जकरियाको पुस्तक
1
1 दाराको शासनकालको दोस्रो वर्षको आठौँ महिनामा, अगमवक्ता इद्दोका नाति बेरेक्याहका छोरा जकरियाकहाँ परमप्रभुको यस्तो वचन आय। 2 “परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूसँग अत्यन्तै रिसाउनुभएको थियो! 3 तिनीहरूलाई भन्, ‘सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: मतिरफर्क!- परमप्रभु घोषणा गर्नुहुन्छ- र म तिमीहरूतिर फर्कनेछु, सेनाहरूका परमप्रभु भन्नुहुन्छ । 4 तिमीहरूका पिता-पुर्खाहरूझैँ नहोओ जसलाई अगमवक्ताहरूले यस्तो भनेका थिए, “सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: तिमीहरूका खराब मार्गहरू र दुष्ट कामहरूबाट फर्क!” तर तिनीहरूले सुनेनन् र मलाई ध्यान दिएनन् - परमप्रभु घोषणा गर्नुहुन्छ ।’ ” 5 तिमीहरूका पिता-पुर्खाहरू कहाँ छन्? अगमवक्ताहरू कहाँ छन्, के तिनीहरूयहाँ सधैँ रहन्छन्? 6 तर मैले मेरा दास अगमवक्ताहरूलाई आज्ञा गरेका मेरा वचन र निर्णयहरूले के तिमीहरूका पिता-पुर्खाहरूलाई उछिनेकाछैनन् र? यसैकारण तिनीहरूले पाश्चाताप गरे र भने, ‘हाम्रा चाल र कामहरूअनुसारसुहाउँदो सेनाहरूका परमप्रभुले हामीसँग जस्तो व्यवहार गर्ने योजना गर्नुभयो, उहाँले हामीसित त्यस्तै गर्नुभएको छ ।’ ” 7 दाराको शासनकालको दोस्रो वर्षको एघारौँ महिनाको चौबिसौँ दिन, अर्थात् शेबातको महिनामा, अगमवक्ता इद्दोका नाति बेरेक्याहका छोरा जकरियाकहाँ परमप्रभुको यस्तो वचन आयो, 8 “मैले रातमा यस्तो देखेँ! एउटा मानिस रातो घोडामा सवार थिए, र तिनी बेँसीको असारे-फूलका रूखहरूका माझमा थिए, र उनको पछाडि रातो, रातो-खैरो, र सेतो घोडाहरू थिए ।” 9 मैले भनेँ, “परमप्रभु, यी कुराहरू के हुन्?” अनि मसँग बोलिरहेका स्वर्गदूतले मलाई भने, “यी कुराहरू के हुन्, म तिमीलाई देखाउनेछु ।” 10 ती असारे-फूलका रूखहरूबिचमा उभिरहेका मानिसले जवाफ दिए, “यी तिनै हुन् जसलाई परमप्रभुले पृथ्वीभरि घुमफिर गर्नको निम्ति पठाउनुभएको छ ।” 11 असारे-फूलका रूखहरूकाबिचमा बसेका परमप्रभुका स्वर्गदूतलाई तिनीहरूले यस्तो जवाफ दिए, “हामी सारा पृथ्वीभरि धुमिरहेका छौँ । हेर्नुहोस्, सारा पृथ्वी शान्त र आराम गरिरहेको छ ।” 12 अनि परमप्रभुका स्वर्गदूतले यस्तो जवाफ दिए, सेनाहरूका परमप्रभु, यरूशलेम र यहूदाका सहरहरूप्रति तपाईंले कहिलेसम्म दया देखाउनुहुनेछैन, जससँग तपाईं सत्तरी वर्षदेखि रिसाउनुभएको छ?” 13 मसँग कुरा गरेका स्वर्गदूतसँग परमप्रभुले असल शब्दहरू, सान्त्वनाका शब्दहरूमा बोल्नुभयो । 14 यसैकारण मसँग कुरा गरेका स्वर्गदूतले मलाई भने, “उच्च सोरमा भन, ‘सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: म यरूशलेम र सियोनको निम्ति अत्यन्तै डाही भएको छु! 15 सुख-चैनमा बसिरहेका जातिहरूसँग म धेरै रिसाएको छु । जब म तिनीहरूसँग थोरै मात्र रिसाएको थिएँ, तिनीहरूले विपत्तिलाई झन् खराब बनाइदिए । 16 यसकारण सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: म यरूशलेममा दयासाथ फर्केको छु । मेरो भवन त्यसभित्र निर्माण हुनेछ र यरूशलेममाथि नाप्ने डोरी तन्काइनेछ, सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ ।’ 17 उच्च सोरमा फेरि यस्तो भन, ‘सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: मेरा सहरहरू फेरि असल कुराहरूले भरिएर पोखिनेछ, र परमप्रभुले फेरि सियोनलाई सान्त्वना दिनुहुनेछ र उहाँले फेरी यरूशलेमलाई चुन्नुहुनेछ ।’ ” 18 अनि मैले आफ्ना आँखाहरू माथि उठाएँ र चारओटा सीङ देखें! 19 मसँग बोलिरहेका स्वर्गदूतसँग म बोलें, “यी के हुन्?” उनले जवाफ दिए, “यी ती सीङहरू हुन् जसले यहूदा, इस्राएल, र यरूशलेमलाई तितर-बितर पारे ।” 20 अनि परमप्रभुले मलाई चार जना कारीगरहरु देखाउनुभयो । 21 मैले भनें, “यी मानिसहरू के गर्न आएका हुन्?” उनले जवाफ दिए, “यी ती सीङहरू हुन् जसले यहूदालाई तितर-बितर पारे ताकि कोही मानिसले पनि आफ्नो शिर उठाउन नसकोस् । तर ती कारीगरहरु तिनीहरूलाई त्रासित गर्न, र यहूदालाई तितर-बितर गर्नको निम्ति त्यसको विरुद्ध सीङ उठाएका जातिहरूका सीङहरूलाई पराजित गर्न आएका हुन् ।”