लेवीहरू. 18. परमप्रभुले मोशालाई भन्‍नुभयो, “इस्राएलका मानिसहरूलाई यसो भन्, ‘म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ । तिमीहरू पहिले बसोबास गर्ने मिश्रका मानिसहरूले त्यहाँ जे गर्थे ती तिमीहरूले नगर्नू । मैले तिमीहरूलाई लैजान लागेको देश अर्थात् कनानका मानिसहरूले त्यहाँ जे गर्थे ती तिमीहरूले नगर्नू । तिमीहरूले तिनीहरूका रीतिरिवाजहरू नपछ्‍याउनू । मेरो व्यवस्था तिमीहरूले पालन गर्नू, र मेरा आज्ञाहरू मान्‍नू, र तीअनुसार तिमीहरू हिँड्नू, किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ । यसैकारण तिमीहरूले मेरा आज्ञाहरू मान्‍नू र मेरा व्यवस्था पालन गर्नू । ती पालन गर्ने मानिस तीद्वारा नै बाँच्‍दछ । म परमप्रभु हुँ । आफ्नो नजिकको नातेदारसँग सुतेर कसैले पनि आफ्नो नग्‍नता नदेखाओस् । म परमप्रभु हुँ । आफ्नी आमासँग सुतेर आफ्ना बुबाको अनादार नगर्नू । त्यो तेरी आमा हो! तैँले त्यसलाई अनादर नगर् । आफ्ना बुबाकी कुनै पत्‍नीसँग पनि नसुत् । त्यस्तो काम गरेर आफ्ना बुबाको अनादर नगर् । आफ्नी कुनै दिदी-बहिनीसँग नसुत्, चाहे त्यो तेरो बुबाकी छोरी वा आमाकी छोरी होस्, चाहे त्यो तेरो घरमा वा घरबाट टाढा हुर्काइएकी होस् । आफ्नी दिदी-बहिनीसँग नसुत् । आफ्नो छोरा वा छोरीको छोरीसँग नसुत् । त्यो तेरो निम्ति शर्मको कुरा हो । आफ्ना बुबाकी पत्‍नीकी छोरीसँग नसुत्, जो तेरो बुबाबाट जन्मेकी थिई । त्यो तेरो बहिनी हो, र तँ त्योसँग नसुत् । आफ्ना बुबाकी दिदी-बहिनीसँग नसुत् । त्यो तेरो बुबाको नजिकको नातेदार हो । आफ्नी आमाकी दिदी-बहिनीसँग नसुत् । त्यो तेरी आमाको नजिकको नातेदार हो । आफ्ना बुबाको दाजु वा भाइकी पत्‍नीसँग सुतेर त्यसको अनादर नगर् । त्यस्तो कामको निम्ति त्यसको नजिक नजा, त्यो तेरी काकी हो । आफ्नी बुहारीसँग नसुत् । त्यो तेरो छोरोकी पत्‍नी हो, त्योसँग नसुत् । आफ्नो दाजु वा भाइकी पत्‍नीसँग नसुत् । यस्तो काम गरेर त्यसको अनादर नगर् । कुनै स्‍त्री र त्यसकी छोरी दुवैसँग नसुत्, वा त्यसको छोराकी छोरीसँग वा त्यसकी छोरीकी छोरीसँग नसुत् । तिनीहरू त्यस स्‍त्रीका नजिकका नातेदार हुन् र तिनीहरूसँग सुत्‍नु दुष्‍टता हो । आफ्नी पत्‍नीकी दिदी वा बहिनीलाई विवाह नगर् र आफ्नो पहिलेकी पत्‍नी जीवितै हुँदासम्‍म त्यसकी दिदी वा बहिनीसँग नसुत् । कुनै स्‍त्रीको रजस्‍वलाको समयमा त्योसँग सहवास नगर् । त्यो समयमा त्यो अशुद्ध हुन्छे । आफ्नो छिमेकीकी पत्‍नीसँग नसुत् र यसरी आफैलाई अशुद्ध नबना । आफ्ना छोराछोरीहरूलाई मोलोखको निम्ति बलि गर्नलाई तिनीहरूलाई आगोमा नहाल्नू, किनभने तिमीहरूले यसो गरेर आफ्ना परमेश्‍वरको नाउँलाई अपवित्र नबनाउनू । म परमप्रभु हुँ । स्‍त्रीसँगझैँ गरी अरू पुरुषहरूसँग नसुत्‍नू । यो दुष्‍टता हो । कुनै पशुसँग सहवास गरेर आफैलाई अशुद्ध नबनाउनू । कुनै पनि स्‍त्री कुनै पशुसँग नसुत्‍नू । यो अस्वाभाविक दुराचरण हो । यस्ता कामहरू गरेर आफैलाई अपवित्र नबनाउनू, किनभने जुन जातिहरूलाई मैले तिमीहरूका सामुबाट निकाल्दै छु ती यी सबै कारणले अपवित्र भएका छन् । तिनीहरूको भूमि अपवित्र भयो, र यसैकारण मैले तिनीहरूका पापको दण्ड दिएँ, र त्यस भूमिले त्यसका बासिन्दाहरूलाई उकेलेर निकालिदियो । यसैकारण, तिमीहरूले मेरा आज्ञाहरू र विधिहरू पालन गर्नू, र इस्राएलका स्वदेशी वा तिमीहरूका बिचमा बसोबास गर्ने परदेशी जोकोहीले कुनै पनि यस्ता घृणास्‍पद काम नगर्नू । तिमीहरूभन्दा अगि यस भूमिमा बसोबास गर्ने मानिसहरूले यस्तै दुष्‍ट काम गरे, र यसैकारण सारा देश नै अपवित्र भयो । तिमीहरूका अपवित्रताका कारण तिमीहरूभन्दा अगिका मानिसहरूलाई झैँ त्यस भूमिले तिमीहरूलाई पनि उकेलेर बाहिर ननिकालोस् । तिमीहरूमध्ये जो कोहीले यस्ता घृणास्पद कामहरू गर्दछन् भने, तिनीहरू आफ्ना मानिसहरूबाट बहिष्‍कृत हुने छन् । तिमीहरूभन्दा अगि यहाँ अभ्यास हुने गरेका कुनै यस्ता घृणास्‍पद रीतिरिवाजहरूलाई तिमीहरूले अभ्यास नगरेर मेरो आज्ञा पालन गर्नू अनि यसरी तिमीहरूले यस्ता कामले आफैलाई अपवित्र बनाउने छैनौ । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ’ ।”