प्रस्थान. 25. परमप्रभुले मोशालाई भन्‍नुभयो, “राजीखुसीबाट प्रेरित भई हरेक व्यक्तिले मेरो लागि भेटी ल्याओस् भनी इस्राएलीहरूलाई भन् । तैँले यी भेटीहरू मेरो लागि ग्रहण गर्नुपर्छ । तैँले तिनीहरूबाट प्राप्‍त गर्नुपर्ने भेटीहरू यिनै हुन्: सुन, चाँदी, र काँसा निलो, बैजनी र रातो ऊन, मलमलको कपडा, बाख्राको भुत्ला रातो रङले रङ्गाएका भेडाका छाला र सीलका छालाहरू, बबुल काठ, पवित्रस्थानका बत्तीहरूका निम्ति तेल, अभिषेक गर्नका लागि मसला र सुगन्धित धूप, एपोद र छाती-पातामा जड्नका लागि आनिक्स र अन्य बहुमूल्य रत्‍नहरू । म तिनीहरूका बिचमा बस्‍न सकूँ भनेर तिनीहरूले मेरो निम्ति एउटा पवित्रस्थान बनाऊन् । मैले तँलाई देखाउने नमुनामुताबिक तैँले पवित्र वासस्थान र यसका सबै सामानहरू बनाउनू । तिनीहरूले बबुल काठको सन्दुक बनाऊन् । यसको लमाइ साँढे दुई हात, चौडाइ साँढे एक हात र उचाइ साँढे एक हातको होस् । यसको निम्ति सुनका चारवटा मुन्द्रा झुण्ड्याउनू । एकापट्टि दुईवटा र अर्कोपट्टि दुईवटा गरी तिनलाई सन्दुकको चारवटा खुट्टामा लगाउनू । तैँले बबुल काठका डन्डाहरू बनाएर तिनलाई सुनले मोहोर्नू । सन्दुकलाई बोक्‍नलाई त्यसको दुवैपट्टिका किनारामा भएका मुन्द्राहरूमा ती डन्डाहरू घुसाउनू । डन्डाहरू सन्दुकका मुन्द्राहरूमा रहनुपर्छ । तिनलाई त्यसबाट झिकिनुहुँदैन । तैँले सन्दुकभित्र मैले तँलाई दिने करारका विधिविधानहरू राख्‍नू । तैँले निखुर सुनको एउटा प्रायश्‍चित्तको ढकनी बनाउनू । यसको लमाइ साँढे दुई हात र चौडाइ साँढे एक हातको होस् । तैँले प्रायश्‍चित्तको ढकनीको दुई किनारामा राख्‍न पिटिएको सुनका दुईवटा करूब बनाउनू । प्रायश्‍चित्तको ढकनीको एउटा किनारामा एउटा करूब र अर्को किनारामा अर्को करूब राख्‍नू । ती दुईवटा करूब र प्रायश्‍चित्तको ढकनी एउटै सुनको टुक्राबाट बनाइयोस् । करूबहरूले आ-आफ्ना पखेटा मास्तिर फैलाऊन् र प्रायश्‍चित्तको ढकनीलाई छाया पारून् । करूबहरू एक-अर्काको आमनेसामने होऊन् र तिनीहरूले प्रायश्‍चित्तको ढकनीतर्फ हेरून् । तैँले प्रायश्‍चित्तको ढकनीलाई सन्दुकको माथिपट्टि राख्‍नू, र मैले तँलाई दिने करारका विधिविधानहरू सन्दुकभित्र राख्‍नू । यही सन्दुकमा म तँसित भेट्नेछु । प्रायश्‍चित्तको ढकनीमाथिबाट म तँसित बोल्नेछु । गवाहीको सन्दुकको माथि भएका दुईवटा करूबको बिचबाट मैले इस्राएलीहरूलाई दिने सबै आज्ञा तँलाई दिनेछु । तैँले बबुल काठको एउटा टेबुल बनाउनू । यसको लमाइ दुई हात, चौडाइ एक हात र उचाइ साँढे एक हातको होस् । तैँले यसलाई निखुर सुनले मोहर्नू र यसको चारैतिर सुनको बिट लगाउनू । त्यसको चारैतिर चार अङ्गुल चौडा भएको घेरो बनाउनू र घेरोको वरिपरि सुनको बिट लगाउनू । टेबुलको लागि सुनका चारवटा मुन्द्रा बनाउनू र ती मुन्द्राहरूलाई चार खुट्टा भएका चारवटै कुनामा लगाउनू । टेबुललाई बोक्‍नलाई डन्डाहरूका लागि ठाउँ हुन ती मुन्द्राहरू घेरोको छेउमा होऊन् । टेबुललाई तीसँगै बोक्‍न सकियोस् भनी बबुल काठबाट डन्डाहरू बनाउनू र तिनलाई सुनले मोहर्नू अर्घबलिहरू चढाउन प्रयोग हुने थाल, चम्चा, करुवा र कचौराहरू बनाउनू । तैँले ती सबै निखुर सुनको बनाउनू । तैँले टेबुलमा मेरो सामु नियमित रूपमा उपस्थितिको रोटी राख्‍नू । पिटेको निखुर सुनबाट एउटा सामदान बनाउनू । आधार र बिँडसहित यसलाई बनाउनू । यसका कचौराहरू, कोपिला र फुलहरू सबै नै एउटै टुक्राबाट बनाइनुपर्छ । यसको एकापट्टिबाट तिनवटा हाँगा र अर्कोपट्टिबाट तिनवटा हाँगा गरी जम्मा छवटा हाँगा बाहिरतिर निस्केका होऊन् । पहिलो हाँगामा हाडेबदामका फुलजस्ता तिनवटा कचौरासाथै कोपिला र फुल होऊन् । त्यस्तै अर्को हाँगामा पनि हाडेबदामका फुलजस्ता तिनवटा कचौरासाथै कोपिला र फुल होऊन् । सामदानबाट बाहिर निस्कने सबै छवटा हाँगामा उस्तै होऊन् । सामदान र बिचको बिँडमा हाडेबदामका फुलजस्ता चारवटा कचौरा आ-आफ्नै कोपिला र फूलसमेत होऊन् । एउटै टुक्राको रूपमा पहिलो जोडी हाँगामुनि एउटा कोपिला र एउटै टुक्राको रूपमा दोस्रो जोडी हाँगामुनि एउटा कोपिला होस् । त्यसै गरी, एउटै टुक्राको रूपमा तेस्रो जोडी हाँगामुनि एउटा कोपिला होस् । सामदानबाट बाहिर निस्केका सबै छवटै हाँगा उस्तै होस् । तिनीहरूका कोपिला र हाँगाहरू सबै पिटेको निखुर सुनको एउटा टुक्राबाट बनेका होऊन् । तैँले सामदान र यसका सातवटा बत्ती बनाउनू, र यसबाट उज्यालो दिन ती बत्तीहरू बालिराख्‍नू । चिम्टा र तिनीहरूका मोसोदानीहरू निखुर सुनबाट बनाइनुपर्छ । सामदान र यसका सबै पात्र बनाउन करिब चौँतिस किलोग्राम निखुर सुनको प्रयोग गर्नू । तँलाई पर्वतमा देखाएको नमुनाबमोजिम ती बनाउन नभुल्नू ।