5
जब येशूले भिडलाई देख्‍नुभयो, उहाँ डाँडामाथि जानुभयो । उहाँ तल बस्‍नुभएपछि उहाँका चेलाहरू उहाँकहाँ आए । उहाँले आफ्नो मुख खोल्नुभयो र तिनीहरूलाई यसो भन्दै सिकाउनुभयो, “धन्य आत्मामा दीन हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूकै हो । धन्य हुन् तिनीहरू जसले शोक गर्दछन्, किनभने तिनीहरूले सान्त्वना पाउनेछन् । धन्य नम्रहरू, किनभने तिनीहरूले पृथ्वीमा राज्य गर्नेछन् । धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्‍त पारिनेछन् । धन्य दयावन्तहरू, किनभने तिनीहरूले दया पाउनेछन् । धन्य आत्मामा शुद्ध हुनेहरू, किनभने तिनीहरूले परमेश्‍वरलाई देख्‍नेछन् । धन्य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्‍वरका सन्तान कहलाइनेछन् । 10 धन्य धार्मिकताका निम्ति सताइएकाहरू, किनभने स्वर्गको राज्य तिनीहरूकै हो । 11 तिमीहरू धन्यका हौ, जब मानिसहरूले तिमीहरूको अपमान गर्दछन् र तिमीहरूलाई दुःख कष्‍ट दिन्छन्, वा मेरो खातिर तिमीहरूका विरुद्धमा झुटो रूपमा सबै किसिमका दुष्‍ट कुराहरू भन्दछन् । 12 आनन्दित होओ र निकै खुसी होओ, किनकि स्वर्गमा तिमीहरूका इनाम ठुलो हुनेछ । किनभने यसरी नै तिमीहरूभन्दा अगिका अगमवक्‍ताहरूलाई मानिसहरूले सताएका थिए । 13 तिमीहरू यस पृथ्वीका नून हौ । तर यदि नूनले आफ्नो स्वाद गुमायो भने, यसलाई फेरि कसरी नुनिलो बनाउने ? यसलाई बाहिर फ्याँक्‍न र मानिसहरूका खुट्टाले कुल्चनबाहेक अरू कुनै पनि कामको निम्ति त्यो उपयोगी हुँदैन । 14 तिमीहरू यस संसारका ज्योति हौ । डाँडामाथि बसालिएको सहर कहिल्यै पनि लुक्‍न सक्दैन । 15 न त मानिसहरूले बत्ती बालेर डालोमुनि राख्दछन्, बरु त्यसलाई सामदानमाथि राख्दछन्, र घरमा भएका प्रत्येकको निम्ति त्यसले उज्यालो दिन्छ । 16 मानिसहरूका बिचमा तिमीहरूको ज्योति यसरी चम्कियोस्, कि तिनीहरूले तिमीहरूका असल कामहरूलाई देखून् र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको प्रशंसा गरून् । 17 म अगमवक्‍ताहरू वा व्यवस्थालाई नष्‍ट गर्न आएको हुँ भनी नसोच । म तिनलाई नष्‍ट गर्न होइन, तर पुरा गर्न आएको हुँ । 18 किनकि म तिमीहरूलाई साँचो रूपमा भन्दछु, कि स्वर्ग र पृथ्वी टलेर नगएसम्म र सबै कुरा पुरा नभएसम्म, व्यवस्थाको एउटै पनि कुरा वा बिन्दु बितेर जानेछैन । 19 त्यसकारण, जसले यी आज्ञाहरूका सानाभन्दा साना कुरालाई भङ्ग गर्दछ र अरूलाई पनि त्यसो गर्न सिकाउँदछ, त्यो स्वर्गको राज्यमा सबैभन्दा तुच्छ ठहरिनेछ । तर जसले यी कुराहरूलाई मान्दछ र त्यही गर्न सिकाउँदछ, ऊ स्वर्गको राज्यमा सबैभन्दा उच्‍च ठहरिनेछ । 20 किनकि म तिमीहरूलाई भन्दछु, कि तिमीहरूको धार्मिकता फरिसी र शास्‍त्रीहरूको भन्दा बढी भएन भने, तिमीहरू कुनै रीतिले परमेश्‍वरको राज्यमा प्रवेश गर्नेछैनौ । 21 प्राचीन समयमा तिनीहरूलाई यसो भनिएको तिमीहरूले सुनेका छौ, ‘हत्या नगर’ र ‘हत्या गर्नेचाहिँ इन्साफको जोखिममा पर्नेछ ।’ 22 तर म तिमीहरूलाई भन्दछु, आफ्नो भाइसँग रिसाउने जो कोही इन्साफको जोखिममा पर्नेछ । र जो कसैले आफ्नो भाइलाई ‘तँ काम नलाग्‍ने मानिस !’ भनेर भन्छ भने, त्यो न्यायालयमा उभ्याइने जोखिममा पर्नेछ । र जो कसैले ‘तँ मूर्ख !’ भन्दछ, त्यो नरकको आगोमा पर्ने जोखिममा हुनेछ । 23 त्यसकारण, यदि तिमीले वेदीमा आफ्नो भेटी चढाउँदै गर्दा तिम्रो भाइसँग तिम्रो विरुद्धमा केही कुरा छ भन्‍ने कुरा तिमीलाई याद आयो भने, 24 तिम्रो भेटी त्यही वेदीको अगाडि छोड र आफ्नो बाटो लाग । पहिले आफ्नो भाइसँग मिलाप गर, र तब आऊ र आफ्नो भेटी चढाऊ । 25 तिमीलाई दोष लगाउनेसँग अदालतको बाटोमा तिनीसँगै जाँदै गर्दा नै छिट्टै मिलाप गर, नत्रता तिमीलाई दोष लगाउनेले तिमीलाई न्यायकर्ताको हातमा सुम्पिदेला, र न्यायकर्ताले अधिकारीको हातमा सुम्पिदेलान्, र तिमीलाई झ्यालखानामा फ्याँकिदेलान् । 26 साँच्‍चै म तिमीहरूलाई भन्दछु, तिमीहरूको ऋणको एक-एक पैसा चुक्ता नगरुन्जेलसम्म तिमीहरू त्यहाँबाट कहिल्यै बाहिर आउनेछैनौ । 27 तिमीहरूले यसरी भनिएको सुनेका छौ, ‘व्यभिचार नगर ।’ 28 तर म तिमीहरूलाई भन्दछु, कि यदि कसैले एउटी स्‍त्रीलाई अभिलाषाको दृष्‍टिले हेर्दछ भने, त्यसले आफ्नो हृदयमा त्यससँग व्यभिचार गरिसकेको हुन्छ । 29 र यदि तिम्रो दाहिने आँखाको कारण तिमी ठोकर खान्छौ भने, त्यसलाई निकलिदेऊ र तिमीबाट टाढा फ्याँकिदेऊ । किनकि सम्पूर्ण शरीर नरकमा फ्याँकिनुभन्दा आफ्नो शरीरको कुनै एउटा भाग गुमाउनु नै तिम्रो लागि असल हुन्छ । 30 र यदि तिम्रो दाहिने हातको कारण तिमी ठोकर खान्छौ भने, त्यसलाई काटिदेऊ र तिमीबाट टाढा फ्याँकिदेऊ । किनकि सम्पूर्ण शरीर नरकमा जानुभन्दा आफ्नो शरीरको कुनै एउटा भाग गुमाउनु नै तिम्रो लागि असल हुन्छ । 31 यसो पनि भनिएको थियो, ‘जसले आफ्नी पत्‍नीलाई त्याग्दछ, उसले तिनलाई पारपाचुकेको प्रमाण पत्र देओस् ।’ 32 तर म तिमीहरूलाई भन्दछु, कि कामुक अनैतिकताको कारणबाहेक आफ्नी पत्‍नीलाई त्याग्‍नेले तिनलाई व्यभिचारिणी तुल्याउँदछ । र तिनको पारपाचुकेपछि तिनीसँग विवाह गर्नेले व्यभिचार गर्दछ । 33 फेरि, तिमीहरूले प्राचीन समयमा भएकाहरूलाई यसो भनिएको सुनेका छौ, ‘झुटो शपथ नखा, तर परमप्रभुमा ती शपथहरू पुरा गर् ।’ 34 तर म तिमीहरूलाई भन्दछु, कि शपथ खाँदै नखाओ, न त स्वर्गको, किनकि त्यो परमेश्‍वरको सिंहासन हो; 35 न त पृथ्वीको, किनकि त्यो उहाँको निम्ति पाउदान हो; न त यरूशलेमको, किनकि त्यो महान् राजाको सहर हो; 36 न त आफ्नो शिरको शपथ खाओ, किनकि तिमीहरूले एउटै केशलाई पनि सेतो वा कालो बनाउन सक्दैनौ । 37 तर तिमीहरूको बोली ‘होलाई हो नै’, वा ‘होइनलाई होइन नै’ भन्‍ने होस् । त्योभन्दा बढी जुनसुकै कुरा पनि दुष्‍टबाट आएको हुन्छ । 38 तिमीहरूले यसो भनिएको सुनेका छौ, ‘आँखाको सट्टामा आँखा, र दाँतको सट्टामा दाँत ।’ 39 तर म तिमीहरूलाई भन्दछु, जो दुष्‍ट छ त्यसलाई प्रतिरोध नगर । त्यसको सट्टामा, जसले तिम्रो दाहिने गालामा हिर्काउँछ, उसलाई तिम्रो अर्को गाला पनि थापिदेऊ । 40 र यदि कसैले तिमीसँग अदालतमा जान चाहन्छ, र तिम्रो दौरा लिएर जान्छ भने, त्यसलाई तिम्रो खास्टो पनि देऊ । 41 र जसले तिमीलाई एक किलोमिटर जानको लागि बाध्य गराउँछ, उसँग दुई किलोमिटर जाऊ । 42 तिमीहरूसँग माग्‍ने जो कोहीलाई देओ, र तिमीहरूसँग उधारो माग्‍न चाहनेहरूलाई इन्कार नगर । 43 तिमीहरूले यसो भनिएको सुनेका छौ, ‘आफ्नो छिमेकीलाई तिमीहरूले प्रेम गर र शत्रुलाई घृणा गर ।’ 44 तर म तिमीहरूलाई भन्दछु, तिम्रा शत्रुहरूलाई प्रेम गर र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर, “तिमीहरूलाई सराप्‍नेहरूलाई आशिष् देओ, र तिमीहरूलाई घृणा गर्नेहरूका निम्ति असल काम गर” 45 ताकि तिमीहरू स्वर्गमा हुनुहुने तिमीहरूका पिताका छोराहरू कहलाइन सक । किनकि उहाँले असल र दुष्‍ट दुवैका लागि आफ्नो घामलाई उदाउन लगाउनुहुन्छ अनि धर्मी र अधर्मी दुवैका लागि झरी पठाइदिनुहुन्छ । 46 किनकि यदि तिमीलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छौ भने तिमीहरूले के इनाम पाउँछौ र ? के कर उठाउनेहरूले पनि त्यसै गर्दैनन् र ? 47 र यदि तिमीहरूले आफ्ना दाजुभाइहरूलाई मात्र अभिवादन गर्दछौ भने, अरूहरूले भन्दा तिमीहरूले के बढी गर्‍यौ र ? के गैरयहूदीहरूले पनि त्यस्तै गर्दैनन् र ? 48 त्यसकारण, जसरी तिमीहरूका स्वर्गीय पिता सिद्ध हुनुहुन्छ, त्यसरी नै तिमीहरू पनि सिद्ध हुनुपर्दछ ।