9
1 त्यसपछि परमेश्वरले नोआ र तिनका छोराहरूलाई आशिष् दिनुभयो र भन्नुभयो, “फल्दै-फुल्दै, वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ । 2 जमिनमा चलहल गर्ने हरेक जीवित प्राणी, आकाशका हरेक पक्षी, जमिनमा घस्रने हरेक जन्तु र समुद्रका सबै माछामाथि तिमीहरूको डर र त्रास रहनेछ । ती तिमीहरूका हातमा सुम्पिएका छन् । 3 हरेक चलहल गर्ने प्राणी तिमीहरूका निम्ति भोजन हुनेछन् । मैले तिमीहरूलाई हरिया वनस्पतिहरू दिएजस्तै अब म तिमीहरूलाई सबै थोक दिन्छु । 4 तर तिमीहरूले मासु त्यसको प्राण दिने रगतसमेत नखाओ । 5 तर तिमीहरूको प्राण दिने रगतको साटो म लेखा लिनेछु । हरेक पशुबाट म प्राणको साटो लिनेछु । आफ्नो भाइको हत्या गर्ने हरेक मानिसको हातबाट म त्यस मानिसको प्राणको साटो लिनेछु । 6 जसले मानिसको रगत बगाउँछ मानिसद्वारा नै त्यसको रगत बगाइनेछ, किनकि परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभयो । 7 तिमीहरूचाहिँ पृथ्वीमा फल्दै-फुल्दै, वृद्धि हुँदै, फैलँदै जाओ ।” 8 त्यसपछि परमेश्वरले नोआ र तिनका छोराहरूलाई यसो भन्नुभयो, 9 “मेरो कुरा सुन! तिमीहरू र तिमीहरूपछि आउने तिमीहरूका सन्तानहरू, तिमीहरूसँगै भएका हरेक जीवित प्राणी अर्थात् 10 पक्षीहरू, पालिने पशुहरू र जहाजबाट बाहिर आउनेदेखि पृथ्वीमा भएका हरेक जीवित प्राणीसित म मेरो करार स्थापित गर्दै छु । 11 जलप्रलयको पानीद्वारा फेरि सबै प्राणी नष्ट गरिनेछैनन् भनी म मेरो करार तिमीहरूसित स्थापित गर्दछु । पृथ्वीलाई सर्वनाश गर्ने जलप्रलय फेरि कहिल्यै आउनेछैन । 12 परमेश्वरले भन्नुभयो, “पुस्तौँको निम्ति मेरो र तिमीहरूसाथै हरेक जीवित प्राणीसित मैले जुन करार बाँध्दै छु, त्यसको चिन्ह यही हुन्छ 13 कि मैले बादलमा इन्द्रेणी राखेको छु, र यो मेरो र पृथ्वीको बिचमा करारको चिन्ह हुनेछ । 14 मैले पृथ्वीमाथि बादल फिँजाउँदा जब इन्द्रेणी देखा पर्छ 15 तब म मेरो करारलाई सम्झनेछु जुन करार मेरो र तिमीहरूसाथै हरेक जीवित प्राणीको बिचमा बाँधिएको छ । जलप्रलयले फेरि कहिल्यै सबै प्राणीलाई सर्वनाश गर्नेछैन । 16 परमेश्वर र पृथ्वीमा रहेका सबै जीवित प्राणीबिच बाँधिएको नित्य रहिरहने कराको सम्झना गर्नलाई म बादलमा देखा पर्ने इन्द्रेणीलाई हेर्नेछु ।” 17 तब परमेश्वरले नोआलाई भन्नुभयो, “मेरो र पृथ्वीमा भएका सबै जीवित प्राणीको बिचमा मैले स्थापित गरेको करारको चिन्ह यही हो ।” 18 जहाजबाट बाहिर निस्केर आएका नोआका छोराहरू शेम, हाम र येपेत थिए । हाम कनानका पिता थिए । 19 यी तिन जना नोआका छोराहरू थिए, र यिनीहरूबाट नै समस्त पृथ्वी भरियो । 20 नोआ किसान हुन लागे, र तिनले दाखबारी लगाए । 21 दाखमद्य पिएर तिनी मात्तिए । तिनी आफ्नो पालमा नाङ्गै पल्टिरहेका थिए । 22 तब कनानका पिता हामले आफ्ना पिताको नाङ्गोपन देखे र बाहिर आएर दुवै दाजुलाई बताइदिए । 23 त्यसैले, शेम र येपेतले एउटा लबेदा लिएर त्यसलाई काँधमा हाले अनि पछिल्तिर सर्दै गएर तिनीहरूका पिताको नाङ्गोपन ढाकिदिए । तिनीहरूको अनुहार अर्कोपट्टि फर्केकाले तिनीहरूले आफ्ना पिताको नाङ्गोपन देखेनन् । 24 नोआ आफ्नो मद्यको लतबाट उठेपछि तिनका कान्छा छोराले तिनलाई के गरेका थिए भनी तिनलाई थाहा भयो । 25 त्यसैले तिनले भने, “श्रापित होस् कनान । त्यो आफ्ना दाजुहरूका कमाराहरूका पनि कमारा होस् ।” 26 तिनले यसो पनि भने, “शेमका परमेश्वर यहोवे धन्यका होऊन्, र कनान त्यसको कमारो होस् । 27 परमेश्वरले येपेतको क्षेत्र वृद्धि गर्नुभएको होस् र त्यसले शेमका पालहरूमा बास गरून् । कनान त्यसका कमारा होस् ।” 28 जलप्रलयपछि नोआ तिन सय पचास वर्ष बाँचे । 29 नोआको जम्मा उमेर नौ सय पचास वर्ष भयो, अनि तिनी मरे