२ शमूएल. 5. त्यसपछि सबै इस्राएल हेब्रोनमा दाऊदकहाँ आए र भने, “हे्र्नुहोस्, हामी तपाईंकै मासु र हड्‍डी हौं । केही समयअगि जब शाऊल हामीमाथि राजा थिए, तब तपाईंले नै इस्राएलको फौजको नेतृत्व गर्नुभयो । परमप्रभुले तपाईंलाई भन्‍नुभयो, 'तैंले नै मेरा इस्राएल इस्राएलको गोठालो गर्ने छस् र तँ नै इस्राएलमाथि शासक हुने छस्' ।” त्यसैले इस्राएलका सबै धर्म-गुरुहरू राजाकहाँ हेब्रोनमा आए र राजा दाऊदले परमप्रभुको सामु तिनीहरूसँग करार गरे । तिनीहरूले दाऊदलाई इस्राएलमाथि राजा अभिषेक गरे । दाऊदले राज्‍य गर्न सुरु गर्दा तिनी तिस वर्षका थिए र तिनले चालिस वर्षसम्म राज्‍य गरे । तिनले हेब्रोनमा सात वर्ष छ महिना राज्‍य गरे र सबै इस्राएल र यहूदामा तेत्तीस वर्ष राज्‍य गरे । राजा र तिनका मानिसहरू त्यस ठाउँका बासिन्दाहरू अर्थात् यरूशलेमका यबूसीहरूका विरुद्ध लड्न गए । तिनीहरूले दाऊदलाई भने, “तपाईं यहाँ आउनुभयो भने, अन्धा र लङ्गडाले नै फर्काइदिने छन्। दाऊद यहाँ आउन सक्दैन ।” तापनि, दाऊदले सियोनका किल्ला कब्जा गरे, जुन अहिले दाऊदको सहर हो । त्यति नै बेला दाऊदले भने, “यबूसीहरूलाई आक्रमण गर्नेहरूले 'लङ्गडा र अन्धाकहाँ’ पुग्‍न पानीको नालीबाट जाने छ जो दाऊदका शत्रुहरू हुन् ।” यसैले मानिसहरूले भन्छन्, “'अन्धा र लङ्गडाहरू' दरबारमा प्रवेश गर्नुहुँदैन ।” त्यसैले दाऊद त्यो किल्लामा बसे र यसलाई दाऊदको सहर भनियो । तिनले यसलाई गाराहरूदेखि भित्रसम्म नै किल्लाबन्दी गरे । दाऊद धेरै शक्तिशाली भए किनभने परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर तिनीसँग हुनुहुन्थ्यो । त्यसपछि टुरोसका राजा हीरामले दाऊदकहाँ दूतहरू पठाए अनि देवदारुका काठहरू, डकर्मीहरू र सिकर्मीहरूलाई पनि पठाए । तिनीहरूले दाऊदको निम्ति महल बनाए । परमप्रभुले आफूलाई इस्राएलमाथि राजाको रूपमा स्थापित गर्नुभएको थियो भनी दाऊदले जान्‍दथे र उहाँले आफ्‍ना मानिस इस्राएलको खातिर तिनको राज्यलाई उच्‍च पार्नुभएको थियो । दाऊदले हेब्रोन छोडे र यरूशलेममा आए, त्‍यसपछि तिनले यरूशलेममा अरू धेरै उपपत्‍नीहरू र पत्‍नीहरू ल्याए र तिनका अरू धेरै छोराहरू र छोरीहरू जन्मे । यरूशलेममा जन्मेका तिनका छोराछोरीका नाउँ यीनै थिएः शम्मूअ, शोबाब, नातान, सोलोमन, यिभार, इलीशूअ, नेपेग, यापी, एलीशामा, एल्यादा र एलीपेलेत । अब दाऊदलाई इस्राएलको राजा अभिषेक गरिएको छ भनेर जब पलिश्‍तीहरूले सुने, तब तिनीहरू सबै तिनलाई खोज्‍न गए । तर दाऊदले यो सुने र तल किल्लामा गए । पलिश्‍तीहरू आएका थिए र रपाईको बेसीमा छरिएका थिए । त्यसपछि दाऊदले परमप्रभुसँग सहायता मागे । तिनले भने, “के म पलिश्‍तीहरूलाई आक्रमण गरूँ? के तपाईंले मलाई तिनीहरूमाथि विजय दिनुहुन्छ?” पमरप्रभुले दाऊदलाई भन्‍नुभयो, “आक्रमण गर्, किनभने म निश्‍चय नै तँलाई पलिश्‍तीहरूमाथि विजय गराउने छु ।” त्यसैले दाऊदले बाल‍-पराजीमा आक्रमण गरे र त्‍यहाँ तिनले तिनीहरूलाई पराजित गरे । तिनले भने, “परमप्रभु विष्फोट हुने पानीको बाढीझैं मेरो सामु मेरा शत्रुहरूका विरुद्ध विष्फोट हुनुभएको छ ।” त्यसैले त्यस ठाउँको नाउँ बाल-पराजीम भयो । पलिश्‍तीहरूले त्यहाँ आफ्‍ना मूर्तीहरू छोडिराखे अनि दाऊद र तिनका मानिसहरूले ती लिएर गए । त्‍यसपछि पलिश्‍तीहरू फेरि माथि आए र फेरि एक पटक रपाईो बेसीमा फैलिएर बसे । त्यसैले दाऊदले फेरि पनि परमप्रभुसँग सहायता मागे र पमरप्रभुले तिनलाई भन्‍नुभयो, “तैंले तिनीहरूलाई अडागिबाट आक्रमण गर्नु हुँदैन, तर तिनीहरूको पछिल्तिरबाट फन्को मारेर लहरे-पिपलको जङ्गलभएर तिनीहरूमाथि जाइलाग । जब तैंले लहरे-पिपलको टुप्पाहरूमा हावा लाग्दा आउने परेडको आवाज सुन्‍छस्, तब फौजका साथमा आक्रमण गर् । यसो गर् किनभने तैंले पलिश्‍तीहरू आक्रमण गर्नुअगि परमप्रभु जानुभएको हुनुहुने छ ।” त्यसैले परमप्रभुले आज्ञा गर्नुभएझैं दाऊदले गरे । तिनले पलिश्‍तीहरूलाई गिबिनदेखि गेजेरतिर जाने बाटोसम्म नै मारे ।