27
1 फेरि पनि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 2 “अब ए मानिसको छोरो, टुरोसको विषयमा विलाप सुरु गर् । 3 र समुद्रको ढोकामा हुने, धेरैवटा टापुमा बस्ने मानिसहरूमा व्यापार गर्ने टुरोसलाई यसो भन्, परमप्रभु परमेश्वर तिमीहरूलाई यसो भन्नुहुन्छः 'ए टुरोस, तैंले भनेको छस्, “म सुन्दरतामा सिद्ध छु ।' 4 तेरा सिमानाहरू समुद्रको बिचमा छन् । तँलाई निर्माण गर्नेहरूले तँलाई पूर्ण रूपले सुन्दर बनाए । 5 तिनीहरूले तेरा सबै काठपात हर्मन पर्वतका सल्लाहरूबाट बनाए । तिनीहरूले तेरा लागि मस्तूल बनाउनलाई लेबनानको देवदारु ल्याए । 6 तेरा पतवारहरू तिनीहरूले बाशानबाट ल्याएका फलाँटबाट बनाए । साइप्रसका सल्लाका काठले तिनीहरूले जहाजका तला बनाए, र त्यसलाई हस्ती-हाडको जलप लगाए । 7 तेरो जहाजको पाल मिश्रदेशको मिहीन बुट्टादार सूती कपडाबाट बनेको थियो । त्यसैले तेरो झन्डाको काम गर्यो । एलीशाहको किनारका नीलो र बैजनी रङ्गका कपडा तेरो चँदुवाका निम्ति प्रयोग भए । 8 सीदोन र अर्वादमा बस्ने मानिसहरू तेरा पतवार चलाउनेहरू थिए । टुरोसका ज्ञानीहरू तँसँग थिए । तिनीहरू तेरा नावीहरू थिए । 9 गबालका दक्ष अनुभवी कारीगरहरू तँसित जहाजमा थिए । समुद्रका सबै जहाजहरू र तिनका नाविकहरूले व्यापारका निम्ति तेरा सामान ल्याउँथे । 10 फारस, लूद र पूतका मानिसहरू तेरो फौजमा तेरा योद्धहरू थिए । तिनीहरूले आ-आफ्ना ढाल र टोप तँभित्रै टाँगे । तिनले तेरो गौरव दर्शाए । 11 तेरा फौजका अर्वाद र हेलेकका मानिसहरू तेरा चारैतिरका पर्खालमाथि थिए । गमादका मानिसहरू तेरा धरहरामा थिए । तिनीहरूले आ-आफ्ना ढाल तेरा चारैतिरका पर्खालमा टाँगे । तिनीहरूले तेरो सुन्दरता पूर्ण बनाए । 12 तँसँग बेच्नको निम्ति चाँदी, फलाम, जस्ता र सीसाजस्ता सामानका प्रशस्त धनसम्पत्ति भएको कारणले तर्शीश तेरो व्यापारको साझेदार थियो । तिनीहरूले तेरा मालसामान किने र बेचे । 13 यावान, तूबल र मेशेकले तँसित कमारा-कमारी र काँसाका भाँडाहरूको व्यापार गरे । तिनीहरूले तेरा सामानका कारोबार गरे । 14 बेथ-तोगर्माका मानिसहरूले तेरो व्यापारको सामानको रूपमा घोडाहरू, सुमारेका घोडाहरू र खच्चरहरू दिए । 15 तेरा किनारहरूमा रोडसका मानिसहरू तेरा व्यापारीहरू थिए । व्यापारका सामानहरू तेरा हातमा थिए । तिनीहरूले तँलाई सीङ्, हस्ती हाड र अब्नुसको काठ दाम रूपमा दिए । 16 तेरा धेरै उत्पादनमा अरामले व्यापार गर्यो । तिनीहरूले तँलाई फिरोजा, बैजनी, रङ्ग लगाइएका वस्त्र, मलमलका कपडा, मूगा-मोती र मानिक तेरा व्यापारका सामानको रूपमा उपलव्ध गराए । 17 यहूदा र इस्राएलको देशले तँसित व्यापार गर्दैथिए । तिनीहरूले तँलाई मिन्नीतको गहूँ, रोटी, मह, तेल र लेप तेरा व्यापारका सामानका रूपमा उपलव्ध गराए । 18 तेरा सबै उत्पादन, धेरै धन-सम्पत्ति, र हेलबोनको दाखमद्य र जाहारको ऊनको व्यापारी दमस्कस थियो । 19 इजालका दान र यावानले तँलाई फलाम, तेजपात र बोझो दिए । यी तेरा व्यापारका माल बने । 20 ददानले तँसित घोडाका जीनपोशको व्यापार गर्यो । 21 अरब देश र केदारका सबै मुखियाहरू तँसँग व्यापार गरे । तिनीहरूले थुमा, भेडा र बाख्रा उपलब्ध गराए । 22 हरेक असल मसला र सबै किसिमका बहुमूल्य रत्नहरू बेच्न शेबा र रामाहका व्यापारीहरू तँकहाँ आए । व्यापारका सामानको रूपमा तिनीहरूले तँलाई सुन दिए । 23 शेबा, अश्शूर र किल्मदसँगै हारान, कन्नेह र अदनका व्यापारीहरूले तँसित व्यापार गरे । 24 नीलो रङ्गका कपडा, बुट्टादार कपडाहरू,र डोरीहरूले बाँधेर रङ्गीचङ्गी र बुट्टादार राडीपाखी र राम्ररी बुनेका लुगा तेरा बजारमा बेच्नेहरू यिनीहरू नै थिए । 25 तर्शीशका जहाजहरूले तेरा व्यापारका सामानहरू ढुवानी गर्थे । समुद्रका बिचमा व्यापारका सामानले तँ भरिपूर्ण, गह्रौं भएको थिइस् । 26 तेरा नाविकहरूले तँलाई विशाल समुद्रमा लगेका छन् । पूर्वीय बतासले तँलाई समुद्रकै बिचमा ध्वंस पारेको छ । 27 तेरा धन-सम्पत्ति, सामान र व्यापारका माल । तेरा माझीहरू र तेरा नावीहरू, र जहाज बनाउनेहरू । तेरा व्यापारीहरू र तँसँग भएका तेरा युद्धका योद्धाहरू, र जहाजमा हुने अरू सबै जना तेरो सर्वनाशको दिनमा समुद्रको गहिरोमा डुब्नेछन् । 28 समुद्रका सहरहरू तेरा नावीहरूका चित्कारको आवाजले थरथर हुनेछन् । 29 दाबिलो खियाउनेहरू सबै जना आफ्ना जहाजबाट तल आउनेछन् । माझी र समुद्रका सबै नावीहरू किनारमा खडा हुनेछन् । 30 तब तिनीहरूले आफ्ना सोर तँलाई सुनाउनेछन् र ठुलो स्वरले विलाप गर्नेछन् । तिनीहरूले आफ्ना टाउकोमा धुलो हाल्नेछन् । तिनीहरू खरानीमा लडीबडी गर्नेछन् । 31 तिनीहरूले तेरो लागि आफ्नो कपाल मुण्डन गर्नेछन्, र आफूमा भाङ्ग्रा बाँध्नेछन्, अनि तँलाई हेरेर तिनीहरू धुरुधुरु रुनेछन् र तिनीहरू कराउनेछन् । 32 तेरो निम्ति तिनीहरूले विलाप गर्नेछन्, र तँलाई हेरेर तिनीहरूले शोकगीत गाउनेछन् । टुरोस जस्तै को छ, जो समुद्रको बिचमा चुप शान्त पारिएको छ । 33 जब समुद्र किनारमा तेरा व्यापारका माल जान्थे, तिनले धेरै जना मानिसलाई सन्तुष्ट पार्थे । तेरा धेरै धन-सम्पत्ति र व्यापारका मालले तैंले पृथ्वीका राजाहरूलाई धनी तुल्याइस् । 34 तर समुद्रले गहिरो पानीले जब तँलाई ध्वंस पार्यो, तब तेरा तेरा मालहरू र तेरा सबै चालक दल डुबे । 35 किनारका सबै बासिन्दा तँलाई देखेर तर्सेका थिए, र तिनीहरूका राजाहरू त्रासले थरथर भए । तिनीहरूका अनुहारहरू कामे । 36 मानिसहरूका व्यापारीहरूले तँलाई खिसी गर्छन् । तँ त्रास बनेको छस्, र तँ सदाको लागि फेरि कहिलै हुनेछैनस् ।