37
1 वास्तवमा, यस कुरामा मेरो हृदय काँप्छ । त्यो आफ्नो ठाउँबाट हटेको छ । 2 सुन्नुहोस्, उहाँको आवाजको चर्को सोर, उहाँको मुखबाट बाहिर निस्कने आवाजलाई सुन्नुहोस् । 3 उहाँले त्यसलाई सारा आकाशमुनि पठाउनुहुन्छ, र उहाँले पृथ्वीको कुना-कुनासम्म आफ्नो बिजुली पठाउनुहुन्छ । 4 यसपछि एउटा आवाज गर्जन्छ । उहाँ आफ्नो ऐश्वर्यको आवाजले गर्जनुहुन्छ । उहाँको आवाज सुन्दा उहाँले बिजुलीको चमकलाई रोक्नुहुन्न । 5 परमेश्वर आफ्नो सोरसहित अचम्म तरिकाले गर्जनुहुन्छ । हामीले बुझ्नै नसक्ने महान् कुराहरू उहाँले गर्नुहुन्छ । 6 किनकि उहाँले हिउँलाई भन्नुहुन्छ, 'पृथ्वीमा खस् ।' त्यसै गरी झरीलाई भन्नुहुन्छ, 'मुसलधारे झरी बन् ।' 7 उहाँले हरेक मानिसको हातलाई काम गर्नबाट रोक्नुहुन्छ, ताकि आफूले बनाउनुभएका सारा मानिसले उहाँका कामहरू देख्न सकून् । 8 तब जङ्गली जनावरहरू लुक्ने ठाउँ जान्छन्, र आ-आफ्ना खोरहरूमा बस्छन् । 9 आँधी-बेहरी दक्षिणको आफ्नो बासस्थानबाट आउँछ, र उत्तरको प्रचण्ड बतासबाट जाडो आउँछ । 10 परमेश्वरको सासद्वारा बरफ बन्छ । पानीको फैलावट धातुझैं जम्छ । 11 वास्तवमा बाक्लो बादललाई उहाँले बाफको भारी बोकाउनुहुन्छ । उहाँले बादलहरूद्वारा आफ्नो बिजुली छरपष्ट पार्नुहुन्छ । 12 उहाँले आफ्नो निर्देशनद्वारा बादलहरूलाई चारैतिर घुमाउनुहुन्छ, ताकि उहाँले तिनलाई जे आज्ञा गर्नुहुन्छ, त्यो तिनले सारा संसारको सतहको माथि गर्न सकून् । 13 उहाँले यी सबै कुरा हुन दिनुहुन्छ । कहिले-कहीं सुधारको लागि यस्तो हुन्छ, कहिले-कहीँ उहाँको जमिनको लागि, र कहिले-कहीँ करारको विश्वस्तताको कामको रूपमा हुन्छ । 14 हे अय्यूब, यो कुरा सुन्नुहोस् । रोक्नुहोस् र परमेश्वरका उदेकका कामहरूका बारेमा सोच्नुहोस् । 15 परमेश्वरले बादललाई कसरी स्थापित गर्नुहुन्छ, र बिजुलीको चमकलाई चम्काउनुहुन्छ भनी के तपाईं जान्नुहुन्छ ? 16 के बादलहरू कसरी तैरन्छन् भनी तपाईं बुझ्नुहुन्छ, जुन ज्ञानमा सिद्ध परमेश्वरको उदेकको काम हो ? 17 जब बतास नचली भूमि शान्त हुँदा दक्षिणबाट बतास चल्नथाल्छ, तब तपाईंको लुगा कसरी तातो हुन्छ भनेर तपाईं बुझ्नुहुन्छ ? 18 आकाशलाई उहाँले झैं तपाईंले फैलाउन सक्नुहुन्छ— आकाश, जुन धातु पगालेर बनाइएको ऐनाजत्तिकै कडा हुन्छ ? 19 उहाँलाई हामीले के भन्नुपर्ने हो, सो हामीलाई सिकाउनुहोस्, किनकि हाम्रो मनको अन्धकारको कारणले हामीले आफ्ना तर्कहरूलाई क्रमैसित प्रस्तुत गर्न सक्दैनौँ । 20 म उहाँसित बोल्न चाहन्छु भनेर उहाँलाई भन्नुपर्छ र ? कुनै व्यक्तिले आफूलाई निलियोस् भन्ने इच्छा गर्छ र ? 21 आकाशमा बतास चलेपछि र त्यसले त्यहाँको बादललाई उडाएर सफा गरेपछि, जब त्यहाँ सूर्य चम्किन्छ, तब मानिसहरूले त्यो हेर्न सक्दैनन् । 22 उत्तरबाट सुनौलो वैभवको आगमन हुन्छ— परमेश्वर भययोग्य महिमा हुनुहुन्छ । 23 सर्वशक्तिमान्को बारेमा, हामी उहाँलाई भेट्टाउन सक्दैनौं । शक्तिमा उहाँ महान् हुनुहुन्छ । उहाँले न्यायलाई दबाउनुहुन्न र धार्मिकता प्रसस्त पार्नुहुन्छ । 24 त्यसकारण मानिसहरू उहाँदेखि डराउँछन् । आफ्नै मनले बुद्धिमान् सम्झनेहरूलाई उहाँले ध्यान दिनुहुन्न ।”