2
1 धिक्कार तिनीहरूलाई जसले अधर्मको योजना बनाउँछन्, जसले आफ्ना ओछ्यानमा दुष्ट काम गर्ने योजना बनाउँछन् । बिहानीको उज्यालोमा तिनीहरू यस्तो गर्छन् किनभने तिनीहरूसँग सामर्थ छ । 2 तिनीहरू भुमिहरूको लोभ गर्छन् र ती आफ्नो कब्जामा गर्छन्; तिनीहरू घरहरूको लोभ गर्छन् र ती आफ्नो बनाउँछन् । तिनीहरूले मानिस र त्यसको घर अनि त्यसको उत्तराधिकारमाथि शासन गर्छन् । 3 यसैकारण परमप्रभु यस्तो भन्नुहुन्छ, “हेर, यस वंशको विरुद्ध म सर्वनाश ल्याउँदै छु, र त्यसबाट तिमीहरू उम्कन सक्नेछैनौ । तिमीहरू घमण्डसाथ हिँड्नेछैनौ, किनकि त्यो खराब समय हुनेछ । 4 त्यस दिन मानिसहरूले तिमीहरूबारे गीत गाउनेछन्, र विलापको रुवाबासीसहित तिनीहरू विलाप गर्नेछन् । तिनीहरू यसरी गाउनेछन्, ‘हामी इस्राएलीहरू पूर्ण रूपमा नष्ट भएका छौँ । परमप्रभुले मेरा मानिसहरूको इलाका परिवर्तन गर्नुहुन्छ । उहाँले कसरी त्यो मबाट हटाउनुहुनेछ? उहाँले हाम्रो भुमि धोका दिनेहरूलाई बाँडिदिनुहुनेछ!’ ” 5 यसैकारण, परमप्रभुको समुदायमा चिट्ठा हालेर आफ्नो इलाका बाँड्नको निम्ति धनी मानिसहरूसँग उत्तराधिकारीहरू हुनेछैनन् । 6 “अगमवाणी नगर” भनेर तिनीहरू भन्नेछन् । “तिनीहरूले यस्ता कुराहरूको अगमवाणी गर्नुहुँदैन; तिरस्कार हामीमाथि आउनेछैन ।” 7 याकूबको घराना, के साँच्चै यस्तो भनिनुपर्छ, “के परमप्रभुको आत्मा रिसाउनुभएको छ? के यी उहाँका कामहरू हुन्?” के सिधा हिँड्ने मानिसको निम्ति मेरो वचनले असल काम गर्दैन र? 8 अहिले मेरा मानिसहरू शत्रुझैँ जागेका छन् । युद्धबाट फर्केका सैनिकहरू तिनीहरूले सुरक्षित ठानेको ठाउँमा गएझैँ शङ्का नगरी नजिकबाट जानेहरूबाट तिमीहरू तिनीहरूको वस्त्र अर्थात् लबेदा खोस्छौ । 9 तिमीहरूले मेरा मानिसहरूका स्त्रीहरूलाई तिनीहरूका सुखद घरहरूबाट निकाल्दछौ; तिनीहरूका साना छोराछोरीहरूबाट मेरो आशिषलाई तिमीहरू सदाको निम्ति खोस्दछौ । 10 उठ र जाओ, किनभने त्यसको अशुद्धताको कारण यो ठाउँ तिमीहरू बस्न मिल्ने ठाउँ होइन । त्यो पूर्ण रूपमा सर्वनाश भएको छ । 11 यदि कोही झुट र असत्यताको आत्मामा तिमीहरूकहाँ आएर “म मद्य र कडा मदिराको विषयमा तिम्रो निम्ति अगमवाणी बोल्नेछु,” भनेर भन्दछ भने त्यसका मानिसहरूको निम्ति त्यो अगमवक्ता हुनेछ । 12 याकूब, म निश्चय नै तिमीहरू सबैलाई एकसाथ भेला गराउनेछु । म निश्चय नै इस्राएलका बाँकी रहेकाहरूलाई एकसाथ भेला गराउनेछु । गोठको भेडाझैँ, तिनीहरूको खर्कको बिचमा भएको बगालझैँ म तिनीहरूलाई एकसाथ ल्याउनेछु । मानिसहरूको ठुलो सङ्ख्याको कारण त्यहाँ ठुलो आवाज हुनेछ । 13 तिनीहरूका निम्ति मार्ग खुला गरिदिनेचाहिँ तिनीहरूभन्दा अगि जानेछ । तिनीहरू ढोका भत्काएर बाहिर जान्छन्, र तिनीहरूका राजा तिनीहरूभन्दा अगाडि जानेछन् । तिनीहरू सबैभन्दा अगाडि परमप्रभु हुनुहुनेछ ।