१ राजाहरू. 4. राजा सोलोमन सारा इस्राएलमाथि राजा भए । तिनका अधिकारीहरू यी नै हुन्: सादोकका छोरा अजर्याह पुजारी थिए । शीशाका छोराहरू एलीहोरेफ र अहियाह सचिवहरू थिए । अहीलूदका छोरा यहोशापात लेखापाल थिए । यहोयादाका छोरा बनायाह सेनापति थिए । सादोक र पुजारी अबियाथार हरू थिए । नातानका छोरा अजर्याह जिल्ला-जिल्लाका अधिकृतहरूका जिम्मावाल थिए । नातानका छोरा जाबूद पुजारी र राजाका मित्र थिए । अहीशार राजमहलका जिम्मावाल थिए । अब्दाका छोरा अदोनिराम बेगार काम गर्नेहरूका जिम्मावाल थिए । सारा इस्राएलमा सोलोमनका बाह्र जना जिल्ला-जिल्लाका जिल्लापाल थिए जसले राजा तथा राज घरानालाई भोजन जुटाउने काम गर्थे । हरेक मानिसले वर्षमा एक-एक महिनाको भोजन जुटाउनुपर्थ्यो । तिनीहरूका नाउँ यी नै हुन्: एफ्राइमको पहाडी देशमा बेन-हूर; माकाज, शाल्बीम, बेथ-शेमेश र एलोन-बेथहानानमा बेन-देकेर; अरूब्बोतमा बेन-हेसेद (तिनको जिम्मामा सोको र हेपेरका सबै क्षेत्र थिए); सारा नापोत डोरमा बेन-अबीनादाब (सोलोमनकी छोरी ताफातलाई तिनले विवाह गरेका थिए); तानाक र मगिद्दोसाथै यिजरेलमुनिको सार्तानको छेउमा भएका सारा बेथ-शान, हाबिल-महोला र योक्मामसम्ममा अहीलूदका छोरा बाना; रामोत-गिलादमा बेन-गेबेर (तिनको जिम्मामा गिलादमा भएका मनश्शेका छोरा याईरका सहरहरू र बाशानमा भएको अर्गोबको क्षेत्रसाथै मूल ढोकामा काँसाका बार भएका पर्खालले घेरिएका साठीवटा ठुला-ठुला सहर पनि थिए); महनोममा इद्दोका छोरा अहीनादाब; नप्तालीमा अहीमास (तिनले सोलोमनकी छोरी बासमतलाई विवाह गरेका थिए); आशेर र आलोतमा हूशैका छोरा बाना; इस्साखारमा पारूहका छोरा यहोशापात; बेन्यामीनमा एलाका छोरा शिमी; गिलादमा ऊरीका छोरा गेबेर (एमोरीहरूका राजा सीहोन र बाशानका राजा ओगको देश), र तिनी त्यस जिल्लाका एक मात्र जिल्लापाल थिए । यहूदा र इस्राएलका मानिसहरू समुद्र छेउका बालुवाजत्तिकै असङ्ख्य थिए । तिनीहरू खाँदै र पिउँदै थिए अनि खुसी थिए । सोलोमनले यूफ्रेटिस नदीदेखि पलिश्तिहरूको देश र मिश्रको सिमानासम्म राज्य गर्थे । सोलोमनको जीवनभर तिनीहरूले तिनीकहाँ कर ल्याए र तिनको सेवा गरे । सोलोमनको एक दिनको खाना पचहत्तर मुरी मसिनो पिठो, एक सय पचास मुरी अन्न, पोसिएका दसवटा गाई-गोरु, खर्कमा पालेका बिसवटा गाई-गोरु, एक सयवटा भेडा-बाख्रा अनि मृग, हरिण, बराँठ र कुखुराहरू थिए । किनकि तिनले युफ्रेटिस नदीको पश्चिमपट्टिका सबै देश अर्थात् तिफसादेखि गाजासम्मा राज्य गर्थे, र तिनको वरिपरि भएकाहरू सबैसित तिनी शान्तिमा बस्थे । यहूदा र इस्राएल सुरक्षित थिए । सोलोमनको जीवनभर दानदेखि बेर्शेबासम्म हरेक मानिस आ-आफ्नै दाख र नेभाराको मुनि सुरक्षितसाथ बस्थ्यो । सोलोमनका रथहरूका लागि घोडाहरूका चालिस हजारवटा तबेला, र बाह्र हजार घोडचढी थिए । जिल्ला-जिल्लाका अधिकृतहरूले प्रत्येक महिना पालैपालो राजा सोलोमन र तिनको टेबुलमा बसेर खानेहरू सबैका निम्ति भोजन जुटाउँथे । तिनीहरूलाई कुनै कुराको कमी थिएन । रथका घोडाहरू र अन्य घोडाहरूका लागि पनि तिनीहरूले तोकिएका आ-आफ्नै जौ र पराल ल्याउने गर्थे । परमेश्वरले सोलोमनलाई महान् बुद्धि र समुद्रीतटका बालुवाजस्तै फराकिलो समझशक्ति दिनुभयो । पूर्वका सबै मानिस र मिश्रका सबै बुद्धिभन्दा सोलोमनको बुद्धि श्रेष्ठ थियो । तिनी सबै मानिसभन्दा बुद्धिमानी थिए । तिनी एज्री एतान, माहोलका छोराहरू हेमान, कलकोल र दर्दाभन्दा बुद्धिमानी थिए अनि तिनको ख्याति वरिपरिका सबै जातिहरूमा फैलिएको थियो । तिनले तिन हजारवटा हितोपदेशको रचना गरे, र तिनका गीतहरूको सङ्ख्या एक हजार पाँचवटा थियो । तिनले बोट बिरुवाहरूको विषयमा लेबनानको देवदारुदेखि लिएर भित्तामा उम्रने हिसपसम्मका बिरुवाहरूको वर्णन गरे । तिनले पशुपक्षी, घस्रने प्राणीहरू र माछाको बारेमा पनि वर्णन गरे । सोलोमनको बुद्धि सुन्न सबै जातिका मानिसहरू आउने गर्थे । तिनको बुद्धि सुनेका पृथ्वीका सबै राजाका प्रतिनिधिहरू तिनीकहाँ आउने गर्थे ।