उत्पत्ति. 35. परमेश्‍वरले याकूबलाई भन्‍नुभयो, “उठेर बेथेलमा जा, र त्यहीँ बस् । तँ तेरा दाजु एसावबाट भाग्दा तँकहाँ देखा पर्नुहुने परमेश्‍वरको निम्ति एउटा वेदी बना ।” त्यसपछि याकूबले तिनको घराना र तिनीसित भएका सबैलाई भने, “तिमीहरूका बिचमा भएका विदेशी देवताहरू हटाइदेओ, र आफू-आफूलाई शुद्ध पारेर लुगाहरू फेर । अनि हामी यहाँबाट प्रस्थान गरी माथि बेथेलमा जाऔँ । त्यहाँ म परमेश्‍वरको लागि एउटा वेदी बनाउनेछु जसले मेरो दुःखमा मलाई जवाफ दिनुभयो र म जहाँ गए पनि उहाँ मसित हुनुभएको छ ।” त्यसैले तिनीहरूले आ-आफ्ना हातमा भएका सबै विदेशी देवता र तिनीहरूका कानमा लगाएका कुण्डलहरू याकूबलाई दिए । याकूबले तिनलाई शकेमको नजिकै रहेको फलाँटको रुखमुनि गाडे । तिनीहरू यात्रा गर्दै अगाडि बढ्दा परमेश्‍वरले तिनीहरूका वरिपरिका सहरहरूमा त्रास फैलाइदिनुभयो । त्यसैले ती मानिसहरूले याकूबका छोराहरूलाई लखेटेनन् । याकूब तिनीसित भएका सबै मानिससित लूज अर्थात् बेथेलमा आइपुगे जुन कनान देशमा पर्छ । त्यहाँ तिनले एउटा वेदी बनाए, र त्यसको नाउँ एल-बेथेल राखे किनकि तिनी आफ्ना दाजुबाट भाग्दा त्यहाँ परमेश्‍वरले आफैलाई तिनीकहाँ प्रकट गराउनुभएको थियो । त्यहाँ रिबेकाकी धाई दबोरा मरी । त्यसलाई बेथेलनेरको फलाँटको रुखमुनि गाडियो । त्यसैले यसको नाउँ अल्लोन-बकुत राखियो । याकूब पद्दन-आरामबाट आउँदा परमेश्‍वर फेरि तिनीकहाँ प्रकट हुनुभई तिनलाई आशिष् दिनुभयो । परमेश्‍वरले तिनलाई भन्‍नुभयो, “तेरो नाउँ याकूब हो, तर अबदेखि तेरो नाउँ याकूब भनिनेछैन । तेरो नाउँ इस्राएल हुनेछ ।” त्यसैले परमेश्‍वरले तिनको नाउँ इस्राएल राखिदिनुभयो । परमेश्‍वरले तिनलाई भन्‍नुभयो, “म सर्वशक्तिमान् परमेश्‍वर हुँ । फल्दै-फुल्दै वृद्धि हुँदै जा । तँबाट एउटा जाति र जाति-जातिहरूको समूह उदय हुनेछ, अनि तेरा सन्तानहरूका बिचमा राजाहरू हुनेछन् । मैले अब्राहाम र इसहाकलाई दिएको देश म तँलाई दिनेछु । तँपछि उदय हुने तेरा सन्तानहरूलाई पनि म यो देश दिनेछु ।” तिनीसित कुराकानी गर्नुभएको ठाउँबाट परमेश्‍वर जानुभयो । परमेश्‍वर तिनीसित कुराकानी गर्नुभएको ठाउँमा याकूबले ढुङ्गाको एउटा वेदी खडा गरे । तिनले त्यसमाथि अर्घ-बलि चढाएर तेल खन्याए । परमेश्‍वर तिनीसित बोल्नुभएको त्यस ठाउँलाई याकूबले बेथेल नाउँ दिए । तिनीहरू बेथेलबाट प्रस्थान गरे । तिनीहरू एप्रात आइपुग्‍न अलिकति दुरी बाँकी छँदा नै राहेललाई सुत्केरी व्यथा लाग्यो । उनलाई ज्यादै पीडा भएको थियो । उनी अत्यधिक पीडामा हुँदा सुँडेनीले उनलाई भनी, “भयभीत नहुनुहोस् किनकि अब तपाईंले अर्को छोरो जन्माउनुहुनेछ ।” उनको प्राण जाने बेलामा उनी चिच्‍च्याउँदै गर्दा उनले त्यसको नाउँ बेन-ओनी राखिन्, तर त्यसका पिताले त्यसलाई बेन्यामीन नाउँ दिए । राहेल मरिन् र एप्राता (अर्थात् बेथलेहेम) जाने बाटोमा उनलाई गाडियो । याकूबले उनको चिहानमा एउटा खामो खडा गरे । आजको दिनसम्म यो राहेलको चिहानको चिन्हको रूपमा खडा छ । इस्राएल अगि बढे र तिनले बगालको धरहराभन्दा पर आफ्नो पाल टाँगे । इस्राएल त्यस देशमा बसिरहँदा रूबेन आफ्ना पिताकी भित्रिनी बिल्हासित सुते, र इस्राएलले यस विषयमा सुने । याकूबका बार्‍ह जना छोरा थिए । याकूबले लेआबाट जन्माएका छोराहरू यिनै थिएः जेठो रूबेन, त्यसपछि शिमियोन, लेवी, यहूदा, इस्साखार र जबूलून । राहेलतर्फका छोराहरू यिनै थिएः योसेफ र बेन्यामीन । राहेलकी कमारी बिल्हातर्फका छोराहरू यिनै थिएः दान र नप्‍ताली । लेआकी कमारी जिल्पातर्फका छोराहरू यिनै थिएः गाद र आशेर । यी सबै याकूबले पद्दन-आराममा जन्माएका छोराहरू थिए । याकूब किर्यत-अर्बा (जुन हेब्रोन हो) मा आफ्ना पिता इसहाककहाँ आए जहाँ अब्राहाम र इसहाक बसोबास गरेका थिए । इसहाक एक सय असी वर्षसम्म बाँचे । इसहाकले आफ्नो अन्तिम सास फेरे र तिनको मृत्यु भयो अनि तिनी आफ्ना पुर्खाहरूसित मिल्न गए । तिनी पुरा बुढेसकालसम्म बाँचेका थिए । तिनका छोराहरू एसाव र याकूबले तिनलाई गाडे ।