2
परमप्रभुका दूत गिलगालबाट माथि बोकीममा गए, र भने, “मैले तिमीहरूलाई मिश्रदेशबाट ल्याएँ, र तिमीहरूका पुर्खाहरूलाई दिन्छु भनी मैले प्रतिज्ञा गरेको देशमा ल्याएँ । मैले भनें, ‘तिमीहरूसँगको मेरो करारलाई म कहिल्यै तोड्नेछैनँ । यस देशमा बस्‍नेहरूसँग तिमीहरूले कुनै करार गर्नुहुँदैन । तिमीहरूले तिनीहरूका वेदीहरू भत्कानुपर्छ ।’ तर तिमीहरूले मेरो आज्ञा पालन गरेका छैनौ । तिमीहरूले यो के गरेका छौ? यसैले म अब भन्छु, ‘तिमीहरूको अगिबाट म कनानीहरूलाई बाहिर निकाल्नेछैनँ, तर तिनीहरू तिमीहरूका वरिपरिका काँढाहरू हुनेछन्, र तिनीहरूका देवताहरू तिमीहरूका निम्ति पासो बन्‍नेछन् ।’ ” जब परमप्रभुका दूतले यी वचन इस्राएलका सबै मानिसलाई भने, तब मानिसहरू चिच्‍चाए र रोए । तिनीहरूले त्यस ठाउँलाई बोकीम नाउँ दिए । त्यहाँ तिनीहरूले परमप्रभुको निम्ति बलिदान चढाए । अब यहोशूले मानिसहरूलाई आ-आफ्नो बाटोमा पठाएका थिए, इस्राएलका मानिसहरू आ-आफ्नो जमिनमाथि अधिकार गर्न ती ठाउँहरूमा गए । यहोशू र तिनीपछि पनि बाँचेका धर्म-गुरुहरू जसले परमप्रभुले इस्राएलको निम्ति गर्नुभएका सबै महान् कामलाई देखेका थिए, तिनीहरूले आफ्‍नो जीवनकालभरि नै परमप्रभुको सेवा गरे । परमप्रभुका सेवक नूनका छोरा यहोशूको ११० वर्षको उमेरमा मृत्‍यु भयो । तिनीहरूले उनलाई गाश पर्वतको उत्तरपट्टि, एफ्राइमको पहाडी देश, तिम्नथ-हेरेसमा उनको अधिकारमा दिइएको जमिनको सिमानाभित्र गाडे । 10 त्यस पुस्ताका सबै जना आफ्‍ना पुर्खाहरूसँगै मिले । तिनीहरू पछि परमप्रभु र उहाँले इस्राएलको निम्ति गर्नुभएका कामको बारेमा जानकारी नभएका अर्को पुस्ता खडा भयो । 11 इस्राएलका मानिसहरूले परमप्रभुको दृष्‍टिमा जे कुरा दुष्‍ट थियो त्यही गरे र तिनीहरूले बाल देवताको सेवा गरे । 12 तिनीहरूलाई मिश्रदेशबाट बाहिर निकालेर ल्याउनुहुने तिनीहरूका पुर्खाहरूका परमप्रभु परमेश्‍वरसँग तिनीहरूले सम्बन्ध तोडे । तिनीहरूले अन्य देवताहरू, तिनीहरूका वरिपरि भएका मानिसहरूका देवताहरूलाई पछ्याए, र तिनीहरूलाई उनीहरूलाई ढोगे । तिनीहरूले परमप्रभुलाई क्रोधित बनाए किनभने, 13 तिनीहरू परमप्रभुबाट टाढा भए, र बाल तथा अश्तोरेत देवताको पुजा गरे । 14 परमप्रभुको क्रोध इस्राएलको विरुद्धमा दन्कियो, र उहाँले तिनीहरूलाई तिनीहरूका धन-सम्पत्ति लुट्ने लुटेराहरूकहाँ सुम्पनुभयो । उहाँले तिनीहरूलाई दासहरूझैं बेचिदिनुभयो र तिनीहरू वरिपरिबाट शत्रुहरूले घेरिए, यसरी तिनीहरूले आफ्ना शत्रुहरूबाट आफैलाई बचाउन सकेनन् । 15 जहाँ-जहाँ इस्राएल युद्धको निम्ति गए, परमप्रभुले तिनीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिनीहरूलाई परास्त गर्नको निम्ति उहाँको हात तिनीहरूको विरुद्ध थियो, र तिनीहरू अत्‍यन्‍तै सकसमा परे । 16 त्‍यसपछि परमप्रभुले न्यायकर्ताहरू खडा गर्नुभयो, जसले तिनीहरूका धन-सम्पत्ति लुट्नेहरूका हातबाट तिनीहरूलाई बचाए । 17 तापनि तिनीहरूले आफ्ना न्यायकर्ताहरूका कुरा सुनेनन् । तिनीहरू परमप्रभुप्रति विश्‍वासहीन भए र आफूलाई वेश्याहरूझैं अन्य देवताहरूकहाँ सुम्पे र तिनीहरूको पुजा गरे । परमप्रभुका आज्ञाहरू पालन गर्ने तिनीहरूका पुर्खाहरूले जिएका मार्गबाट तिनीहरू चाँडै नै तर्केर गए र आफ्ना पुर्खाहरूले झैं तिनीहरूले गरेनन् । 18 जब परमप्रभुले तिनीहरूका निम्ति न्यायकर्ताहरू खडा गर्नुभयो, ती न्यायकर्ताहरू बाँचुन्जेल परमप्रभुले तिनीहरूलाई सहायता गर्नुभयो र तिनीहरूका शत्रुहरूका हातबाट तिनीहरूलाई बचाउनुभयो । तिनीहरूलाई अत्‍याचार गर्ने र कष्‍ट दिनेहरूका कारणले तिनीहरूले चित्कार गर्दा परमप्रभुले तिनीहरूमाथि दया देखाउनुभयो । 19 तर न्यायकर्ता मरेपछि, तिनीहरू खराब बाटोतर्फ लाग्थे र तिनीहरूका पुर्खाहरूले गरेकाभन्दा पनि भ्रष्‍ट कामहरू गर्थे । तिनीहरू अन्य देवताहरूको सेवा गर्न र तिनीहरूको पुजा गर्न तिनीहरूको पछि लाग्थे । तिनीहरूले आफ्ना कुनै पनि दुष्‍ट काम वा तिनीहरूका हठी चालहरूलाई त्याग्‍न इन्कार गरे । 20 परमप्रभुको क्रोध इस्राएलको विरुद्धमा दन्कियो । उहाँले भन्‍नुभयो, “यस जातिले मैले तिनीहरूका पुर्खालाई दिएको मेरा करारका शर्तहरूलाई तोडेका हुनाले र तिनीहरूले मेरा आज्ञा पालन नगरेका हुनाले, 21 यहोशू मृत्‍यु हुँदा, त्यसले बाँकी छोडेका सबै जातिलाई म अबदेखि उसो तिनीहरूका सामुबाट धपाउनेछैनँ । 22 इस्राएलका मानिसहरू आफ्‍ना पुर्खाहरूले झै परमप्रभुको मार्गलाई पछ्याएर ती मार्गमा हिंड्नेछन् या छैनन् भनेर जाँच्नको निम्ति म यसो गर्नेछु ।” 23 यसकारण परमप्रभुले ती जातिहरूलाई छोडिदिनुभयो र तिनीहरूलाई तुरुन्तै धपाउनुभएन र यहोशूको हातमा सुम्पनुभएन ।