42
जसरी हरिणले खोलाको पानीको तृष्णा गर्छ, त्यसरी नै, हे परमेश्‍वर, म तपाईंको तृष्णा गर्छु । परमेश्‍वरको, जीवित परमेश्‍वरको तृष्णा म गर्छु, म कहिले आऊँ र परमेश्‍वरको सामु देखा परू? दिनरात मेरा आँशु मेरो खानेकुरा भएका छन्, मेरा शत्रुहरूले मलाई सधैं यसो भन्‍छन्, “तेरो परमेश्‍वर खोइ कहाँ छन्?” मेरो प्राण खन्याउँदा यी कुराहरू मनमा म याद गर्छुः कसरी म भिडसँग गएँ, अनि उत्सव मनाउने धेरै जनाको भिडसँग आनन्द र प्रशंसाको सोरसँगै परमेश्‍वरको मन्‍दिरमा तिनीहरूलाई डोर्‍याएँ । ए मेरो प्राण, तँ किन निराश हुन्छस्? मभित्रै तँ किन उदाश हुन्छस्? परमेश्‍वरमा आसा राख्, किनकि म फेरि पनि उहाँको प्रशंसा गर्नेछु जो मेरो उद्धार हुनुहुन्छ । हे मेरो परमेश्‍वर, मेरो प्राण मभित्रै निराश भएको छ, यसकारण यर्दनको भूमिबाट, हेर्मोनका तिन टाकुराबाट र मिसारको डाँडाबाट तपाईंलाई सम्झन्छु । तपाईंका झरनाहरूका हल्‍लामा सागरले सागरलाई बोलाउँछ । तपाईंका सबै छाल र तरङ्गहरू ममाथि गएका छन् । तापनि परमप्रभुले दिनको समयमा आफ्‍नो करारको विश्‍वस्‍ततालाई आज्ञा गर्नुहुनेछ । उहाँको गीत, मेरो जीवनको परमेश्‍वरमा गरेको प्रार्थना रातमा मसँग हुनेछ । परमेश्‍वर, मेरा चट्टानलाई म भन्‍नेछु, “तपाईंले मलाई किन बिर्सनुभएको छ? शत्रुले थिचेको कारणले मैले किन शोक गर्नुपर्ने?” 10 मेरा हाडहरूमा तरवार परेझैं, मेरा शत्रुहरूले मलाई हप्‍काउँछन्, तिनीहरू सधैं मलाई यसो भन्छन्, “तेरो परमेश्‍वर खोइ कहाँ छन्?” 11 ए मेरो प्राण, तँ किन निराश हुन्छस्? मभित्रै तँ किन उदाश हुन्छस्? परमेश्‍वरमा आसा राख्, किनकि म फेरि पनि उहाँको प्रशंसा गर्नेछु जो मेरो उद्धार र मेरो परमेश्‍वर हुनुहुन्छ ।