48
1 यी कुराहरू भएको केही समयपछि “हेर्नुहोस्, हजुरका पिता बिरामी हुनुहुन्छ” भनेर कसैले योसेफलाई खबर दियो । यसकारण तिनले आफ्ना दुई छोरा मनश्शे र एफ्राइमलाई आफ्नो साथमा ल्याए । 2 जब “हेर्नुहोस्, तपाईंका छोरा योसेफ तपाईंलाई भेट गर्न आएका छन्” भन्ने खबर कसैले याकूबलाई सुनायो, इस्राएल आफै बल गरेर पलङ्गमा बसे । 3 याकूबले योसेफलाई भने, “सर्वशक्तिमान् परमेश्वर कनान देशको लूजमा मकहाँ देखा पर्नुभयो । उहाँले मलाई आशीर्वाद दिनुभयो 4 र भन्नुभयो, 'हेर, म तँलाई फल्दो-फुल्दो बनाउनेछु, र तेरो वृद्धि गराउनेछु । तँबाट म जातिहरूको समूह उत्पन्न गर्नेछु । म यो देश अनन्त अधिकारको रूपमा तेरा सन्तानलाई दिनेछु ।’ 5 अब म मिश्रमा आउनअगि मिश्रमा जन्मेका तेरा यी दुई जना छोराहरू मेरै हुन् । रूबेन र शिमियोनझैँ एफ्राइम र मनश्शे मेरै हुनेछन् । 6 तिनीहरूभन्दा पछि जन्मेका सन्तानहरूचाहिँ तेरा हुनेछन् । यिनीहरूका नाम पनि यिनका दाजुभाइहरूले पाउने हकमा सूचीबद्ध गरिनेछ । 7 म पद्दन-आरामबाट आउँदा एप्रातमा पुग्न अझ केही टाढा छँदै कनान देशमा राहेल मरिन् । मैले तिनलाई एप्रात अर्थात् बेथलेहेम जाने बाटोमा गाडेँ ।” 8 योसेफका छोराहरूलाई देखेर इस्राएलले भने, “यिनीहरू को हुन्?” 9 योसेफले आफ्ना बुबालाई भने, “यिनीहरू परमेश्वरले मलाई यहाँ दिनुभएका मेरा छोराहरू हुन् ।” इस्राएलले भने, “तिनीहरूलाई मकहाँ ले, ताकि म तिनीहरूलाई आशीर्वाद दिऊँ ।” 10 त्यस बेला तिनको उमेरले गर्दा इस्राएलका आँखा धमिला भइसकेका थिए, त्यसैले तिनले देख्न सकेनन् । यसकारण योसेफले तिनीहरूलाई तिनको नजिक लगिदिए, अनि तिनले तिनीहरूलाई म्वाइँ खाएर अँगालो हाले । 11 इस्राएलले योसेफलाई भने, “मैले त तेरो मुख फेरि देख्न पाउँला भनी ठानेकै थिइनँ, तर मलाई परमेश्वरले तेरा सन्तान पनि देख्न दिनुभयो ।” 12 तब योसेफले तिनीहरूलाई इस्राएलका घुँडाको बिचबाट हटाए, र तिनले भुइँमा घोप्टेर दण्डवत् गरे । 13 योसेफले ती दुवैलाई लिएर एफ्राइमलाई आफ्नो दाहिनेपट्टि र इस्राएलको देब्रेपट्टि, र मनश्शेलाई आफ्नो देब्रेपट्टि र इस्राएलको दाहिनेपट्टि पर्ने गरी इस्राएलको नजिक ल्याए । 14 इस्राएलले आफ्नो दाहिने हात पसारेर कान्छा एफ्राइमको टाउकोमा र आफ्नो देब्रे हात मनश्शेको टाउकोमा राखे । मनश्शे जेठा भएकाले तिनले आफ्नो एउटा हात अर्को हातमाथि खप्ट्याए । 15 इस्राएलले योसेफलाई आशीर्वाद दिएर भने, “जुन परमेश्वरको सामुन्ने मेरा पिता अब्राहाम र इसहाक हिँडे, जुन परमेश्वरले मेरो जीवनभरि आजसम्म मेरो वास्ता गर्नुभएको छ, 16 ती स्वर्गदूत, जसले मलाई सबै खराबीबाट जोगाउनुभएको छ, उहाँले नै यी बालकहरूलाई आशीर्वाद देऊन् । मेरो र मेरा पिता अब्राहाम र इसहाकका नाउँ यिनीहरूमा बोलाइयोस् । पृथ्वीमा यिनीहरू अधिक सङ्ख्यामा बढून् ।” 17 जब योसेफले तिनका बुबाले आफ्ना दाहिने हात एफ्राइमको टाउकोमा राखेको देखे, यो उनलाई मन परेन । तिनले एफ्राइमको टाउकोबाट मनश्शेको टाउकोमा राख्न भनी तिनका बुबाको हात उठाए । 18 योसेफले आफ्ना बुबालाई भने, “हे मेरा बुबा, यसो होइन, किनकि जेठोचाहिँ यो हो । तपाईंको दाहिने हात यसको शिरमाथि राखिदिनुहोस् ।” 19 तर तिनका बुबाले अस्वीकार गरी भने, “मलाई थाहा छ, मेरो छोरो, मलाई थाहा छ । यसको पनि एउटा वंश हुनेछ, र यो पनि महान् हुनेछ । तापनि यसको भाइचाहिँ योभन्दा महान् हुनेछ, र त्यसका सन्तान जाति-जातिहरूको एक समूह हुनेछ ।” 20 इस्राएलले तिनीहरूलाई त्यस दिन यसो भनेर आशीर्वाद दिए, “इस्राएलका मानिसहरूले तिमीहरूका नाउँ लिएर यस्तो आशीर्वाद दिनेछन्, ‘परमेश्वरले तँलाई एफ्राइम र मनश्शेजस्तै बनाऊन्’।” यसरी तिनले मनश्शेभन्दा एफ्राइमलाई नै अगाडि राखे । 21 इस्राएलले योसेफलाई भने, “हेर्, म मर्न लागेको छु, तर परमेश्वर तिमीहरूका साथमा हुनुहुनेछ, र तिमीहरूलाई फेरि तिमीहरूका पिता-पुर्खाहरूको देशमा फर्काएर लैजानुहुनेछ । 22 त्यसबाहेक तेरा दाजुभाइहरूभन्दा तँमाथि भएकोले मैले आफ्नो तरवार र धनुको बलले एमोरीहरूबाट लिएको पहाडको पाखा म तँलाई दिन्छु ।”