4
अगमवक्ताका छोराहरूमध्ये एउटाकी पत्‍नी एलीशाकहाँ रुँदै आएर यसो भनिन्, “मेरा पति तपाईंका दास मर्नुभयो, र तपाईंका दास परमप्रभुदेखि डराउनुहुन्थ्यो भनी तपाईंलाई थाहा छ । अब मेरा दुई छोरालाई कमारा बनाउन लैजानलाई ऋणदाता आएका छन् ।” त्यसैले एलीशाले तिनलाई भने, “तिम्रो निम्ति म के गरौं ? घरमा तिमीसँग के छ मलाई भन ।” तिनले भनिन्, “तपाईंका दासीको घरमा एउटा भाँडोमा तेलबाहेक केही छैन ।” तब एलीशाले भने, “तिम्रा छिमेकीहरूबाट रित्ता भाँडाहरू पैँचो माग्‍न जाऊ । सकेजति धेरै पैँचो माग । त्यसपछि तिमी भित्र जाऊ र तिम्रा छोराहरूलाई पनि भित्र राखेर ढोका बन्द गर, अनि ती सबै भाँडामा तेल खन्याऊ । भरिएका भाँडाहरू एकापट्टि राख ।” त्यसैले तिनी एलीशाबाट विदा भइन्, र तिनले आफ्ना छोराहरूलाई पनि भित्र राखेर ढोका बन्द गरिन् । तिनीहरूले तिनीकहाँ भाँडाहरू ल्याए, र तिनले ती तेलले भरिन् । जब ती भाँडाहरू भरिए तब तिनले आफ्नो छोरोलाई भनिन्, “ अर्को भाँडा मकहाँ ल्याऊ ।” तर उसले तिनलाई भन्‍यो, “अब एउटै भाँडा पनि छैन।” त्यसपछि तेल आउन पनि छाड्यो । तब तिनी आइन् र परमेश्‍वरका मानिसलाई त्यो कुरो बताइन् । तिनले भने, “गएर तेल बेच । तिम्रो ऋण तिर, र आफ्ना छोराहरूसित आरामसित बस ।” एक दिन एलीशा शूनेममा गए जहाँ एक जना प्रतिष्‍ठित स्‍त्री बस्थिन् । उनले तिनलाई तिनीसँगै खाना खान अनुरोध गरिन् । त्यसैले जब एलीशा त्यो बाटो भएर जान्थे, तब तिनी खानको लागि त्यहाँ रोकिन्थे । ती स्‍त्रीले आफ्ना पतिलाई भनिन्, “हेर्नुहोस्, अब मलाई थाहा भयो, कि यिनी परमेश्‍वरका पवित्र मानिस हुन् जो सधैँ यो बाटो हिंड्‍छन् । 10 कौसीमा एलीशाको लागि एउटा सानो कोठा बनाऔँ, र त्यसमा एउटा खाट, टेबल, आसन र बत्ती राखौँ । तब तिनी हामीकहाँ आउँदा तिनी त्यहीँ बस्‍नेछन् ।” 11 यसरी फेरि एक दिन आयो जतिबेला एलीशा त्‍यहाँ रोकिए, तिनी त्‍यो कोठामा बसे, र त्यहीँ विश्राम गरे । 12 एलीशाले आफ्नो सेवक गेहजीलाई भने, “ती शूनम्मीलाई बोला ।” त्यसले तिनलाई बोलाएपछि तिनी एलीशाको सामु खडा भइन् । 13 एलीशाले उसलाई भने, “तिनलाई भन्, 'हाम्रो वास्ता गर्न तिमीले यो सबै कष्‍ट झेलेकी छ्यौ । तिम्रो लागि के गर्न सकिन्छ ? के हामी तिम्रो लागि राजा वा सेनापतिसित कुरा गरौं' ?” तिनले जवाफ दिइन्, “मेरा आफ्नै जातिको बिचमा म बस्‍दैछु ।” 14 त्यसैले एलीशाले भने, “त्यसो हो भने, तिनको लागि हामी के गर्न सक्छौँ त ?” गेहजीले जवाफ दियो, “वास्तवमा तिनीसँग छोरो छैन, र तिनका पति बुढो भएका छन् ।” 15 त्यसैले एलीशाले भने, “तिनलाई बोला ।” जब त्यसले तिनलाई बोलायो, तिनी ढोकामा खडा भइन् । 16 एलीशाले भने, “एक वर्षपछि यही समयमा तिम्रो काखमा एउटा छोरो हुनेछ ।” तिनले जवाफ दिइन्, “होइन, हे मेरा मालिक र परमेश्‍वरका मानिस, आफ्नी दासीसित झुट नबोल्नुहोस् ।” 17 तर एलीशाले त्‍यो स्‍त्रीलाई भनेझैँ तिनी गर्भवती भइन् र अर्को वर्ष ठिक त्यही समयमा एउटा छोरो जन्माइन् । 18 बालक हुर्केपछि एक दिन त्यो आफ्नो बुबाकहाँ गयो जो कटनी गर्नेहरूसँगै थिए । 19 त्यसले आफ्नो बुबालाई भन्यो, “मेरो टाउको दुख्यो । मेरो टाउको दुख्‍यो । उसका बुबाले आफ्नो सेवकलाई भने, “त्यसलाई त्यसकी आमाकहाँ लिएर जाऊ ।” 20 जब नोकरले केटोलाई उठाएर त्यसकी आमाकहाँ ल्यायो तब केटो मध्यान्हसम्म आमाको काखमा बस्यो, र त्यो मर्‍यो । 21 त्यसैले ती स्‍त्री उठिन्, र केटोलाई परमेश्‍वरका मानिसको ओछ्यानमा सुताइन्, ढोका बन्द गरेर बाहिर निस्किन् । 22 तिनले आफ्ना पतिलाई बोलाइन् र भनिन्, “कृपया, मलाई एक जना नोकर र एउटा गधा पठाउनुहोस् ताकि म छिटो परमेश्‍वरका मानिसकहाँ जान र फर्केर आउन सकूँ ।” 23 तिनका पतिले भने, “किन तिमी आजै उहाँकहाँ जान चाहन्छ्यौ ? आज न औँसी हो, न त शबाथ हो ।” उनले जवाफ दिइन्, “यो ठिक हुनेछ ।” 24 त्यसपछि उनले गधामा काठी कसिन्, र आफ्नो सेवकलाई भनिन्, “छिटो कुदा । मैले नभनेसम्म दौडन ढिला नगर ।” 25 त्यसैले तिनी गइन् र कर्मेल डाँडामा परमेश्‍वरका मानिस भएको ठाउँमा आइन् । जब परमेश्‍वरका मानिसले टाढैबाट तिनलाई देखे तिनले आफ्नो सेवक गेहजीलाई भने, “हेर्, शूनम्मी स्‍त्री आउँदैछिन् । 26 तिनलाई भेट्न दौडेर जा र तिनलाई सोध, 'तिमी, तिम्रा पति र छोरोलाई सबै ठिकै छ' ?” तिनले भनिन्, “ठिकै छ ।” 27 जब तिनी डाँडामा परमेश्‍वरका मानिस भएको ठाउँमा आइपुगिन् तब तिनले एलीशाको पाउ समातिन् । गेहजी तिनलाई हटाउनलाई अगाडि बढ्यो, तर परमेश्‍वरका मानिसले भने, “तिनलाई नछोऊ किनकि तिनी अत्यन्तै दुखी छिन्, र परमप्रभुले मबाट समस्या लुकाउनुभएको छ, र मलाई केही भन्‍नुभएको छैन ।” 28 तब तिनले भनिन्, “हे मेरा मालिक, मैले, तपाईंसँग छोरो मागेकी थिएँ र ? मैले 'मलाई नछकाउनुहोस्' भनेकी थिइनँ र' ?” 29 तब एलीशाले गेहजीलाई भने, “यात्राको लागि लुगा लगा, र तेरो हातमा मेरो लट्ठी समात् । तिनको घरमा जा । कुनै मानिसलाई भेटिस् भने अभिवादन नगर्, र कसैले तँलाई अभिवादन गर्‍यो भने जवाफ नदे । बालकको अनुहारमा मेरो लट्ठी राखिदे ।” 30 तर बालककी आमाले भनिन्, “परमप्रभु र तपाईंको नाउँमा शपथ खाएर म भन्छु, कि म तपाईंलाई छाड्दिनँ ।” त्यसैले एलीशा उठे, र तिनको पछि लागे । 31 गेहजी तिनीहरूभन्दा अगिअगि गयो र बाललको अनुहारमा लट्ठी पसार्‍यो, तर बालकले बोलेन र सुनेन । त्यसैले गेहजी एलीशालाई भेट्न फर्क्यो र तिनलाई यसो भन्यो, “बालक ब्युँझेको छैन ।” 32 जब एलीशा घरमा आइपुगे, तब बालक मरिसकेको थियो, र ओछ्यानमा शान्‍त थियो । 33 त्यसैले एलीशा भित्र गएर बालक र आफूलाई राखेर ढोका बन्द गरे, र परमप्रभुलाई प्रार्थना चढाए । 34 तिनी ओछ्यानमाथि चढे र बालकमाथि सुते । तिनले आफ्नो मुख उसको मुखमा, आफ्ना आँखा उसको आँखामा, र आफ्ना हात उसको हातमा राखे । तिनले आफैलाई बालकमाथि लमतन्‍न पारे, र बालकको शरीर न्यानो भयो । 35 तब एलीशा उठे, र कोठाको वरिपरि घुमे अनि तिनी फेरि ओछ्यानमा चढे र बालकमाथि लमतन्‍न परे । बालकले सात पटक छिउँ काड्‍यो र आफ्ना आँखा खोल्यो । 36 त्यसैले एलीशाले गेहजीलाई बोलाए र भने, “शूनम्मीलाई बोला ।” त्यसले उनलाई बोलायो, र जब तिनी कोठाभित्र आइन्, तब एलीशाले भने, “तिम्रो छोरोलाई बोक ।” 37 तब एलीशाको पाउमा तिनी भुइँसम्‍मै घोप्टो परिन्, अनि आफ्नो छोरोलाई उठाइन् र बाहिर गइन् । 38 तब एलीशा फेरि गिलगालमा आए । देशमा अनिकाल परेको थियो अनि अगमवक्ताहरूका छोराहरू तिनका सामु बसिरहेका थिए । तिनले आफ्नो सेवकलाई भने, “आगोमा ठुलो भाँडो बसाल र यी अगमवक्ताहरूका छोराहरूका निम्ति जाउलो पका ।” 39 तिनीहरूमध्‍ये एक जना तरकारी खोज्न बारीमा गयो । त्यसले जङ्गली दाख भेट्टायो, र त्यसले जङ्गली लौका आफ्नो पोल्टाभरि जम्मा गर्‍यो । तिनीहरूले ती काटे र जाउलोमा हाले, तर ती कस्‍ता किसिमका थिए भनी तिनीहरूलाई थाहा थिएन । 40 मानिसहरूले खानलाई तिनीहरूले जाउलो खन्याए । पछि तिनीहरूले खाँदै गर्दा तिनीहरू चिच्‍च्याए र भने, “हे परमेश्‍वरका मानिस, भाँडामा त मृत्यु पो छ ।” त्यसैले तिनीहरूले त्यो फेरि खान सकेनन् । 41 तर एलीशाले भने, “केही पिठो ल्याऊ ।” तिनले त्यसलाई भाँडोभित्र हाले र भने, “मानिसहरूलाई यो खान देऊ ताकि तिनीहरूले त्‍यो खानसकून् ।” तब त्‍यस भाँडोमा त्यस्तो हानिकारक कुनै कुरो बाँकी रहेन । 42 बाल-शलीशाको कोही एक जना मानिस परमेश्‍वरकका मानिसकहाँ आयो, र त्यसले अगौटे फलबाट तयार गरिएको जौँका बिसवटा रोटी र केही अन्‍नका ताजा बाला आफ्नो बोरामा लिएर आयो । त्यसले भन्यो, “यो मानिसहरूलाई दिनुहोस् ताकि तिनीहरूले खान सकून् ।” 43 तिनको सेवकले भन्यो, “एक सय जना मानिसलाई मैले यसबाट कसरी भाग पुर्‍याउन सक्छु र ?” तर एलीशाले भने, “यो मानिसहरूलाई ताकि तिनीहरूलेखान सकून्, किनकि परमप्रभु भन्‍नुहुन्छ, 'तिनीहरूले खानेछन्, र केही बच्‍नेछ' ।” 44 त्यसैले तिनको सेवकले त्यो तिनीहरूका सामु राखिदियो र तिनीहरूले खाए अनि परमप्रभुको वचनले प्रतिज्ञा गरेझैँ केही बच्‍यो ।