5
अब एक जना हननिया नाउँ गरेका मानिसले आफ्नी पत्‍नी सफिरासँग मिलेर एक टुक्रा जमिन बेचे । र उनले त्यो पैसाको केही अंश आफूसँगै राखे (यो कुरा उनकी पत्‍नीलाई पनि थाहा थियो) र यसको बाँकी अंश ल्याएर प्रेरितहरूको पाउमा राखिदिए । तर पत्रुसले भने, “हननिया, पवित्र आत्मालाई झुट बोल्न र त्यस जमिनको मूल्यको केही अंश राख्‍नलाई तिम्रो हृदयलाई शैतानले किन भर्‍यो ? यसलाई बिक्री नगर्दा पनि के यो तिम्रो आफ्नो थिएन र ? अनि यसलाई बेचिसकेपछि पनि यो तिम्रो आफ्नै नियन्‍त्रणमा नै थिएन र ? तिमीले तिम्रो हृदयमा यस्तो कुरा कसरी सोच्यौ ? तिमीले मानिसहरूलाई होइन तर परमेश्‍वरलाई झुट बोलेका छौ । यी कुराहरू सुनेर हननिया भुइँमा लडे र उनको मृत्यु भयो र यो कुरा सुन्‍नेहरू सबैमा ठुलो डर छायो । जवान मानिसहरू अगाडि आए र उनलाई कपडाले बेह्रे र तिनीहरूले उनलाई बोकेर बाहिर लगे र गाडे । त्यसको झण्डै तिन घण्टापछि उनकी पत्‍नी त्यहाँ के भएको थियो भन्‍ने थाहै नपाई भित्र आइन् । पत्रुसले उनलाई भने, “तिमीहरूले सो जमिनलाई त्यत्ति नै मूल्यमा बेचेका हौ या होइनौ, मलाई बताऊ ।” उनले भनिन्, “हो, त्यत्तिमा नै हो ।” तब पत्रुसले उनलाई भने, “तिमीहरू परमप्रभुको आत्मालाई जाँच गर्न कसरी सँगै सहमत भयौ ? हेर, तिम्रो पतिलाई गाड्नेहरूका पाउ ढोकामा नै छन् र तिनीहरूले तिमीलाई पनि बोकेर बाहिर लानेछन् । 10 तिनी तुरुन्तै उनको पाउमा लडिन् र तिनको मृत्यु भयो र ती जवान मानिसहरू भित्र आए र तिनलाई मृत भेट्टाए; तिनीहरूले तिनलाई बोकेर बाहिर लगे र तिनलाई तिनको पतिको नजिकै गाडिदिए । 11 पुरै मण्डलीमा र यी कुराहरू सुन्‍ने सबैमा ठुलो डर छायो । 12 प्रेरितहरूको हातद्वारा मानिसहरूका बिचमा धेरै चिह्न र आश्‍चर्यकर्महरू भइरहेका थिए । तिनीहरू सबै सोलोमनको दलानमा सँगै थिए । 13 तिनीहरूलाई मानिसहरूद्वारा उच्‍च सम्मान मिलेको भए तापनि कसैले पनि तिनीहरूसँगै सामेल हुन साहस गरेनन् । 14 अझ धेरै विश्‍वासीहरू अर्थात् असंख्य स्‍त्रीहरू र पुरुषहरू प्रभुमा थपिँदै थिए । 15 पत्रुस त्यहाँबाट भएर आउँदा तिनको छाया तिनीहरूमध्ये कोहीमाथि परोस् भनेर तिनीहरूले बिरामीहरूलाई गल्लीहरूमा बोकेर ल्याए र तिनीहरूलाई खाट र पलङहरूमा राखे । 16 त्यहाँ यरूशलेम वरिपरिका सहरहरूबाट पनि बिरामी र अशुद्ध आत्माले सताइएका मानिसहरू ठुलो संख्यामा आए र तिनीहरू सबैले निको भए । 17 तर प्रधान पूजाहारी र उनीसँग रहनेहरू सबै जना (जुन सदूकीहरूको सम्प्रदाय हो) उठे र तिनीहरू ईर्ष्याले भरिए । 18 तिनीहरूले प्रेरितहरूमाथि हात हाले र तिनीहरूलाई सार्वजनिक झ्यालखानामा थुनिदिए । 19 तर रातको समयमा परमप्रभुका एउटा दूतले झ्यालखानाका ढोकाहरू खोलिदिए र तिनीहरूलाई बाहिर लगे र भने, 20 “जाओ र त्यस मन्दिरमा खडा होओ र यस जीवनका सबै वचनहरू मानिसहरूलाई बताओ ।” 21 जब तिनीहरूले यो कुरा सुने तब तिनीहरू सबेरै मन्दिरभित्र प्रवेश गरे र शिक्षा दिए । तर प्रधान पूजाहारी र तिनीहरूसँग भएकाहरू आए र परिषद्लाई इस्राएलका मानिसहरूका एल्डरहरूसँगै बोलाए र प्रेरितहरूलाई ल्याउन लगाउनलाई झ्यालखानामा पठाए । 22 तर ती गएका अधिकारीहरूले तिनीहरूलाई झ्यालखानामा भेट्टाएनन् र तिनीहरू फर्केर आए र प्रतिवेदन दिए । 23 “हामीले झ्यालखानालाई राम्ररी बन्द गरिएको पायौँ र पहरेदारहरू ढोकामा उभिरहेका थिए, तर त्यसलाई खोल्दा हामीले भित्र कोही पनि भेट्टाएनौँ ।” 24 जब मन्दिरका कप्‍तान र मुख्य पूजाहारीहरूले यी कुराहरू सुने, के हुने होला भनी तिनीहरू अन्योलमा परे । 25 तब कोही तिनीहरूकहाँ आए र तिनीहरूलाई भने, “तपाईंहरूले झ्यालखानामा राख्‍नुभएका ती मानिसहरू, मन्दिरमा खडा भएर मानिसहरूलाई सिकाइरहेका छन् ।” 26 त्यसैले, कप्‍तान हाकिमहरूसँगै गए र तिनीहरूलाई हिंसाविना नै फर्काएर ल्याए । किनकि तिनीहरू मानिसहरूले ढुङ्गाले हान्लान् भनी डराए । 27 तिनीहरूले उनीहरूलाई ल्याएपछि, तिनीहरूले उनीहरूलाई सभाको अगि राखे । प्रधान पूजाहारीले उनीहरूलाई यसो भनेर सोधपुछ गरे, 28 “हामीले तिमीहरूलाई यस नाउँमा नसिकाउनलाई कडा आज्ञा दियौँ तर पनि तिमीहरूले आफ्नो शिक्षाले यरूशलेम भरिसकेका छौ र त्यस मानिसको रगत हामीमाथि ल्याउने इच्छा गर्छौ ।” 29 तर पत्रुस र प्रेरितहरूले जवाफ दिए, “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा पालन गर्नु पर्छ । 30 हाम्रा पितापुर्खाका परमेश्‍वरले येशूलाई मृत्युबाट उठाउनु भयो, जसलाई तपाईंहरूले रुखमा झुण्ड्याएर मार्नुभयो । 31 परमेश्‍वरले इस्राएललाई पश्‍चात्ताप गर्न र पापको क्षमा प्रदान गर्न उहाँलाई राजकुमार र मुक्तिदाता हुनलाई आफ्नो दाहिने हाततर्फ उचाल्नु भयो । 32 हामीहरू यी कुराहरूका साक्षी छौँ र पवित्र आत्मा पनि यसको साक्षी हुनुहुन्छ जसलाई परमेश्‍वरले उहाँको आज्ञा पालन गर्नेहरूलाई दिनुभएको छ ।” 33 जब परिषद्का सदस्यहरूले यो सुने तब तिनीहरू क्रुद्ध भए र प्रेरितहरूलाई मार्ने चाहना गरे । 34 तर गमलिएल नाउँ गरेका फरिसी र व्यवस्थाका एक जना शिक्षक थिए जो सबै मानिसहरूद्वारा सम्मानित थिए । उनी उभिए र केही समयको लागि प्रेरितहरूलाई बाहिर रहनलाई आज्ञा गरे । 35 तब उनले तिनीहरूलाई भने, “इस्राएलका मानिसहरू हो, तपाईंहरूले यी मानिसहरूलाई जे गर्नलाई प्रस्ताव गर्नुभएको छ, त्यसमा राम्ररी ध्यान दिनुहोस् । 36 केही समयअगि, थूदास केही हुँ भन्‍ने दाबी गर्दै खडा भयो, र झण्डै चार सय जना मानिस त्योसँगै लागे । त्यो मारियो र त्यसका आज्ञा पालन गर्नेहरू सबै तितरवितर भए र त्यो सब छरपस्ट भयो । 37 त्यो मानिसपछि जनगणनाको समयमा गालीलको यहूदा खडा भयो र कतिपय मानिसहरूलाई आफ्नो पछि खिँच्यो । त्यो पनि नष्‍ट भयो र उसका आज्ञा पालन गर्दै आइरहेकाहरू सबै छरपस्ट भए । 38 अब म तपाईंहरूलाई भन्छु कि यी मानिसहरूबाट टाढै रहनुहोस् र यिनीहरूलाई छोडिदिनुहोस् किनकि यदि यो योजना वा काम मानिसहरूको हो भने, यो पतन हुनेछ । 39 तर यदि यो परमेश्‍वरको हो भने, तपाईंहरूले तिनीहरूलाई पतन गराउन सक्‍नुहुन्‍न र तपाईंहरूले आफैँलाई परमेश्‍वरको विरुद्धमा लडिरहेको पाउनु हुनेछ ।” यसरी तिनीहरूले तिनको कुरा माने । 40 तब तिनीहरूले प्रेरितहरूलाई भित्र बोलाए र उनीहरूलाई कुटे र येशूको नाउँमा नबोल्नलाई आज्ञा गरे र तिनीहरूलाई जान दिए । 41 तिनीहरू त्यस नाउँको निम्ति अपमान भोग्‍न योग्यका गनिएकामा तिनीहरूले अनान्दित हुँदै त्यो परिषद् छाडे । 42 त्यसपछि हरेक दिन मन्दिर र घर-घरमा, तिनीहरूले निरन्तर येशूलाई नै ख्रीष्‍टको रूपमा सिकाइरहेका र प्रचार गरिरहेका थिए ।