15
बिहान सबेरै मुख्य पुजारीहरूसँगै धर्म-गुरुहरू, शास्‍त्रीहरू र सम्पूर्ण यहूदी परिषद्‍सँगै भेला भए । अनि तिनीहरूले येशूलाई बाँधे र लिएर गए । तिनीहरूले उहाँलाई पिलातसकहाँ सुम्पिदिए । पिलातसले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ ?” उहाँले जवाफ दिनुभयो, “तपाईं नै त्यसो भन्‍नुहुन्छ ।” मुख्य पुजारीहरूले येशूको विरुद्धमा धेरै अभियोग पेस गरिरहेका थिए । पिलातसले फेरि पनि येशूलाई सोधे, “किन तिमी जवाफ दिँदैनौ ? हेर, तिनीहरूले तिम्रो विरुद्धमा कति धेरै अभियोग ल्याइरहेका छन् ?” तर येशूले पिलातसलाई कुनै जवाफ दिनुभएन, र जसले गर्दा तिनी छक्‍क परे । अब चाडको समयमा पिलातसले सामान्यतया तिनीहरूले अनुरोध गरेअनुसार एउटा कैदीलाई मुक्‍त गर्थे । विद्रोहमा विद्रोहीहरूसँगै सहभागी भएका हत्याराहरूमध्ये त्यहाँ झ्यालखानामा बारब्बा नाउँ गरेका एक जना मानिस कैदमा थिए । भिड पिलातसकहाँ आयो र तिनले विगतमा गरेझैँ तिनीहरूका निम्ति गर्नलाई अनुरोध गर्न थाले । पिलातसले तिनीहरूलाई जवाफ दिए र भने, “के तिमीहरू मैले यहूदीहरूका राजालाई मुक्‍त गरेको चाहन्छौ ?” 10 किनभने डाहको कारणले गर्दा नै मुख्य पुजारीहरूले येशूलाई तिनको हातमा सुम्पेका हुन् भन्‍ने तिनलाई थाहा थियो । 11 तर मुख्य पुजारीहरूले भिडलाई बरु बारब्बालाई नै मुक्‍त गरिनुपर्छ भनी कराउन उक्साएका थिए । 12 पिलातसले तिनीहरूलाई फेरि जवाफ दिए र भने, “त्यसो भए यहूदीहरूका राजालाई म के गरूँ त ?” 13 तिनीहरू फेरि चिच्‍च्याए, “त्यसलाई क्रुसमा टाँग्‍नुहोस् !” 14 पिलातसले तिनीहरूलाई भने, “त्यसले के गल्ती गरेको छ र ?” तर तिनीहरू झन् ठुलो स्वरमा चिच्‍च्याए, “त्यसलाई क्रुसमा टाँग्‍नुहोस् ।” 15 पिलातसले भिडलाई सन्तुष्‍ट पार्न चाहे । त्यसैले, तिनले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए । तिनले येशूलाई कोर्रा लगाए र क्रुसमा टाँग्‍नको निम्ति सुम्पिदिए । 16 सिपाहीहरूले उहाँलाई (ब्यारेकभित्रको) चोकमा लगे र तिनीहरूले सिपाहीहरूको सम्पूर्ण जत्थालाई सँगै बोलाए । 17 तिनीहरूले येशूलाई बैजनी रङको पोशाक पहिराइदिए र तिनीहरूले काँडाको मुकुट बनाएर उहाँको टाउकोमा लगाइदिए । 18 तिनीहरूले “हे यहूदीहरूका राजा” भनी उहाँलाई सलाम गर्न थाले । 19 तिनीहरूले निगालोले उहाँको टाउकोमा हिर्काए र उहाँलाई थुके । तिनीहरूले सम्मानमा उहाँको सामु घुँडा टेके । 20 जब तिनीहरूले उहाँको गिल्ला गरे, तिनीहरूले बैजनी रङको पोशाक फुकालिदिए र उहाँको आफ्नै पोशाक लगाइदिए र उहाँलाई क्रुसमा टाँग्‍न लिएर गए । 21 तिनीहरूले गाउँबाट आइरहेका (अलेक्जेन्डर र रुफसका बुबा) कुरेनीका सिमोन नाउँ गरेका एउटा बटुवालाई सेवा गर्न दबाब दिए; तिनीहरूले तिनलाई येशूको क्रुस बोक्‍न कर लगाए । 22 सिपाहीहरूले येशूलाई गलगथा भनिने ठाउँमा ल्याए ( जसको अर्थ हुन्छः “खप्परको ठाउँ”) । 23 तिनीहरूले उहाँलाई सिर्का मिसाएको दाखमद्य पिउन दिए, तर उहाँले त्यो पिउनुभएन । 24 तिनीहरूले उहाँलाई क्रुसमा टाँगे र प्रत्येक सिपाहीले उहाँको पोशाकको कुनचाहिँ टुक्रा लिने भनी एक-आपसमा चिट्ठा हाले र भाग लगाए । 25 तिनीहरूले उहाँलाई क्रुसमा टाँग्‍दा तेस्रो पहर भएको थियो । 26 तिनीहरूले उहाँको विरुद्धमा यस्‍तो दोष-पत्र लेखे, “यहूदीहरूका राजा ।” 27 तिनीहरूले उहाँसँग दुई जना डाँकुलाई क्रुसमा टाँगेः एउटालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि । 28 [टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा २८ पदलाई हटाइएको छ (लूका २२:३ लाई हेर्नुहोस्) पद २८] अनि “उहाँ अधर्मीहरूसँग गनिनुभयो” भन्‍ने धर्मशास्‍त्रको वचन पुरा भयो । 29 त्यहाँबाट जानेहरूले आफ्नो टाउको हल्लाउँदै उहाँको अपमान गरे, “आहा ! तिमीले त मन्दिरलाई नष्‍ट गरेर तिन दिनभित्र नै निर्माण गर्थ्यौ त, 30 आफैँलाई बचाऊ र क्रुसबाट ओर्लेर आऊ !” 31 त्यसै गरी, मुख्य पुजारीहरूले शास्‍त्रीहरूसँग मिलेर एक-आपसमा यसो भन्‍दै उहाँको गिल्‍ला गरे, “त्यसले अरूहरूलाई त बचायो, तर आफैँलाई बचाउन सक्दैन । 32 इस्राएलका राजा ख्रीष्‍ट क्रुसबाट तल ओर्लेर आओस्, ताकि हामी देखेर विश्‍वास गर्न सकौँ ।” अनि उहाँसँगै क्रुसमा टाँगिएकाहरूले पनि उहाँको गिल्‍ला गरे । 33 छैटौँ घडीदेखि नवौँ घडीसम्म सारा जगत्‌मा अन्धकार छायो । 34 नवौँ घडीमा येशू ठुलो स्वरमा यसो भन्दै कराउनुभयो, “इलोई, इलोई, लामा सबख‍थनी ?” जसको अर्थ, “मेरा परमेश्‍वर, मेरा परमेश्‍वर, मलाई किन त्याग्‍नुभएको ?” भन्‍ने हुन्छ । 35 त्यहाँ उभिएकाहरूमध्ये केहीले यो सुनेर भने, “हेर, त्यसले एलियालाई बोलाउँदै छ ।” 36 कोही दौडेर गए एउटा स्पन्जमा सिर्का हाले, र यसलाई निगालोको लट्ठीमा राखे, अनि उहाँलाई दिए । त्यो मानिसले भने, “उसलाई तल झर्न एलिया आउँछन् कि हेरौँ है त ।” 37 तब येशू ठुलो सोरले कराउनुभयो र प्राण त्याग्‍नुभयो । 38 मन्दिरको पर्दा माथिदेखि तलसम्म दुई भागमा चिरियो । 39 जब त्यहाँ उभिएर येशू यसरी मर्नुभएको देख्‍ने कप्‍तानले यो देखे, तिनले भने, “साँच्‍चै, यी मानिस परमेश्‍वरका पुत्र नै थिए ।” 40 त्यहाँ टाढाबाटै हेर्ने स्‍त्रीहरू पनि थिए । तिनीहरूमध्ये मरियम मग्दलिनी, मरियम (सानो याकूब र योसेफकी आमा), र सलोमी थिए । 41 उहाँ गालीलमा हुनुहुँदा तिनीहरूले उहाँलाई पछ्याए र उहाँको सेवा गरे । अरू धेरै स्‍त्री पनि उहाँसँग यरूशलेम आएका थिए । 42 जब साँझ पर्‍यो, यो तयारी गर्ने दिन अर्थात् शबाथ-दिनको अगिल्लो दिन भएको हुनाले 43 अरिमाथियाका योसेफ त्यहाँ आए । तिनी परिषद्का आदरणीय व्‍यक्‍ति थिए, जसले परमेश्‍वरको राज्यको प्रतीक्षा गरिरहेका थिए । तिनी साहसका साथ पिलातसकहाँ गए, अनि येशूको लास मागे । 44 येशू पहिले नै मरिसक्‍नुभएको थियो भनी सुन्दा पिलातस छक्‍क परे; तिनले कप्‍तानलाई बोलाए र येशू मर्नुभएको थियो वा थिएन भनी सोधे । 45 जब तिनले येशू मरिसक्‍नुभएको कुरा कप्‍तानबाट थाहा पाए, तिनले येशूको शरीर योसेफलाई दिए । 46 योसेफले मलमलको कपडा ल्याएका थिए । तिनले उहाँलाई क्रुसबाट तल झारे; उहाँलाई मलमलको कपडाले बेह्रे, अनि चट्टान काटेर बनाइएको चिहानमा उहाँलाई राखे । तब तिनले चिहानको मुखमा एउटा ढुङ्गालाई गुडाएर छोपे । 47 मरियम मग्दलिनी र योसेफकी आमा मरियमले येशूलाई कहाँ गाडिएको थियो भन्‍ने देखेका थिए ।