍ती गोल्यतको तरवार दिए ।” 11 अनि शाऊलले अहीतूबका छोरा पुजारी अहीमेलेक, र तिनका बुबाको घरानाका सबै, नोबमा भएका पुजारीहरूलाई बोलाउन कसैलाई पठाए । तिनीहरू सबै जना राजाकहाँ आए । 12 शाऊलले भने, “अहितूबका छोरा सुन् ।” तिनले जवाफ दिए, “म यहाँ छु मालिक ।” 13 शाऊलले तिनलाई भने, “तैंले, तैंले र यिशैका छोराले किन मेरो विरुद्धमा षडयन्त्र रचेको छस्, जसमा तैंले उसलाई रोटी र तरवार दिइस् र परमप्रभुले उसलाई सहायता गर्नुभएको होस् भनी प्रार्थना गरिस्, जसले गर्दा मेरो विरुद्धमा खडा हुनलाई ऊ गुप्‍तमा लुक्‍न सकोस्, जस्‍तो आज उसले गरेको छ ?” 14 अनि अहीमेलकले राजालाई जवाफ दिए र भने, “तपाईंका सेवकहरूमध्ये दाऊदजस्तो विश्‍वासयोग्य, जो राजाका ज्वाइँ, तपाईंको अङ्गरक्षकका कप्‍तान र तपाईंको घरानामा आदर गरिएको अरू को छ? 15 तिनलाई सहायता मिलोस् भनी मैले परमेश्‍वरमा प्रार्थना गरेको के आझ नै पहिलो पटक हो र? यो मबाट दुर होस्! राजाले आफ्नो सेवक वा मेरो बुबाको सारा घरानालाई कुनै दोष नलगाउनुहोला । किनकि तपाईंको सेवकलाई यी कुरा केही पनि थाहा छैन ।” 16 राजाले जवाफ दिए, “अहीमेलेक, तँ र तेरा बुबाको घरानाका सबै जना निश्‍चय नै मर्नेछौ ।” 17 राजाले तिनका वरिपरि खडा बएका अङ्गरक्षकलाई भने, “फर्क र परमप्रभुको पुजारीहरूलाई मार् । किनभने तिनीहरूका हात पनि दाऊदसँगै छन्, र किनभने तिनी भागेका थिए भनी तिनीहरूले थाहा पाए, तर त्‍यो कुरा मलाई प्रकट गरेनन् ।” तर राजाका सेवकहरूले परमप्रभुको पुजारीहरूलाई मार्नलाई आफ्‍ना हात हालेनन् । 18 तब राजाले दोएगलाई भने, “फर्की र पुजारीहरूलाई मार् ।” त्यसैले एदोमी दोएग फर्के र पुजारीहरूलाई आक्रमण गरे । त्यस दिन एपोद लाउने पचासी जना मानिसहरूलाई उसले मार्‍यो । 19 उसले पुजारीहरूको सहर नोबलाई पनि तरवारले आक्रमण गर्‍यो । पुरुष र स्‍त्री, बालक र दूधे बालक, गोरुहरू र गधाहरू र भेडाहरू सबैलाई उसले तरवारले मार्‍यो । 20 तर अहीतूबका छोरा अहीमेलेकका छोराहरूमध्ये अबीयाथार नाउँका एक जना उम्के र दाऊदकहाँ गए । 21 शाऊलले परमप्रभुका पुजारीहरूलाई मरेको कुरा अबीयाथारले दाऊदलाई सुनाए । 22 दाऊदले अबीयाथारलाई भने, “एदोमी दोएगलाई त्यहाँ देख्दा नै मलाई त्यसै दिन थाहा थियो, कि उसले निश्‍चय पनि शाऊललाई भन्‍नेछ । तिम्रो बुबाको परिवारको हरेकको मृत्युको निम्ति म जिम्मेवार छु । 23 मसँग बस र नडराऊ । तिम्रो ज्यान लिन खोज्‍नेले मेरो पनि ज्यान मार्न खोजेको छ । तिमी मसँग सुरक्षित हुनेछौ ।”