गन्ती. 33. मोशा र हारूनको नेतृत्वमा इस्राएलका मानिसहरूले तिनीहरूका हातहतियारसहितका समूहले मिश्रको भूमि छोडेपछि तिनीहरूको यात्रा विवरण यही हो । परमप्रभुले आज्ञा गर्नुभएबमोजिम तिनीहरू कहाँबाट कहाँ गए भनी मोशाले लेखे । तिनीहरूका यात्राहरूको नालीबेली यिनै थिए । तिनीहरूले पहिलो महिनाको पन्ध्रौँ दिनमा रामसेसबाट यात्रा गरे । निस्तार-चाडपछिको बिहान इस्राएलका मानिसहरूले मिश्रीहरूको सामु नै खुलमखुला मिश्र छोडे । मिश्रीहरूले तिनीहरूका जेठा छोराहरूको दफन गरिरहँदा यो भएको थियो, जसलाई परमप्रभुले मार्नुभएको थियो, किनभने उहाँले तिनीहरूका देवतालाई पनि दण्ड दिनुभएको थियो । इस्राएलका मानिसहरू रामसेसबाट निस्के र सुक्‍कोतमा छाउनी लगाए । तिनीहरू सुक्‍कोतबाट हिँडे र मरुभूमिको छेउमा भएको एथाममा छाउनी हाले । तिनीहरू एथामबाट हिँडे र पी-हहीरोततिर फर्के, जुन बाल-सेफोनको पारिपट्टि पर्छ, जहाँ तिनीहरूले मोग्दोलको पारिपट्टि छाउनी हाले । त्यसपछि तिनीहरू पी-हहीरोतबाट हिँडे र समुद्रको बिचबाट हुँदै मरुभूमितिर लागे । तिनीहरूले एथामको मरुभूमिमा तिन दिनसम्म यात्रा गरे र मारामा छाउनी हाले । तिनीहरू माराबाट हिँडे र एलीममा आइपुगे । एलीममा बाह्रवटा पानीका मूल र सत्तरीवटा खजूरका रुख थिए । तिनीहरूले त्यहीँ नै छाउनी हाले । तिनीहरू एलीमबाट हिँडे र लाल समुद्रको किनारमा छाउनी हाले । तिनीहरू लाल समुद्रबाट हिँडे र सीनको मरुभूमिमा छाउनी हाले । तिनीहरू सीनको मरुभूमिबाट हिँडे र दोफकामा छाउनी हाले । तिनीहरू दोफकाबाट हिँडे र आलूशमा छाउनी हाले । तिनीहरू आलूशबाट हिँडे र रपीदीममा छाउनी हाले, जहाँ मानिसहरूलाई पिउनलाई पानी थिएन । तिनीहरू रपीदीमबाट हिँडे र सीनैको मरुभूमिमा छाउनी हाले । तिनीहरू सीनैको मरुभूमिबाट हिँडे र किब्रोथ-हत्तावामा छाउनी हाले । तिनीहरू किब्रोथ-हत्तावाबाट हिँडे र हसेरोतमा छाउनी हाले । तिनीहरू हसेरोतबाट हिँडे र रित्मामा छाउनी हाले । तिनीहरू रित्माबाट हिँडे र रिम्मोन-फारेसमा छाउनी हाले । तिनीहरू रिम्मोन-फारेसबाट हिँडे र लिब्‍नामा छाउनी हाले । तिनीहरू लिब्‍नाबाट हिँडे र रिस्सामा छाउनी हाले । तिनीहरू रिस्साबाट हिँडे र केहेलातामा छाउनी हाले । तिनीहरू केहेलाताबाट हिँडे र शेपेर पर्वतमा छाउनी हाले । तिनीहरू शेपेर पर्वतबाट हिँडे र हरादामा छाउनी हाले । तिनीहरू हरादाबाट हिँडे र मखेलोतमा छाउनी हाले । तिनीहरू मखेलोपबाट हिँडे र तहतमा छाउनी हाले । तिनीहरू तहतबाट हिँडे र तेरहमा छाउनी हाले । तिनीहरू तेरहबाट हिँडे र मित्कामा छाउनी हाले । तिनीहरू मित्काबाट हिँडे र हशमोनामा छाउनी हाले । तिनीहरू हशमोनाबाट हिँडे र मोसेरोतमा छाउनी हाले । तिनीहरू मोसेरोतबाट हिँडे र बने-याकानमा छाउनी हाले । तिनीहरू बने-याकानबाट हिँडे र होर-हगिदगादमा छाउनी हाले । तिनीहरू होर-हगिदगादबाट हिँडे र योतबातामा छाउनी हाले । तिनीहरू योतबाताबाट हिँडे र अब्रोनामा छाउनी हाले । तिनीहरू अब्रोनाबाट हिँडे र एस्योन‍-गेबेरमा छाउनी हाले । तिनीहरू एस्योन‍-गेबेरबाट हिँडे र कादेशमा भएको सीनको मरुभूमिमा छाउनी हाले । तिनीहरू कादेशबाट हिँडे र एदोमको सिमानामा पर्ने होर पर्वतमा छाउनी हाले । हारून परमप्रभुको आज्ञामा होर पर्वतमाथि गए र इस्राएलका मानिसहरू मिश्रबाट आएका चालिसौँ वर्षको पाँचौँ महिनाको पहिलो दिनमा त्यहाँ तिनको मृत्यु भयो । हारूनको मृत्यु हुँदा तिनी १२३ वर्षका थिए । कनानको भूमिको दक्षिणी मरुभूमिमा बस्‍ने अरादका कनानी राजाले इस्राएलका मानिसहरू आइरहेका छन् भन्‍ने सुने । तिनीहरू होर पर्वतबाट हिँडे र सलमोनामा छाउनी हाले । तिनीहरू सलमोनाबाट हिँडे र पूनोनमा छाउनी हाले । तिनीहरू पूनोनबाट हिँडे र ओबोतमा छाउनी हाले । तिनीहरू ओबोतबाट हिँडे र मोआबको सिमानामा पर्ने इयेअबारीममा छाउनी हाले । तिनीहरू इयेअबारीमबाट हिँडे र दीबोनगादमा छाउनी हाले । तिनीहरू दीबोनगादबाट हिँडे र अल्मोन-दिब्लातैममा छाउनी हाले । तिनीहरू अल्मोन-दिब्लातैमबाट हिँडे र नेबोको अगिल्तिर अबारीम पर्वतमा छाउनी हाले । तिनीहरू अबारीमबाट हिँडे र यरीहोमा यर्दन नजिकैको मोआबको मैदानमा छाउनी हाले । तिनीहरूले यर्दनको किनारमा मोआबको मैदानमा बेथ-यशीमोतदेखि हाबिल-शित्तिमसम्मै छाउनी हाले । परमप्रभु यरीहोमा यर्दन नदीको किनारमा मोआबको मैदानमा मोशासँग बोल्नुभयो, “इस्राएलका मानिसहरूसँग कुरा गर् र तिनीहरूलाई भन्, 'जब तिमीहरू यर्दन तरेर कनानको मुलुकमा जान्छौ, तिमीहरूले तिमीहरूभन्दा अघि बस्‍ने सबै बासिन्दालाई धपाउनुपर्छ । तिमीहरूले तिनीहरूका सबै कुँदिएका प्रतिमाहरू नष्‍ट गर्नुपर्छ । तिमीहरूले तिनीहरूका ढलौटे मूर्तिहरू र तिनीहरूका उच्‍च स्थानहरू नष्‍ट पार्नुपर्छ । तिमीहरूले भूमिलाई कब्जा गर्नुपर्छ र यसमा बसोबास गर्नुपर्छ, किनभने मैले तिमीहरूलाई त्यो भूमि तिमीहरूको स्वामित्वमा दिएको छु । तिमीहरूले भूमिलाई चिट्ठा हालेर कुल-कुलअनुसार अंश बाँड्नुपर्छ । ठुलो कुललाई भूमिको ठुलो अंश दिनुपर्छ र सानो कुललाई भूमिको सानै अंश दिनुपर्छ । कुल-कुलअनुसारको चिट्ठा जहाँ पर्छ, त्यो त्यही कुलको हुने छ । तिमीहरूले भूमिलाई आ-आफ्नो कुलअनुसार बाँड्ने छौ तर यदि तिमीहरूले तिमीहरूभन्दा अघिका बासिन्दाहरूलाई धपाएनौ भने, तिमीहरूले बस्‍न दिएका मानिसहरू तिमीहरूका आँखाका कसिङ्गरहरू र जीउमा बिझेको काँढाहरूजस्ता हुने छन् । तिनीहरूले तिमीहरू बसोबास गर्ने भूमिलाई कठिन बनाउने छन् । त्यसपछि मैले ती मानिसहरूलाई जे गर्ने अभिप्राय राखेको छु सो म तिमीहरूलाई पनि गर्ने छु ।