33
मनश्शेले राज्य गर्न सुरु गर्दा तिनी बाह्र वर्षका थिए । तिनले यरूशलेममा पचपन्‍न वर्ष राज्य गरे । तिनले परमप्रभुले इस्राएलका मानिसहरूका सामुन्‍नेबाट धपाउनुभएका जातिहरूका घिनलाग्दा चालहरूमा हिंडेर तिनले परमप्रभुको दृष्‍टिमा जे खराब थियो, त्यही गरे । तिनका पिता हिजकियाले नाश गरेका डाँडाका थानहरू तिनले फेरि बनाए, र तिनले बाल देवताहरूका निम्ति वेदीहरू खडा गरे, अशेराका खम्बाहरू बनाए, र तिनले आकाशका सबै ताराका सामु निहुरे र तिनको पुजा गरे । “यरूशलेममा नै मेरो नाउँ सदासर्वदा रहनेछ” भनेर परमप्रभुले आज्ञा दिनुभए तापनि मनश्शेले परमप्रभुको मन्दिरमा वेदीहरू बनाए । तिनले आकाशका सारा ताराहरूका निम्ति परमप्रभुको मन्दिरका दुवै चोकमा वेदीहरू बनाए । तिनले आफ्ना छोराहरूलाई बेन-हिन्‍नोमको बेसीमा आगोमा हिंड्न लगाए । तिनले टुनामुना गरे, जोखना हेरे, मन्त्रतन्त्र गरे र मृतहरूसँग कुरा गर्नेहरू र आत्माहरूसँग कुरा गर्नेहरूसित सल्लाह लिए । मनश्शेले परमप्रभुको दृष्‍टिमा धेरै दुष्‍ट काम गरे र तिनले उहाँलाई रिस उठाए । तिनले बनाएको खोपेका मूर्तिलाई तिनले परमेश्‍वरको मन्दिरभित्र राखे । यस मन्दिरको विषयमा परमप्रभुले दाऊद र तिनका छोरा सोलोमनसित बोल्‍नुभएको थियो । गहाँले यसो भन्‍नुभएको थियोः “मैले इस्राएलका सबै कुलमध्ये चुनेको यो मन्दिर र यरूशलेममा म सदासर्वदाको निम्ति मेरो नाउँ राख्नेछु । इस्राएलका मानिसहरूले मेरा सबै आज्ञा मानेर मेरो दास मोशामार्फत् मैले तिनीहरूलाई दिएका सबै व्‍यवस्‍था, विधिहरू र आदेशहरू होसियारसाथ पालन गरे भने, मैले तिनीहरूका पुर्खाहरूलाई दिएको देशबाट तिनीहरूलाई म फेरि पर हटाउनेछैनँ ।” परमप्रभुले इस्राएलको सामुन्‍ने नाश गर्नुभएका जातिहरूले भन्दा पनि धेरै दुष्‍ट काम गर्न मनश्शेले यहूदा र यरूशलेमका बासिन्दाहरूलाई अगुवाइ गरे । 10 मनश्शे र तिनका मानिसहरूसित परमप्रभु बोल्नुभयो, तर तिनीहरूले ध्‍यान नै दिएनन् । 11 यसैले परमप्रभुले तिनीहरूका विरुद्धमा अश्शूरका राजाका फौजका कमाण्‍डरहरू ल्याउनुभयो, जसले मनश्शेलाई साङ्लाले बाँधे, हतकडीहरू लगाए र तिनलाई बेबिलोनमा लिएर गए । 12 जब मनश्शे कष्‍टमा परे, तब तिनले परमप्रभु आफ्ना परमेश्‍वरलाई खोजे, र आफ्ना पुर्खाहरूका परमेश्‍वरकहाँ अत्यन्तै विनम्र भएर झुके । 13 तिनले उहाँसँग प्रार्थना गरे । अनि तिनले परमेश्‍वरसँग बिन्ती चढाए र परमेश्‍वरले तिनलाई यरूशलेममा ल्‍याएर फेरि राजा बनाउनुभयो । तब मनश्शेले परमप्रभु नै परमेश्‍वर हुनुहुन्‍छ भनी जाने । 14 त्यसपछि मनश्शेले बेसीको गीहोनको पश्‍चिमपट्टिदेखि माछा ढोकासम्म दाऊदको सहरका बाहिरको पर्खाल बनाए । तिनले ओफेल डाँडा घेरे र त्यो पर्खाल धेरै अल्गो बनाए । तिनले यहूदाका किल्ला भएका सबै सहरमा साहसी फौजका कमाण्‍डरहरू पनि खटाइदिए । 15 तिनले विदेशी देवताहरू र खोपेर बनाएका मूर्ति परमप्रभुको मन्दिरबाट हटाए, र परमप्रभुको मन्दिरको डाँडा र यरूशलेममा तिनी आफैले बनाएका सबै वेदी पनि हटाइदिए र तिनले ती सबैलाई सहरबाट बाहिर फ्याँकिदिए । 16 तिनले परमप्रभुको वेदीको पुननिर्माण गरे र त्यसमा मेलबलि र धन्यवाद बलि चढाए । तिनले यहूदालाई परमप्रभु इस्राएलका परमेश्‍वरको सेवा गर्नू भनी हुकुम दिए । 17 तापनि मानिसहरूले डाँडाका थानहरूमा बलिदानहरू चढाउँदैरहे, तर परमप्रभु तिनीहरूका परमेश्‍वरको निम्ति मात्रै चढाए । 18 मनश्शेको राजकालका अरू विषयहरू, आफ्‍नो परमेश्‍वरमा तिनले चढाएको प्रार्थना र परमप्रभु इस्राएलका परमेश्‍वरको नाउँमा दर्शीहरूले तिनलाई बोलेका वचनहरू, हेर, ती इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन् । 19 त्‍यो वर्णनमा, तिनको प्रार्थना र परमेश्‍वर कसरी त्‍यसबाट चल्‍नुभयो भन्‍ने कुराको इतिहास छ । तिनले आफैलाई विनम्र तुल्याउनु अगि तिनले गरेका सबै पाप र अविश्‍वासका काम, तिनले बनाएका डाँडाका थानहरू र अशेराका खम्बा र मूर्तिहरू— पनि यी सबै दर्शीहरूका इतिहासको पुस्तकमा लेखिएका छन् । 20 यसरी मनश्शे आफ्ना पुर्खाहरूसित सुते, र तिनीहरूले तिनलाई तिनको आफ्नै महलमा गाडे । तिनको ठाउँमा तिनका छोरा अमोन राजा भए । 21 अमोनले राज्य गर्न सुरु गर्दा तिनी बाइस वर्षका थिए । तिनले यरूशलेममा दुई वर्ष राज्य गरे । 22 तिनका पिता मनश्शेले गरेझैं तिनले परमप्रभुको दृष्‍टिमा जे खराब थियो, त्यही गरे । तिनले आफ्ना पिता मनश्शेले बनाएका सबै मूर्तिमा बलिदान चढाए र तिनको पुजा गरे । 23 आफ्ना पिता मनश्शेले गरेझैं तिनले परमप्रभुको सामुन्‍ने आफैलाई विनम्र पारेनन् । यसरी तिनी झन् बढी अनाज्ञाकारी भए । 24 तिनका सेवकहरूले तिनको विरुद्धमा षड्‌यन्‍त्र रचे, र तिनको आफ्नै महलमा तिनलाई मारे । 25 तर देशका मानिसहरूले राजा अमोनको विरुद्धमा षड्‌यन्‍त्र गर्ने सबैलाई मारे, र तिनको छोरा योशियाहलाई तिनको ठाउँमा तिनीहरूले राजा बनाए ।