गन्ती. 10. परमप्रभुले मोशालाई भन्‍नुभयो, “चाँदीका दुईवटा तुरही बना । चाँदीलाई पिटेर तिनीहरूलाई बना । तैँले तुरहीलाई समुदायलाई भेला हुन बोलाउन र तिनीहरूका छाउनी सार्न समुदायलाई बोलाउन प्रयोग गर्नुपर्छ । भेट हुने पालको प्रवेश-द्वारमा तेरो अघि भेला हुन समुदायलाई बोलाउन पुजारीले तुरहीहरू फुक्‍नुपर्छ । यदि पुजारीले एउटा मात्र तुरही फुक्यो भने, अगुवाहरू अर्थात् इस्राएलका कुलका प्रमुखहरू तँकहाँ आउनुपर्छ । तैँले ठुलो आवाजमा सङ्केत दिँदा पूर्वतिरका छाउनीहरूले आफ्नो यात्रा सुरु गर्नुपर्छ । दोस्रो पटक ठुलो आवाजमा सङ्केत गर्दा दक्षिणतिरका छाउनीहरूले तिनीहरूको यात्रा सुरु गर्नुपर्छ । तिनीहरूका यात्राको निम्ति तिनीहरूले ठुलो आवाजमा सङ्केत दिनुपर्छ । समुदाय सँगै भेला हुँदा तुरही फुक, तर ठुलो आवाजमा होइन । हारूनका छोराहरू अर्थात् पुजारीहरूले तुरही फुक्‍नुपर्छ । यो तिमीहरूलाई मानिसहरूका पुस्तौँ-पुस्तासम्म सदैवको निम्ति नियम हुनेछ । तिमीहरूलाई अत्याचार गर्ने शत्रुको विरुद्ध आफ्नो मुलुकमा तिमीहरू युद्ध गर्न जाँदा, तिमीहरूले तुरहीसँगै जनाउँ-ध्वनि दिनुपर्छ । म परमप्रभु तिमीहरूका परमेश्‍वरले सम्झने छु र तिनीहरूलाई तिमीहरूका शत्रुहरूबाट बचाउने छु । साथै नियमित चाड र महिनाको सुरुवात दुवै किसिमको उत्सवको समयमा, तिमीहरूले आफ्नो होमबलि र मेलबलि चढाउँदा तुरही बजाउनुपर्छ । यिनीहरूले म परमप्रभु तिमीहरूका परमेश्‍वरलाई याद दिलाउने छन् । म तिमीहरूका परमप्रभु परमेश्‍वर हुँ ।” दोस्रो वर्षको दोस्रो महिनाको बिसौँ दिनमा करारका आदेशहरूका पवित्र वासस्थानबाट हट्यो । त्यसपछि इस्राएलका मानिसहरू सीनैको मरुभूमिबाट आफ्नो यात्रामा लागे । बादल पारानको मरुभूमिमा रोकियो । मोशाद्वारा दिइएको परमप्रभुको आज्ञा पालन गरेर तिनीहरूले पहिलो यात्रा गरे । यहूदाका सन्तानहरूका झन्डामुनिका छाउनीले आ-आफ्ना फौज लिएर पहिलो लश्करमा हिँडे । यहूदाको फौजको नेतृत्व अम्मीनादाबका छोरा नहशोनले गरे । इस्साखारका सन्तानहरूका फौजको नेतृत्व सूआरका छोरा नतनेलले गरे । जबूलूनका सन्तानहरूका फौजको नेतृत्व हेलोनका छोरा एलीआबले गरे । पवित्र वासस्थानको देखरेख गर्ने गेर्शोन र मरारीका सन्तानहरूले पवित्र वासस्थान उठाए र आफ्नो यात्रामा हिँडे । फेरि, रूबेनको छाउनीको झन्डामुनिका फौजले यात्रा सुरु गरे । रूबेनको फौजको नेतृत्व शदेऊरका छोरा एलीसूरले गरे । शिमोयोनका सन्तानहरूका फौजको नेतृत्व सूरीशद्दैका छोरा शलूमीएलले गरे । गादका सन्तानहरूका फौजको नेतृत्व दूएलका छोरा एल्यासापले गरे । कहातीहरू हिँडे । तिनीहरूले पवित्र स्थानका पवित्र सामानहरू बोके । अरूहरूले कहातीहरू अर्को छाउनीमा नआइपुग्दै पवित्र वासस्थान खडा गर्थे । त्यसपछि एफ्राइमका सन्तानहरूका झन्डामुनिका फौज हिँडे । एफ्राइमको फौजको नेतृत्व अम्मीहूदका छोरा एलीशामा गरे । मनश्‍शेका सन्तानहरूका फौजको नेतृत्व पदासूरका छोरा गमलिएलले गरे । बेन्यामीनका सन्तानहरूका कुलको फौजको नेतृत्व गिदेओनीका छोरा अबीदानले गरे । दानको सन्तानहरूका झन्डामुनि छाउनी लगाएका फौज अन्तिममा हिँडे । दानको फौजको नेतृत्व अम्मीशद्दैका छोरा अहीएजेरले गरे । आशेरका सन्तानहरूका कुलको फौजको नेतृत्व ओक्रानका छोरा पगीएलले गरे । नप्‍तालीका सन्तानहरूका कुलको फौजको नेतृत्व एनानका छोरा अहीराले गरे । इस्राएलका मानिसहरूका फौजले यसरी आफ्नो यात्रा सुरु गर्‍यो । मोशाले मिद्यानी रूएलका छोरा होबाबसँग कुरा गरे । रूएल मोशाका ससुरा थिए । मोशाले होबाबसँग कुरा गरे र भने, “हामी परमप्रभुले भन्‍नुभएको ठाउँतिर यात्रा गरिरहेका छौँ । परमप्रभुले भन्‍नुभयो, 'म यो तिमीहरूलाई दिने छु ।' हामीसँगै आउनुहोस् र हामीले तपाईंलाई असल गर्ने छौँ । परमप्रभुले इस्राएलको निम्ति असल गर्ने प्रतिज्ञा गर्नुभएको छ ।” तर होबाबले मोशालाई भने, “म तिमीहरूसँग जाँदिनँ । म मेरो आफ्नै मुलुकतिर र मेरा आफ्नै मानिसहरूकहाँ जाने छु ।” त्यसपछि मोशाले जवाफ दिए, “कृपया, हामीलाई नछोड्नुहोस् । मरुभूमिमा कसरी छाउनी लगाउने भनी तपाईंलाई थाहा छ । तपाईंले हाम्रो हेरचाह गर्नुपर्छ । यदि तपाईं हामीसँग जानुभयो भने परमप्रभुले हामीलाई असल गर्नुभएझैँ हामी तपाईंको निम्ति असल नै गर्नेछौँ ।” तिनीहरूले परमप्रभुको पर्वतबाट तिन दिनसम्म यात्रा गरे । तिनीहरूको निम्ति विश्राम गर्ने ठाउँ पत्ता लगाउन परमप्रभुको करारको सन्दूक तिन दिनसम्म तिनीहरूको अघि-अघि लगियो । तिनीहरूले यात्रा गर्दा परमप्रभुको बादल दिनमा तिनीहरूसँग थियो । जब-जब सन्दूक उठाइन्थ्यो मोशाले यसो भन्थे, “हे परमप्रभु, उठ्नुहोस् । तपाईंका शत्रुहरूलाई तितरबितर पार्नुहोस् । तपाईंलाई घृणा गर्नेहरूलाई तपाईंदेखि भाग्‍न लगाउनुहोस् ।” जब-जब सन्दूक रोकिन्थ्यो, मोशाले यसो भन्थे, “हे परमप्रभु, हजारौँ हजार इस्राएलतिर फर्कनुहोस् ।”