24
नवौं वर्षको दशौं महिनाको र महिनको दशौं दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, “ए मानिसको छोरो, आफ्‍नो निम्‍ति आजको दिन, आजकै मिति लेख्, किनकि आजकै दिन बेबिलोनको राजाले यरूशलेमलाई घेरा हालेको छ । यस विद्रोही घरानाको विरुद्धमा यो उपदेश, यो दृष्‍टान्त तिनीहरू भन्‌। तिनीहरूलाई यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः पकाउने भाँडो राख् । त्‍यसलाई राख्, र त्‍यसमा पानी हाल्‌ । त्‍यसभित्र भएका खानेकुरा, हरेक असल टुक्रा— तिघ्रा र ह्‍याकुलो जम्‍मा गर र त्‍यसलाई असल हाडहरूले भर्‌ । बगालको सबभन्‍दा असल पशु छान्, त्यसमुनि हाडको थुप्रो लगा । त्यसलाई उमाल्ने ठाउँमा ल्या र त्‍यसमा हाडहरू पका । यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः यो रगतको सहरलाई धिक्‍कार! त्‍यो खिया लागेको भाँडालाई र त्‍यसबाट त्‍यो खिया जानेछैन! त्‍यसमा भएका टुक्राबाट नछानिकन एक-एक गर्दै निकाल् । किनकि त्‍यसको रगत त्‍यसकै बिचमा छ । त्‍यसले त्‍यो रगत चिल्‍लो चट्टानमा बगाई । धूलाले ढाक्‍नलाई त्‍यसले त्‍यो रगत भूइँमा पोखाईन, यसैले त्‍यसले साटो लिने क्रोध ल्‍याउँछ । त्‍यसको रगत ढाक्‍न नसकियोस् भनेर मैले चिल्लो चट्टानमा त्‍यो पोखाइन । यसैकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः त्‍यस रगतको सहरलाई धिक्‍कार । म दाउराको थुप्रोलाई पनि बढाउनेछु । 10 दाउरा थुपार्‌ र आगो सल्‍का । मासु राम्ररी पका, र मसला हाल र हाडहरू डड्न दे‌ । 11 त्‍यसपछि त्यसलाई तताउन र तामालाई तताएर आगोजस्तै बनाउन भाँडो खाली गरेर भुङ्ग्रोमाथि राख्, ताकि त्यसभित्र भएको अशुद्धता पग्लोस्, र त्‍यसको थेग्रो डढेर जाओस्‌ ।’ 12 परिश्रमको कारणलर त्यो थकित भएकी छे, तर त्‍यसको बाक्‍लो थेग्रो आगोले पनि गएन । 13 तेरो लाजमर्दो व्यवहार तेरो अशुद्धताभित्र छ । किनभने मैले त तँलाई शुद्ध गर्ने कोशिश गरें, तर तेरो अशुद्धताबाट तँ अझै शुद्ध भइनस् । जबसम्‍म म आफ्‍नो क्रोध तेरो विरुद्धमा पोखाएर सन्‍तुष्‍ट हुन्‍नँ, तबसम्‍म तँ फेरि शुद्ध हुनेछैनस्‌ । 14 म परमप्रभुले यो घोषणा गरेको हुँ, र म यो गर्नेछु । म पछि हट्‌नेछैनँ, न त म त्‍यसबाट आराम नै गर्नेछु । तेरा चाल र तेरा कामहरूले तिनीहरूले तेरो न्‍याय गर्नेछन्— यो परमप्रभु परमेश्‍वरको घोषणा हो । 15 त्यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ आयोः 16 “ए मानिसको छोरो, हेर्, तेरो आँखाका इच्‍छालाई म विपतिबाट हटाउँदैछु, तर तैंले शोक गर्नुहुँदैन न त रुनु हुन्‍छ, र तेरा आँखाबाट आँसु झर्नुहुँदैन । 17 तैंले चूपचाप सुस्‍केरा हाल्नुपर्छ । मृतकको अन्तेष्‍टि नगर्‌ । आफ्‍ना फेटा आफ्‍नो टाउकोमा बाँध र आफ्‍ना जुत्ता आफ्‍ना खुट्टामा लगा, तर आफ्नो मुखका रौं नढाक् वा आफ्ना पत्‍नीको मृत्युमा शोक गर्ने मानिसहरूका रोटी नखा ।” 18 यसैले बिहानै मैले यो कुरा मानिसहरूलाई भनें, र त्‍यही बेलुकी मेरी पत्‍नीको मृत्‍यु भयो । भोलिपल्‍ट बिहान मलाई जे गर्ने आज्ञा दिइएको थियो, मैले त्‍यही गरें । 19 मानिसहरूले मलाई सोधे, “यी कुराहरू अर्थात्, तपाईंले गरेका कुराहरूको अर्थ के हो, हामीलाई भन्‍नुहुन्‍न?” 20 यसैले मैले तिनीहरूलाई भनें, “परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 21 ‘इस्राएलको घरानालाई यसो भन्‌: परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर्, म आफ्‍नो पवित्रस्‍थान—तिमीहरूका शक्तिको गर्व, तिमीहरूका आँखाको खुसी, र तिमीहरूका प्राणको इच्छालाई अपवित्र तुल्‍याउनेछु, र तिमीहरूले छोडिराखेका तिमीहरूका छोराछोरी तरवारले मारिनेछन्‌ । 22 तब मैले गरेझैं तिमीहरूले पनि गर्नेछौः तिमीहरूले आफ्‍नो अनुहारका रौं छोप्‍नेछैनौ, न त शोक गर्ने मानिसहरूका रोटी खानेछौ । 23 त्‍यसको साटोमा, तिमीहरूका फेटा तिमीहरूका टाउकामा र तिमीहरूका जुत्ता तिमीहरूका खुट्टामा हुनेछन् । तिमीहरूले शोक गर्नेछैनौ न त रुनेछौ, किनकि तिमीहरू आफ्‍ना पापहरूको कारणले पग्लेर जानेछौ, र हरेक मानिसले आफ्ना भाइको निम्ति सुस्‍केरा हाल्‍नेछ । 24 यसरी इजकिएलचाहिं तिमीहरूका निम्‍ति एउटा चिन्‍ह हुनेछ । उसले जे गरेको छ ती हरेक कुरा तिमीहरूले पनि गर्नेछौ । तब म नै परमप्रभु परमेश्‍वर हुँ भनी तिमीहरूले जान्‍नेछौ' ।” 25 “तर ए मानिसको छोरो, तिनीहरूका आनन्‍द, गर्व, तिनेहरूले हेर्ने र इच्‍छा गर्ने तिनीहरूका मन्‍दिरलाई मैले कब्जा गरेको दिनमा— र मैले तिनीहरूका छोराछोरी लिएर जाँदा— 26 त्‍यस दिनमा तँलाई समाचार दिनलाई एक जना शरणार्थी तँकहाँ आउनेछ । 27 त्‍यो दिनमा त्यो शरणार्थीसँग तैंले मुख खोल्‍नेछस् र तँ बोल्नेछस्— तँ फेरि चूपचाप रहनेछैनस्‌ । तँ तिनीहरूका निम्‍ति एउटा चिन्‍ह हुनेछस्, ताकि तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌ ।”