46
1 जाति-जातिहरूको विषयमा यर्मिया अगमवक्ताकहाँ आएको परमप्रभुको वचन यही हो । 2 मिश्र देशको विषयमाः “यो यूफ्रेटिस नदीको तीरमा अवस्थित कर्कमीशमा भएका मिश्रदेशका राजा फारो नेकोका सेनाको विषयमा हो । यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको चौथो वर्षमा यही सेनालाई बेबिलोनका राजा नबूकदनेसरले पराजित गरेका थिए । 3 साना र ठुला ढालहरू तयार पार, अनि युद्ध गर्नलाई अगाडि बढ । 4 घोडाहरूमा जीन-लगाम कस । घोडाहरूमा सवार होओ, र टोप लगाएर आफ्नो ठाउँमा खडा होओ । भालाहरू टल्काओ, र आ-आफ्नो कवच लगाओ । 5 म यहाँ के देख्दैछु ? तिनीहरू त्रासले भरिएका छन्, र टाढा भाग्दैछन्, किनकि तिनीहरूका सिपाहीहरू पराजित भएका छन् । सुरक्षाको लागि तिनीहरूको भाग्दैछन्, र पछाडि फर्केर हेरिरहेका छैनन् । त्रास चारैतिर छ, यो परमप्रभुको घोषणा हो— 6 तीव्र गतिमा कुद्नेहरू भाग्न सक्दैनन्, र सिपाहीहरू उम्कन सक्दैनन् । तिनीहरू उत्तरमा ठक्कर खान्छन्, र यूफ्रेटिस नदीको छेउमा ढल्छन् । 7 नील नदीझैं बढेर आउने यो को हो, जसको पानी नदीको झैं उर्लन्छ र झर्छ ? 8 मिश्रदेश नील नदीझैं बढेर आउँछ । त्यो नदीको पानीझैं उर्लन्छ र झर्छ । मिश्रदेशले भन्छ, 'म माथि जानेछु र पृथ्वीलाई ढाक्नेछु । सहरहरू र तिनका बासिन्दाहरूलाई म नष्ट पार्नेछु ।' 9 ए घोडाहरू हो, माथि जाओ । ए रथहरू हो, रिसाओ । सिपाहीहरू बाहिर जाऊन्, ढाल बोक्ने कूश र पूतका निपुण मानिसहरू अनि लूदका बाण हान्न निपुण मानिसहरू हो, अगि बढ ।’ 10 त्यस दिन सर्वशक्तिमान् परमप्रभुको लागि प्रतिशोधको दिन हुनेछ, र उहाँले आफ्ना वैरीहरूलाई आफै बदला लिनुहुनेछ । तरवारले स्वाहा पार्नेछ, र त्यो सन्तुष्ट हुनेछ । यसले तिनीहरूको रगत पिउनेछ । किनकि यूफ्रेटिस नदीको किनारमा अवस्थित उत्तर देशमा सर्वशक्तिमान् परमप्रभुका लागि बलिदान चढाइनेछ । 11 ए मिश्रदेशका कन्या-छोरी हो, गिलादमा उक्लेर जाओ, र औषधी प्राप्त गर । तैंले धेरै औषधी लगाए तापनि त्यो व्यर्थ हुन्छ । तेरो लागि कुनै उपचार छैन । 12 जातिहरूले तेरो अपमानको बारेमा सुनेका छन् । पृथ्वी तेरो विलापले भरिएको छ, किनकि सिपाहीहरू एक-अर्कामा ठक्कर खान्छन् । तिनीहरू दुवै एकसाथ ढल्छन् ।” 13 बेबिलोनका राजा नबूकदनेसर मिश्रदेशमा आउँदा र आक्रमण गर्दा परमप्रभुले यर्मिया अगमवक्तालाई भन्नुभएको वचन यही होः 14 “मिश्रदेशमा सुचना दे, र मिग्दोल, मेम्फिस र तहपनेसमा यो घोषणा गर् । 'आ-आफ्नो ठाउँ लेओ र आफूलाई तयार राख, किनकि तिमीहरूको वरिपरि भएकाहरूलाई तरवारले स्वाहा पार्नेछ ।' 15 तेरा शक्तिशाली मानिसहरू किन भुइँमा घोप्टो पर्छन् ? तिनीहरू खडा हुने छैनन्, किनकि म परमप्रभुले तिनीहरूलाई भुइँमा धकेलेको हुँ । 16 उहाँले ठक्कर खानेहरूको सङ्ख्या बढाउनुहुन्छ । हरेक सिपाही अर्कोमा ढल्नेछ । तिनीहरू भन्दैछन्, 'खडा होऊ । हामी घर जाऔं । हाम्रा आफ्नै मानिसहरूकहाँ, हाम्रो आफ्नै मातृभूमिमा जाऔं । हामीलाई प्रहार गर्ने यो तरवारलाई हामी छोडौं ।' 17 तिनीहरूले त्यहाँ घोषणा गरे, 'मिश्रदेशका राजा फारो हल्ला गर्ने सोर मात्र हो, मौका पाएको व्यक्ति चिप्लेको छ ।' 18 जस्तो म जीवित छु, सर्वशक्तिमान् परमप्रभु महाराजा घोषणा गर्नुहुन्छ— कोही एक जना तबोर पर्वतझैं र समुद्र किनारको कर्मेल पर्वतझैं आउनेछ । 19 ए मिश्रदेशमा बस्नेहरू हो, निर्वासनमा लानलाई आफ्ना निम्ति पोकापन्तरा बाँध । किनकि मेम्फिस उजाड हुनेछ । यो भग्नावशेष हुनेछ, र त्यहाँ कोही पनि बस्नेछैन । 20 मिश्रदेश एउटा सुन्दरी गाई हो, तर उत्तर दिशाबाट एउटा चिल्ने किरा आउँदैछ । त्यो आउँदैछ । 21 त्यसको बिचमा भएका ज्यालादार सिपाहीहरू पोसिएका साँढेहरूजस्तै हुन्, तर तिनीहरू पनि फर्केर भाग्नेछन् । तिनीहरू एकसाथ खडा हुनेछैनन्, किनकि तिनीहरूका विरुद्धमा तिनीहरूका विपत्तिको दिन, तिनीहरूको दण्डको समय आउँदैछ । 22 सर्पले झैं मिश्रदेशले आवाज निकाल्नेछ र घिस्रेर भाग्नेछ, किनकि त्यसका शत्रुहरू त्यसको विरुद्धमा अगि बढ्दैछन् । दाउरा काट्नेहरूले बन्चरो लिएर हिंडेझैं तिनीहरू त्यसतर्फ जाँदैछन् । 23 जङ्गल घना भए तापनि तिनीहरूले त्यसलाई काट्नेछन्, यो परमप्रभुको घोषणा हो । किनकि शत्रुहरू गन्नै नसकिने गरी सलहहरूभन्दा धेरै हुनेछन् । 24 मिश्रदेशकी छोरी लाजमा पारिनेछे । त्यसलाई उत्तरबाट आउने मानिसहरूको हातमा दिइनेछ ।” 25 सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, “हेर, थेबेसको अमोन, फारो, मिश्रदेश र त्यसका देवताहरू, त्यसका राजा फारोहरू र तिनीहरूमाथि भरोसा गर्नेहरूलाई मैले दण्ड दिनै लागेको छु । 26 मैले तिनीहरूका ज्यान लिन खोज्नेहरू र बेबिलोनका राजा नबूकदनेसर र उसका सेवकहरूका हातमा तिनीहरूलाई दिन लागेको छु । त्यसपछि मिश्रदेश पहिलेझैं आबादी हुनेछ,’ यो परमप्रभुको घोषणा हो । 27 तर ए मेरो दास याकूब, तँ नडरा । ए इस्राएल, तँ हताश नहो, किनकि हेर्, मैले तँलाई धेरै टाढाबाट र तेरा सन्तानलाई तिनीहरूको निर्वासनको देशबाट फर्काएर ल्याउनै लागेको छु । तब याकूब फर्कनेछ, शान्ति पाउनेछ र सुरक्षित हुनेछ, र उसलाई आतङ्कित पार्ने कोही हुनेछैन । 28 ए मेरो दास याकूब, तँ नडरा, यो परमप्रभुको घोषणा हो— किनभने म तँसित छु, यसैले मैले तँलाई जहाँजहाँ छरपष्ट पारें त्यहाँका सबै जातिहरूको विरुद्धमा म पूर्ण विनाश ल्याउनेछु । तर म तँलाई भने पूर्ण रूपमा नष्ट गर्नेछैनँ । तापनि म तँलाई न्यायपूर्वक अनुशासन गर्नेछु, र म तँलाई निश्चय पनि दण्डविना छाड्नेछैनँ ।”