7
1 एलीशाले भने, “परमप्रभुको वचन सुन्नुहोस् । परमप्रभु यसो भन्नुहुन्छ, 'भोलि यतिबेला सामरियाको मूल ढोकामा एक ग्राम चाँदीमा डेढ माना पिठो र एक ग्राम चाँदीमा तिन माना जौ बिक्री हुनेछ' ।” 2 तब जुन अधिकारीको हातको भरमा राजा हिंड्थे तिनले परमेश्वरका मानिसलाई जवाफ दिए र भने, “हेर्नुहोस्, परमेश्वरले स्वर्गमा झ्यालहरू बनाउनुभयो भने पनि यसो हुन सक्ला र ?” एलीशाले जवाफ दिए, “तिम्रा आफ्नै आँखाले यसो भएको तिमी देख्नेछौ, तर तिमीले यो खान पाउनेछैनौ ।” 3 मूल ढोकाको ठिक बाहिर कुष्ठरोग लागेका चार जना मानिस थिए । तिनीहरूले एक-अर्कालाई भने, “हामी नमरेसम्म हामी यहाँ किन बसिरहने ? 4 हामी सहरमा जाऔं भनौं भने, सहरमा अनिकाल परेको छ र हामी त्यहाँ मर्नेछौं । हामी यहीँ बसौँ भने पनि हामी मर्नेछौँ । अब हामी अरामीहरूका सेना भएको ठाउँमा जाऔँ । तिनीहरूले हामीलाई जिउँदै राखे भने हामी जिउनेछौँ, र तिनीहरूले हामीलाई मारे भने हामी मर्नेछौँ ।” 5 त्यसैले अरामी छाउनीभित्र जानलाई तिनीहरू साँझपख उठे । जब तिनीहरू छाउनीको बाहिरी भागमा आइपुगे, त्यहाँ कोही पनि थिएन । 6 किनकि परमप्रभुले अरामी सेनालाई रथहरू, घोडाहरूको होहल्लाजस्तै— अर्को ठुलो सेनाको होहल्ला सुन्ने पार्नुभएको थियो, अनि, अनि तिनीहरूले एक-अर्कालाई भने, “इस्राएलका राजाले हित्तीहरू र मिश्रीहरूका राजाहरूलाई भाडामा लिएर हाम्रो विरुद्धमा आएका छन् ।” 7 त्यसैले सिपाहीहरू उठे र साँझमा नै भागे । तिनीहरूले आफ्ना पालहरू, घोडाहरू, गधाहरू र छाउनीलाई जस्ताको तस्तै छाडे र आफ्नो ज्यान बचाउन भागे । 8 जब कुष्टरोग लागेका मानिसहरू छाउनीको बाहिरी भागमा आइपुगे, तब तिनीहरू एउटा पालभित्र पसे र खानपान गरे अनि चाँदी, सुन र लुगाहरू उठाए र गएर ती लुकाए । तिनीहरू फर्केर आए र अर्को पालभित्र पसे र त्यहाँबाट पनि लुटका माल लगे र लुकाए । 9 तब तिनीहरूले एक-अर्कालाई भने, “हामीले ठिक गरिरहेका छैनौँ । आजको दिन शुभ खबरको दिन हो, तर हामी यस बारेमा मौन बसिरहेका छौँ । बिहन नभएसम्म हामीले पर्ख्यौं भने हामीमाथि दण्ड आइपर्नेछ । तब हामी अब जाऔं र राजाको घरानालाई भनौं ।” 10 त्यसैले तिनीहरू गए र सहरका पालेहरूलाई बोलाए । तिनीहरूले उनीहरूलाई यसो भने, “हामी अरामीहरूका छाउनीमा गयौँ तर त्यहाँ कोही थिएन, कुनै मानिसको आवाज त्यहाँ सुनिएन, तर त्यहाँ घोडाहरू र गधाहरू बाँधिएका थिए अनि पालहरू जस्ताको तस्तै थिए ।” 11 तब पालेहरूले त्यो खबर ठुलो स्वरले फैलाए, अनि त्यसपछि भित्र राजाको घरानालाई पनि त्यो कुरा बताइयो । 12 तब रातमा राजा उठे र आफ्ना सेवकहरूलाई भने, “अब अरामीहरूले हामीलाई के गरेका छन् भनी म तिमीहरूलाई भन्नेछु । हामी भोकाएका छौँ भनी तिनीहरूलाई थाहा छ । त्यसैले तिनीहरू छाउनीबाहिर खेतबारीमा लुक्न गएका छन् । तिनीहरू भन्दैछन्, 'जब तिनीहरू सहरबाहिर आउँछन्, तब हामी तिनीहरूलाई जिउँदै समात्ने छौँ, र सहरभित्र पस्नेछौँ’ ।” 13 राजाका एक जना सेवकले जवाफ दिए र भने, “केही मानिसहरूले सहरमा छाडिएका पाँचवटा घोडा लिएर जाऊन् । तिनीहरू इस्राएलका बाँकी जनसङ्ख्याजस्तै छन् अर्थात् अधिकांश मरिसकेका छन् । हामी तिनीहरूलाई पठाऊँ र हेरौँ।” 14 त्यसैले तिनीहरूले घोडाहरूसँगै दुईवटा रथ लिए र राजाले तिनीहरूलाई यसो भनेर अरामीहरूको सेनाको पछि पठाए, “जाओ र हेर ।” 15 तिनीहरू यर्दन नदीसम्मै तिनीहरूका पछि गए र अरामीहरूले हतारमा फालेका लुगा र सामनहरूले सबै बाटो भरिएका थिए । त्यसैले सन्देशवाहकहरू फर्के र राजालाई बताइदिए । 16 मानिसहरू बाहिर निस्के र अरामीहरूको छाउनी लुटे । त्यसैले जस्तो परमप्रभुले भन्नुभएको थियो त्यस्तै भयो, एक ग्राम चाँदीमा डेढ माना पिठो र एक ग्राम चाँदीमा तिन माना जौ बेचियो । 17 जसको हातमा भर परेर राजा हिंड्थे ती अधिकारीलाई तिनले मूल ढोका हेर्ने जिम्मा दिएका थिए र मानिसहरूले तिनलाई मूल ढोकामा कुल्चे । राजाले परमेश्वरका मानिसलाई तिनको घरमा भेट्न जाँदा तिनले अगमवाणी गरेजस्तै तिनको मृत्यु भयो । 18 त्यसैले त्यस्तै भयो जास्तो परमेश्वरका मानिसले राजालाई यसो भनेका थिए, “यति बेलातिर सामरियाको मूल ढोकामा एक ग्राम चाँदीमा तिन माना जौ र एक ग्राम चाँदीमा डेढ माना पिठो पाइनेछ ।” 19 ती अधिकारीले परमेश्वरका मानिसलाई जवाफ दिएका थिए, “हेर्नुहोस्, परमेश्वरले स्वर्गमा झ्यालहरू बनाउनुभयो भने पनि यसो हुन सक्ला र ?” एलीशाले जवाफ दिएका थिए, “तिम्रा आफ्नै आँखाले यसो भएको तिमी देख्नेछौ, तर तिमीले यो खान पाउनेछैनौ ।” 20 तिनलाई ठिक त्यस्तै हुन आयो, किनकि मानिसहरूले तिनलाई मूल ढोकामा कुल्चे र तिनी मरे ।