2
1 मैले मेरो मनमा भनेँ, “अब आइज । म तँलाई खुसीले जाँच गर्ने छु । त्यसैले सुख-विलास गर ।” तर यो पनि अस्थायी मन्द बतासमात्र रहेछ । 2 मैले हाँसोको विषयमा भनेँ, “यो सन्काहा हो,” र सुख-विलासको विषयमा भनेँ, “यसको के फाइदा छ ?” 3 दाखमद्यले मेरा इच्छाहरूलाई कसरी तृप्त पार्ने भनी मैले मेरो मनमा अन्वेषण गरेँ । मैले अझै मूर्खतालाई पक्रिरहेको भए तापनि मैले मेरो मनलाई बुद्धिद्वारा डोर्याइन दिएँ । मानिसहरूको जीवन अवधिमा स्वर्गमूनि तिनीहरूको लागि के फाइदा छ भनेर म पत्ता लगाउन चाहन्थेँ । 4 मैले ठुला-ठुला कुराहरू सम्पन्न गरेँ । मैले आफ्नो लागि घरहरू बनाएँ र दाखबारीहरू लगाएँ । 5 मैले आफ्नो लागि बगैँचाहरू उद्यानहरू बनाएँ । मैले तिनमा हर किसिमका फलफुल लगाएँ । 6 जङ्गलमा सिँचाइ गर्न मैले पानीका तलाउहरू बनाएँ अनि रुखहरू लहलह बढे । 7 मैले कमारा-कमारीहरू किनेँ । मेरो दरबारमा जन्मेका कमराहरू पनि थिए । यरूशलेममा मभन्दा अगि शासन गरेका कुनै पनि राजाको भन्दा मेरो भेडा-बाख्राका बगाल र गाईवस्तुका बथान बढी थिए । 8 मैले आफ्नो लागि चाँदी र सुन, राजाहरू र प्रान्तहरूका खजानाहरू थुपारेँ । मैले आफ्नो लागि गायक-गायिकाहरू अर्थात् मानव-जातिको मनोरञ्जन र धेरै उपपत्नीहरू राखेँ । 9 यसरी यरूशलेममा मभन्दा अगि भएका सबैभन्दा म धेरै महान् र धेरै धनी भएँ, अनि बुद्धि मसितै थियो । 10 मेरा आँखाले चाहेको कुनै पनि कुरो प्राप्त गर्नदेखि मैले रोकिनँ । मैले हृदयलाई कुनै पनि सुख-विलास रोकिनँ, किनकि मेरो हृदय मेरा सबै परिश्रममा आनन्दित हुन्थ्यो, र सुख-विलास मेरा सबै कामको लागि इनाम थियो । 11 तब मेरा हातले सम्पन्न गरेका सबै काम र मैले गरेका कामलाई मैले निरीक्षण गरेँ, तर फेरि पनि हरेक थोक बाफ र बतासलाई खेदेजस्तै मात्र थियो । सूर्यमूनि कुनै लाभ थिएन । 12 तब म बुद्धि, पागलपन र मूर्खताको विषयमा विचार गर्नतिर फर्किएँ । किनकि राजाले पहिले नै गरिसकेको कामभन्दा तिनको पछि आउनेले केचाहिँ बढी गर्न सक्छ र ? 13 जसरी अन्धकारभन्दा ज्योति उत्तम हो, त्यसै गरी मूर्खताभन्दा बुद्धिका फाइदाहरू रहेछन् भनी मैले बुझ्न थालेँ । 14 बुद्धिमान् मानिसले आफ्नो शिरमा भएका आँखा त्यो कहाँ जाँदै छ भनी हेर्न प्रयोग गर्छ, तर मूर्खचाहिँ अन्धकारमा हिँड्छ । तर यी सबैमाथि उही दशा आइपर्छ भनी मलाई थाहा छ । 15 तब मैले मेरो मनमा भनेँ, “मूर्खलाई जे हुन्छ, मलाई पनि त्यही हुने छ । त्यसैले म ज्यादै बुद्धिमान् भएकोमा केचाहिँ फरक पर्छ त ?” मैले मेरो मनमा निष्कर्ष निकालेँ, “यो पनि केवल बाफ हो ।” 16 किनकि मूर्खलाई झैँ बुद्धिमान् मानिसलाई पनि धेरै लामो समयसम्म सम्झँदैन । आउँदा दिनहरूमा हरेक कुरा बिर्सिएको हुने छ । बुद्धिमान् मानिस मूर्खझैँ मर्छ । 17 सूर्यमूनि गरिएका सबै काम मेरो लागि खराबै मात्र भएकाले मैले जीवनको जाँच गरेँ । यसो हुनुको कारणचाहिँ हरेक कुरो बाफजस्तै हो र बतासलाई खेद्ने कोसिस मात्र हो । 18 सूर्यमूनि मैले काम गरेर हासिल गरेका मेरा सबै प्राप्तिहरूलाई मैले घृणा गरेँ, किनकि मैले ती मपछि आउनेको लागि छोड्नैपर्छ । 19 किनकि त्यो बुद्धिमान् वा मूर्ख मानिस कुनचाहिँ हुने छ भनी कसलाई थाहा छ र ? तापनि सूर्यमूनि मेरो काम र बुद्धिले बनाएको हरेक कुरोमाथि त्यो मालिक हुने छ । यो पनि बाफ हो । 20 त्यसकारण सूर्यमूनि मैले गरेका सबै कामको विषयमा मेरो मन निराश हुन थाल्यो । 21 किनकि बुद्धि, ज्ञान र सिपले काम गर्ने कुनै मानिस होला, तर त्यसले आफूसित भएका सबै थोक अर्को मानिसलाई छाडिदिने छ । यो पनि बाफ र ठुलो दुर्भाग्य हो । 22 किनकि सूर्यमूनि कडा मेहनतसाथ काम गर्ने र आफ्नो परिश्रमलाई पुरा गर्न कोसिस गर्ने मानिसले के लाभ पाउँछ र ? 23 हरेक दिन त्यसको काम दर्दनाक र तनावग्रस्त हुन्छ । त्यसैले रातमा त्यसको प्राणले विश्राम पाउने छैन । यो पनि बाफजस्तै हो । 24 खानु, पिउनु र आफ्नो काममा भएको असल कुरोदेखि सन्तुष्ट हुनुभन्दा मानिसको लागि कुनै उत्तम कुरो छैन । यो सत्यताचाहिँ परमेश्वरको हातबाट आउँछ भनी मैले देखेँ । 25 किनकि परमेश्वरविना कसले खान र कुनै पनि किसिमको सुख-विलासमा रमाउन सक्छ ? 26 परमेश्वरलाई खुसी पार्ने जो कसैलाई उहाँले बुद्धि, ज्ञान र आनन्द दिनुहुन्छ । तथापि पापीलाई चाहिँ परमेश्वरले उहाँलाई खुसी तुल्याउने मानिसको निम्ति जम्मा गर्ने र थुपार्ने काम दिनुहुन्छ । यो पनि बाफ र बतासलाई खेद्ने कोसिस मात्र हो ।