2
1 उहाँले मलाई भन्नुभयो, “ए मानिसको छोरो, आफ्ना गोडामा खडा हो । तब म तँसित कुरा गर्नेछु ।” 2 तब उहाँ मसित बोल्नुहुँदा, तब मभित्र आत्मा प्रवेश गर्नुभयो र मलाई आफ्ना खुट्टामा खडा गराउनुभयो, र उहाँले मसित कुरा बोलिरहनुभएको मैले सुनें । 3 उहाँले मलाई भन्नुभयो, “ए मानिसको छोरो, तँलाई म इस्राएलका मानिसहरूकहाँ पठाउँदैछु, एउटा विद्रोही जातिकहाँ, जसले मेरो विरुद्धमा विद्रोह गरेको छ—तिनीहरू र तिनीहरूका पुर्खाहरू दुवैले आजको दिनसम्मै मेरो विरुद्धमा पाप गरेका छन् । 4 तिनका सन्तानहरूका हठी अनुहारहरू र कठोर हृदयहरू छन् । तँलाई म तिनीहरूकहाँ पठाउँदैछु, र तैंले तिनीहरूलाई भन्नेछस्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ ।' 5 तिनीहरूले सुन्नेछन् वा सुन्नेछैनन् । तिनीहरू विद्रोही घराना हुन्, तर तिनीहरूले कमसेकम आफ्ना बिचमा एक जना अगमवक्ता छन् भनी जान्नेछन् । 6 ए मानिसको छोरो, तँचाहिं तिनीहरूदेखि अथवा तिनीहरूका कुरादेखि नडरा । तँ सिउँडी र काँढा भए, अथवा तँ बिच्छीहरूका बिचमा बसे तापनि तँ नडरा । तिनीहरूका वचनहरूदेखि नडरा वा तिनीहरूका अनुहारहरूदेखि भयभीत नहो, किनकि तिनीहरू विद्रोही घराना हुन् । 7 तर तिनीहरूले सुनुन् वा नसुनुन् तिनीहरूलाई मेरो वचन तैंले बोल्नेछस्, किनकि तिनीहरू ज्यादै विद्रोही छन् । 8 तर ए मानिसको छोरो, मैले तँलाई भनिरहेको कुरा सुन् । त्यो विद्रोही घरानाझैं तँ विद्रोही नहो । तेरो मुख खोल्, र मैले तँलाई जे दिन गइरहेको छु त्यो खा !” 9 तब मैले हेरें, र एउटा हात मतिर पसारिएको थियो । त्यसमा एउटा लेखिएको मुट्ठो थियो । 10 उहाँले त्यसलाई मेरै सामु फिंजाउनुभयो । त्यसको अगाडि र पछाडि दुवैतिर लेखिएको थियो, र त्यसमा शोक, विलाप र विपत्तिका कुरा लेखिएका थिए ।