11
1 येशूले आफ्ना बाह्र जना चेलालाई शिक्षा दिइसक्नुभएपछि तिनीहरूका सहरहरूमा सिकाउन र प्रचार गर्न उहाँ त्यहाँबाट जानुभयो । 2 अनि जब यूहन्नाले झ्यालखानाबाट ख्रीष्टले गर्नुभएका कामहरूको बारेमा सुने, उनले आफ्ना चेलाहरूद्वारा एउटा खबर पठाए, 3 र उनलाई भने, “के आउनुहुनेवाला तपाईं नै हुनुहुन्छ, वा कोही अर्कै मानिस हुनुहुन्छ जसको हामीले प्रतीक्षा गर्नुपर्छ ?” 4 येशूले उत्तर दिनुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले जे देखेका र सुनेका छौ, गएर यूहन्नालाई बताइदेओ । 5 दृष्टिविहीनहरूले दृष्टि पाइरहेका छन्; लङ्गडा मानिसहरू हिँडिरहेका छन्; कुष्ठरोगीहरू शुद्ध पारिएका छन्; बहिरा मानिसहरूले फेरि सुनिरहेका छन्; मरेका मानिसहरूलाई फेरि जीवनमा फर्काइएको छ, अनि खाँचोमा परेका मानिसहरूलाई सुसमाचार सुनाइँदै छ । 6 अनि तिनीहरू धन्यका हुन् जसले मलाई तिनीहरूका निम्ति कुनै बाधा सम्झँदैनन् ।” 7 जसै यी मानिसहरू आफ्नो बाटो लागे, येशूले भिडहरूलाई यूहन्नाको बारेमा बताउन थाल्नुभयो, “तिमीहरू उजाड-स्थानमा के हेर्न गयौ– हावाले हल्लाइरहेको निगालोलाई ? 8 तिमीहरू के हेर्न बाहिर गयौ– मलमलको लुगा लगाउने मानिसलाई ? वास्तवमा मलमलको कपडा लगाउने व्यक्ति त राजाहरूका दरबारहरूमा बस्छ । 9 तर तिमीहरू के हेर्न बाहिर गयौ– के अगमवक्तालाई ? हो, म तिमीहरूलाई भन्दछु, अगमवक्ताभन्दा पनि महान् व्यक्तिलाई । 10 उनी तिनै हुन् जसको बारेमा यस्तो लेखिएको छ, ‘हेर, म तिमीहरूको अगि-अगि मेरा समाचारवाहकलाई पठाउँदै छु, जसले म आउनुभन्दा अगाडि तिमीहरूका निम्ति बाटो तयार पार्नेछन् ।’ 11 साँच्चै म तिमीहरूलाई भन्दछु, स्त्रीबाट जन्मेकाहरूमा बप्तिस्मा-दिने यूहन्नाभन्दा महान् अरू कोही छैन । तरै पनि स्वर्गको राज्यमा सबैभन्दा कम महत्त्वको मानिस उनीभन्दा महान् हुन्छन् । 12 बप्तिस्मा-दिने यूहन्नाको दिनदेखि अहिलेसम्म स्वर्गको राज्यले तीव्रता भोगिरहेको छ, र उग्र मानिसहरूले यसलाई बलपूर्वक पक्रन्छन् । 13 किनकि यूहन्ना नआन्जेलसम्म सबै अगमवक्ता र व्यवस्थाले अगमवाणी गरिरहेका थिए । 14 अनि यदि तिमीहरूले एलियालाई पाउने इच्छा गरिरहेका छौ भने, आउनुपर्ने एलिया उनी नै हुन् । 15 जससँग सुन्ने कान छ, त्यसले सुनोस् । 16 यस पुस्तालाई म केसँग तुलना गरूँ ? यो त बजारमा खेलिरहेका बालकहरूजस्तै छ, जो बस्दछ र एक अर्कालाई बोलाउँदछ, 17 र भन्दछ, ‘हामीले तिमीहरूका निम्ति बाँसुरी बजायौँ, अनि तिमीहरू नाचेनौ । हामीले शोक गर्यौँ, र तिमीहरू रोएनौ ।’ 18 किनकि यूहन्ना रोटी खाँदै अथवा दाखमद्य पिउँदै आएनन्, अनि तिनीहरू भन्छन्, ‘त्यसलाई भूत लागेको छ ।’ 19 मानिसका पुत्र खाँदै र पिउँदै आए र तिनीहरू भन्छन्, ‘हेर, ऊ एउटा घिचुवा मान्छे हो अनि पियक्कड, कर उठाउनेहरू र पापीहरूको मित्र हो !’ तर बुद्धिचाहिँ तिनको कामहरूले सिद्ध हुन्छ ।” 20 तब येशूले ती सहरहरूलाई हकार्न थाल्नुभयो जहाँ उहाँका धेरैजसो शक्तिशाली कार्यहरू भएका थिए, किनकि तिनीहरूले पश्चात्ताप गरेका थिएनन् । 21 “धिक्कार तँलाई, ए खोराजीन ! धिक्कार तँलाई, ए बेथसेदा ! यदि तँमा गरिएका शक्तिशाली कार्यहरू टुरोस र सीदोनमा गरिएका भए, तिनीहरूले धेरै पहिले नै भाङ्ग्रा र खरानी लगाएर पश्चात्ताप गरिसकेका हुने थिए । 22 न्यायको दिनमा तिमीहरूका निम्ति भन्दा टुरोस र सीदोनको निम्ति इन्साफ अझ बढी सहनीय हुनेछ । 23 तँ कफर्नहुम, के तँ स्वर्गमा उचालिनेछस् भनी सम्झन्छस् । होइन, तँलाई तल पातालमा झारिनेछ । किनकि यदि तँमा गरिएका शक्तिशाली कार्यहरू सदोममा गरिएका भए, त्यो आजसम्म पनि रहिरहने थियो । 24 तर म तिमीहरूलाई भन्दछु, कि इन्साफको दिनमा तेरो निम्ति भन्दा सदोम मुलुकको निम्ति सजिलो हुनेछ ।” 25 त्यस बेला येशूले भन्नुभयो, “पिता, म तपाईंको प्रशंसा गर्दछु । हे स्वर्ग र पृथ्वीका मालिक, किनभने तपाईंले यी कुराहरू बुद्धिमानी र समझदारहरूबाट लुकाउनुभयो, र ती अनपढलाई प्रकट गराउनुभयो जो साना बालकहरूजस्ता छन् । 26 हो, पिता, किनकि तपाईंको दृष्टिमा यही नै मनपर्दो थियो । 27 मेरा पिताद्वारा सबै कुरा मलाई सुम्पिएको छ । अनि पिताबाहेक पुत्रलाई कसैले चिन्दैन, अनि पुत्र र पुत्रले प्रकट गराउन इच्छा गरेको व्यक्तिले बाहेक पितालाई कसैले चिन्दैन । 28 मकहाँ आओ, तिमीहरू सबै जसले परिश्रम गर्दछौ र गह्रौँ बोझले लादिएका छौ, अनि म तिमीहरूलाई विश्राम दिनेछु । 29 मेरो जुवा तिमीहरूमाथि लेओ र मबाट सिक, किनकि म नम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्नो आत्माको निम्ति विश्राम पाउनेछौ । 30 किनकि मेरो जुवा सजिलो छ र मेरो बोझ हलुको छ ।”