7
महङ्गो अत्तरभन्दा असल नाउँ उत्तम हुन्छ, र जन्मको दिनभन्दा मृत्युको दिन राम्रो हुन्छ । भोजको घरमा जानुभन्दा शोकको घरमा जानु उत्तम हुन्छ, किनकि जीवनको अन्त्यमा सबै मानिसका शोक आउँछ । जीवित मानिसहरूले यसलाई मनमा राख्‍नैपर्छ । हाँसोभन्दा अफसोस उत्तम हो, किनकि शोकित अनुहारपछि हृदयको प्रसन्‍नता आउँछ । बुद्धिमान्‌को हृदय शोकको घरमा हुन्छ, तर मूर्खहरूको हृदय भोजको घरमा हुन्छ । मूर्खहरूको गीत सुन्‍नुभन्दा बुद्धिमान्‌को हप्की सुन्‍नु उत्तम हो । किनभने मूर्खहरूको हाँसो भाँडामुनि पड्कने काँढाको आगोझैँ हुन्छ । यो पनि बाफ हो । करकापले निश्‍चय नै बुद्धिमान् मानिसलाई मूर्ख बनाउँछ, र घुसले हृदयलाई भ्रष्‍ट पार्छ । कुनै पनि कुरो सुरुभन्दा अन्त्य राम्रो हो, र हृदयमा घमण्ड हुनुभन्दा हृदयमा धैर्यवान् हुनु उत्तम हुन्छ । आत्मामा क्रोधित हुन हतार नगर्, किनकि क्रोधले मूर्खहरूको हृदयमा बास गर्छ । 10 यसो नभन्, “यीभन्दा पाकाहरूका दिन किन उत्तम हुन्छ ?” किनकि बुद्धिको कारण तैँले यो प्रश्‍न सोधेको होइन । 11 पैतृक-सम्पत्तिजस्तै बुद्धि राम्रो कुरो हो । यसले सूर्य देख्‍नेहरूलाई लाभ दिन्छ । 12 किनकि रुपियाँ-पैसाले सुरक्षा दिएजस्तै बुद्धिले पनि सुरक्षा दिन्छ, तर ज्ञानको फाइदा यही हो, कि बुद्धि भएको मानिसलाई यसले जीवन दिन्छ । 13 परमेश्‍वरका कामहरूलाई विचार गर्: उहाँले बाङ्गो बनाउनुभएकोलाई कसले सिधा पार्न सक्छ ? 14 समय राम्रो हुँदा त्यस राम्रो समयमा खुसी भएर बस्, तर समय नराम्रो हुँदा यो कुरा विचार गर्: परमेश्‍वरले दुवैलाई आमनेसामने रहने अनुमति दिनुभएको छ । यही कारणले गर्दा मानिसको पछि के हुँदै छ भनी कसैले पत्ता लगाउने छैन । 15 मेरा बेकम्मा दिनहरूमा मैले धेरै कुराहरू देखेको छु । धर्मात्माहरूको धार्मिकताको बाबजुत पनि तिनीहरू नष्‍ट हुन्छ, र दुष्‍टहरूको दुष्‍टताको बाबजुत पनि तिनीहरू धेरै वर्षसम्म बाँच्छन् । 16 स्वधर्मी नबन्; तेरो आफ्नै दृष्‍टिमा बुद्धिमान् नबन् । तँ किन आफैलाई नष्‍ट गर्छस् ? 17 ज्यादै दुष्‍ट र मूर्ख नबन् । तेरो समय आउनुअगि नै तँ किन मर्छस् ? 18 यो बुद्धिलाई पक्रेर राख्‍नु र धार्मिकतालाई जान नदिनु तेरो लागि राम्रो हुन्छ । किनकि परमेश्‍वरको भय मान्‍ने मानिसले त्यसका सबै कर्तव्य पुरा गर्ने छ । 19 कुनै सहरमा भएको दस जना शासकभन्दा बुद्धिमान् मानिससित भएको बुद्धि शक्तिशाली हुन्छ । 20 पृथ्वीमा भलाइ गर्ने र कहिल्यै पाप नगर्ने धर्मी मानिस छैन । 21 बोलिएको हरेक वचनलाई नसुन्, किनकि त्यसो गर्दा तैँले तेरो नोकरको श्रापलाई पनि सुन्लास् । 22 त्यसै गरी, तेरो हृदयमा तैँले प्रायः धेरैलाई सरापेको छस् भनी तँलाई थाहा छ । 23 मैले बुद्धिले यी सबै प्रमाणित गरेको छु । मैले भनेँ, “म बुद्धिमान् बन्‍ने छु,” तर यो मैले सक्‍नेभन्दा परको कुरो थियो । 24 बुद्धि धेरै टाढा र निकै गहिरो छ । कसले यसलाई पाउन सक्छ र ? 25 बुद्धि र वास्तविकताको विषयमा सिक्‍न, जाँच गर्न र खोज्न अनि खराबी बेवकुफ हो र मूर्खताचाहिँ पागलपन हो भनी बुझ्न मैले मेरो मन लगाएँ । 26 पासो र जालहरूले भरिएकी कुनै पनि स्‍त्रीको मृत्यभन्दा त्योचाहिँ बढी तितो भएको मैले पाएँ । परमेश्‍वरलाई खुसी पार्ने जो कोही त्यस स्‍त्रीबाट भाग्‍ने छ, तर पापीलाई भने त्यसले लिएर जान्छे । 27 “मैले जे पत्ता लगाएको छु, त्यसलाई विचार गर्,” उपदेशक भन्छन् । “वास्तविकताको व्याख्या पत्ता लगाउन मैले एकपछि अर्को खोज थप्दै आएको छु । 28 मैले अझै पनि यसको खोजी गर्दै छु, तर मैले यसलाई भेट्टाएको छैनँ । मैले एक हजार पुरुषका बिचमा एउटा धर्मी मानिस भेट्टाएँ, तर स्‍त्रीहरूका बिचमा एउटै पनि भेट्टाइनँ । 29 मैले पत्ता लगाएको कुरो केवल यही होः परमेश्‍वरले मानव-जातिलाई सोझो सृष्‍टि गर्नुभयो, तर धेरै कठिनाइको खोजी गर्दै तिनीहरू तर्केर गएका छन् ।”