52
ए सियोन, जाग्, जाग्, आफ्नो शक्ति धारण गर् । ए यरूशलेम, पवित्र सहर, आफ्‍नो सुन्दर पोशाक लगा । किनकि खतना नगरिएका वा अशुद्धचाहिं फेरि कहिल्यै तँभित्र पस्‍नेछैन । आफैबाट धूलो टक्टक्‍या । ए यरूशलेम उठ् र बस् । ए सियोनकी कैदी छोरी, आफ्‍नो घाँटीबाट साङ्ला निकाल् । किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, “तिमीहरू सित्तैंमा बेचिएका थियौ, अनि पैसाविना नै तिमीहरूको छुटकारा हुनेछ ।” किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, “सुरुमा मेरा मानिसहरू अस्थायी रूपमा बसोवास गर्न मिश्रदेशमा गए । अनि अश्शूरले तिनीहरूलाई कुनै ठिक कारणविना नै अत्याचार गर्‍यो । यो परमप्रभुको घोषणा हो, मेरा मानिसहरू सित्तैंमा लगिएको देख्‍दा, अब मसँग यहाँ के छ र? यो परमप्रभुको घोषणा हो, तिनीहरूमाथि शासन गर्नेहरूले तिनीहरूलाई खिसी गर्छन् र दिनभरि मेरो नाउँको निरन्तर निन्दा हुन्छ । यसकारण मेरा मानिसहरूले मेरो नाउँ जान्‍नेछन् । “हो, त्‍यो म नै हुँ” भन्‍ने म नै हुँ भनी तिनीहरूले त्यस दिन जान्‍नेछन् । असल समाचार ल्याउने दूतहरूका गोडाहरू पहडाहरूमाथि कति सुन्दर, जसले शन्तिको घोषणा गर्छन्, जसले असल समाचार ल्‍याउँछन्, जसले उद्धारको घोषणा गर्छन्, जसले सियोनलाई भन्छन्, “तेरो परमेश्‍वरले राज्‍य गर्नुहुन्छ !” । सुन्, तिमीहरूका रक्षकहरूले आफ्‍ना सोर उच्‍च पार्छन्, तिनीहरू आनन्दले कराउँछन्, किनकि आफ्‍ना हरेक आँखाले तिनीहरूले परमप्रभु सयोनमा फर्कनुभएको देख्‍नेछन् । ए यरूशलेमको भग्‍नावशेषहरू, आनन्दको गीत सँगसँगै गाओ । किनकि परमप्रभुले आफ्‍ना मानिसहरूलाई सान्त्वना दिनुभएको छ । उहाँले यरूशलेमको उद्धार गर्नुभएको छ । 10 परमप्रभुले आफ्नो पवित्र बाहुली सबै जातिहरूको दृष्‍टिमा प्रकट गर्नुभएको छ । सारा पृथ्वीले हाम्रा परमेश्‍वरको उद्धार देख्‍नेछ । 11 छोड, छोड, त्यहाँबाट बाहिर जाओ । अशुद्ध कुनै कुरा नछोओ । त्यसको माझबाट जाओ । आफैलाई शुद्ध बनाओ, तिमीहरू जसले परमप्रभुको पात्रलाई बोक्‍छौ । 12 किनकि तिमीहरू हतारमा बाहिर जानेछैनौ, न तिमीहरूले त्रासमा छोड्नेछौ । किनकि परमप्रभु तिमीहरूको अगि-अगि जानुहुनेछ । अनि इस्राएलको परमेश्‍वर नै तिमीहरू पछाडिको रक्षक हुनुहुनेछ । 13 हेर, मेरो सेवकले बुद्धिमान् भएर काम गर्नेछ । ऊ उच्‍च हुनेछ र माथि उचालिनेछ र उसलाई उचालिनेछ । 14 जसरी तँसँग धेरै जना त्रसित भएका थिए— उसको अनुहार कुनै मानिसको भन्दा धेरै कुरूप बनाइएको थियो, र उसको स्वरूप कुनै मानिसको जस्तो देखिएन । 15 तापनि मेरो सेवकले धेरै जातिहरूलाई छर्कनेछ र उसको कारणले राजाहरूले आफ्‍ना मुख बन्‍द गर्नेछन् । किनकि तिनीहरूलाई नभनिएको कुरा तिनीहरूले देख्‍नेछन् र तिनीहरू नसुनेका कुरा तिनीहरूले बुझ्‍नेछन् ।