एस्तरको पुस्तक
1
1 अहासूरसको राजकाजको दिनमा तिनले भारतदेखि कूशसम्म १२७ प्रान्तमाथि राज्य गरे । 2 ती दिनमा राजा अहासूरस शूशनको किल्लामा अवस्थित आफ्नो राजकीय सिंहासनमा बसे । 3 आफ्नो शासनकालको तेस्रो वर्षमा तिनले आफ्ना सबै अधिकारी र सेवकहरूलाई एउटा भोज दिए । फारसी तथा मादी सेना, कुलीनहरू र प्रान्तका गभर्नरहरू तिनको उपस्थितिमा थिए । 4 तिनले एक सय असी दिनसम्म आफ्नो राज्यको वैभवशाली धनदौलत र आफ्नो महान्ताको महिमाको रवाफ देखाए । 5 यी दिन समाप्त भएपछि राजाले सात दिनसम्म अर्को भोज दिए । यो शूशनको किल्लामा भएका सबैभन्दा ठुलादेखि सानासम्म सबै मानिसका लागि थियो । यो भोज राजदरबारको बगैँचाको चोकमा दिइएको थियो । 6 बगैँचाको चोकलाई सुती कपडाका सेता र निला, राम्ररी बाटेका सुती र बैजनीका डोरीहरूले सिङ्गारिएको थियो र ती सिङ्गमरमरका खम्बाहरूमा भएका चाँदीका गोलचक्रहरूमा बाँधिएका थिए । त्यहाँ बुट्टा बनाइएका राता, सेता, सिङ्गमरमर र अन्य मूल्यवान् पत्थरहरू छापिएको रङ्गीचङ्गी अग्रपेटीमा सुन र चाँदीका बस्ने सोफहरू थिए । 7 सुनका कचौराहरूमा दाखमद्य बाँडियो । प्रत्येक कचौरा विशिष्ट थियो र राजाको उदारताको कारणले धेरै राजकीय दाखमद्य बाँडिएको थियो । 8 “जबरजस्ती गरिनुहुँदैन” भन्ने आदेशको ख्याल गर्दै दाखमद्य बाँडिएको थियो , किनकि यसरी नै राजाले हरेक मानिसको इच्छामुताबिक गर्न आफ्नो दरबारका सबै अधिकारीलाई आदेश दिएका थिए । 9 रानी वश्तीले पनि राजा अहासूरसको दरबारमा स्त्रीहरूलाई एउटा भोज दिइन् । 10 सातौँ दिनमा जब राजाको हृदय दाखमद्यको कारणले प्रसन्न भएको थियो, तब तिनले महूमान, बिज्था, हर्बोना, बिग्ता, अबगथा, जेथेर र कर्कास (यी सात जना अधिकारीहरूले राजाको सामु सेवा गर्थे) लाई, 11 रानी वश्तीलाई उनको राजकीय शिरपेच पहिरेर आफ्नो सामु ल्याउने हुकुम गरे । तिनले मानिसहरू र अधिकारीहरूलाई उनको सौन्दर्य देखाउन चाहन्थे, किनकि उनको चेहरा असाध्य सुन्दर थियो । 12 तर अधिकारीहरूद्वारा ल्याइएको राजाको आदेश मानेर आउनलाई रानी वश्तीले इन्कार गरिन् । तब राजा सार्है रिसाए । आफूभित्रै तिनी रिसले क्रुद्ध भए । 13 त्यसैले राजाले बुद्धिमानी भनी चिनिएका मानिसहरू जसले परिस्थितिलाई बुझेका थिए, तिनीहरूसित सल्लाह लिए (किनकि कानुन र न्यायमा पोख्तहरू सबैसित सल्लाह लिने राजाको प्रचलन थियो) । 14 फारस र मादीका सात जना राजकुमार अर्थात् कर्शेना, शेथार, अद्माथा, तर्शीश, मेरेस, मर्सेना र ममूकान राजाका नजिकका मानिसहरू थिए । तिनीहरू राजाकहाँ जान सक्थे, र तिनीहरू राज्यमा उच्चतम पदहरूमा थिए । 15 राजाले सोधे, “अधिकारीहरूद्वारा रानी वश्तीकहाँ लगिएको राजा अहासूरसको आदेशलाई नमानेकी हुनाले कानुनको आदेशअनुसार उनलाई के गरिनुपर्छ ?” 16 राजा र अधिकारीहरूका सामु ममूकानले भने, “रानी वश्तीले राजाको विरुद्धमा मात्र होइन तर राजा अहासूरसका सबै प्रान्तका सारा अधिकारीहरू र सारा मानिसहरूको विरुद्धमा पनि गलत गर्नुभएको छ । 17 रानीको यो विषय सारा स्त्रीहरूलाई थाहा हुनेछ । यस कुराले तिनीहरूलाई आ-आफ्ना पतिलाई तुच्छ व्यवहार गर्ने बनाउनेछ । तिनीहरूले भन्नेछन्, 'राजा अहासूरसले रानी वश्तीलाई उहाँको सामु ल्याइयोस् भनी हुकुम गर्नुभयो, तर उनले इन्कार गरिन् ।' 18 आजको दिन समाप्त नहुँदै रानीको यस विषयलाई सुन्ने फारस र मादीका कुलीन स्त्रीहरूले राजाका सबै अधिकारीलाई उही कुरा भन्नेछन् । धेरै अनादर र क्रोध पैदा हुनेछ । 19 राजालाई यस कुराले खुसी लाग्छ भने, वश्ती अबदेखि उहाँको सामु नआऊन् भनी उहाँबाट एउटा राजकीय आदेश होस्, र यसलाई रद्द गर्न नसकिने फारसी र मादीहरूको कानुनमा लेखियोस् । राजाले उनीभन्दा अझै असल स्त्रीलाई उनको स्थानमा रानीको दर्जा दिइयोस् । 20 जब राजाको विशाल राज्यभरि उहाँको आदेशको घोषणा गरिन्छ, तब ठुलादेखि साना सबै जनाको पत्नीले आ-आफ्ना पतिलाई आदर गर्नेछन् ।” 21 यस सल्लाहबाट राजा र तिनका कुलिनहरू खुसी भए, र ममूकानले प्रस्ताव गरेझैँ राजाले गरे । 22 तिनले सारा राजकीय प्रान्तमा हरेक प्रदेशमा आ-आफ्नो लिपिअनुसार र हरेक जातिको आ-आफ्नो भाषाअनुसार तिनीहरूलाई चिट्ठीहरू पठाए । हरेक पुरुष आफ्नो घरानाको मालिक हुनुपर्छ भनी तिनले आज्ञा दिए । साम्राज्यको हरेक जातिको भाषामा यो आदेश दिइएको थियो ।