१ राजाहरू. 7. आफ्नो राजदरबार बनाउन सोलोमनलाई तेह्र वर्ष लाग्यो । तिनले लेबनानको वन भनिने राजदरबार बनाए । यसको लमाइ एक सय हात, चौडाइ पचास हात र उचाइ तिस हात थियो । देवदारुका स्तम्भहरूका चारवटा लहर र तीमाथि देवदारुकै सत्तरीहरूले राजदरबार बनाइयो । स्तम्भहरूमा अडिएका ती सत्तीहरूमाथि देवदारुले छत बनाइयो । प्रत्येक लहरमा पन्ध्रवटा गरी जम्माजम्मी पैँतिसवटा सत्तरी थिए । सत्तरीहरू तिनवटा लहरमा राखिएका थिए, र हरेक झ्याल एक-अर्कामा आमनेसामने थिए । सबै ढोकाका आयतकार चौकोसहरू थिए अनि झ्याल तिन-तिनवटा पङ्क्तिमा एक अर्कातिर फर्केका थिए । त्यहाँ पचास हात लामो र तिस हात चौडा स्तम्भहरूले घेरिएको एउटा चोक थियो । त्यसको सामु एउटा दलान थियो, र त्यसको सामु खम्बाहरू थिए अनि एउटा बाहिर निस्केको छत थियो । सोलोमनले सिंहासन कक्ष अर्थात् न्याय गर्नको लागि न्यायको कक्ष बनाए । यसको भुइँ देवदारुको काठले ढाकिएको थियो । सोलोमनले आफू बस्ने महल त्यसको पछिल्तिर न्यायको भवनजस्तै बनाए । आफूले विवाह गरेर ल्याएका फारोकी छोरीको निम्ति पनि तिनले योजस्तै घर बनाए । यी भवनहरू ठिक तरिकाले मापन गरी करौँतीले काटी चारैतिर चिल्लो बनाइएका महङ्गा पत्थरहरूबाट सिङ्गारिएका थिए । यी ढुङ्गाहरू जगदेखि छतसम्म र विशाल चोकको बाहिरपट्टि पनि प्रयोग गरिएका थिए । जगमा आठ र दस हातका लामा-लामा महङ्गा ढुङ्गाहरू हालिएका थिए । तिनको माथि ठिक किसिमले काटिएका महङ्गा ढुङ्गाहरू र देवदारुका सत्तरीहरू थिए । परमप्रभुको मन्दिरको चोक र त्यसको दलानजस्तै विशाल चोकका चारैपट्टि काटेर मिलाइएका ढुङ्गाका तिनवटा पङ्क्ति थिए, र देवदारुका सत्तरीहरूको एउटा पङ्क्ति थियो । सोलोमन राजाले हुरामलाई टुरोसबाट बोलाउन लगाए । हुराम नप्ताली कुलकी एउटी विधवाका छोरा थिए । तिनका पिता टुरोसवासी काँसाका कारिगर थिए । हुराम बुद्धि र समझशक्तिले भरिएका र काँसाका महान् काम गर्ने सिप भएका मानिस थिए । सोलोमन राजाको लागि काँसाको काम गर्न तिनी राजाकहाँ आए । हुरामले दुईवटा काँसाका स्तम्भको रचना गरे । प्रत्येक स्तम्भको उचाइ अठार हात र परिधि बाह्र हातको थियो । तिनले स्तम्भहरूमाथि शिर राख्न ढालेका काँसाका दुईवटा स्तम्भ-शिर पनि बनाए । हरेक स्तम्भ-शिरको उचाइ पाँच हात थियो । हरेक स्तम्भमाथि भएको स्तम्भ-शिरको निम्ति जालीस्वरूप सातवटा झुण्डिएका सिक्री बनाइए । यसरी हुरामले स्तम्भहरूका स्तम्भ-शिर सिँगार्नलाई प्रत्येक सिक्रीको जालीका वरिपरि दुईवटा पङ्क्ति भएको बुट्टादार दारिम बनाए । दलानभित्रका स्तम्भका स्तम्भ-शिरहरू लिली फुलको आकारका चार हात उचाइका थिए । दुवै स्तम्भका स्तम्भ-शिरमा जाली नजिकैको कचौराको आकार भएको भागमा स्तम्भ-शिरको चारैपट्टि पङ्क्ति-पङ्क्ति गरी दुई सय बुट्टादार दारिम बनाइए । तिनले मन्दिरको दलानमा ती स्तम्भहरू खडा गरे । दाहिनेपट्टिको स्तम्भलाई याकीन र देब्रेपट्टिको स्तम्भलाई बोआज नाउँ राखियो । स्तम्भ-शिरहरूलाई लिली फुलको आकारमा सजाइयो । यसरी स्तम्भहरूको काम सम्पन्न भयो । हुरामले ढालेर बनाइएको धातुको विशाल खड्कुँलो बनाए जसको बिट एउटा किनारादेखि अर्को किनारासम्म दस हात थियो । यसको उचाइ पाँच हात थियो, र परिधि तिस हात थियो । त्यस विशाल खड्कुँलोका चारैतिर बाहिरपट्टि बिटमुनि हरेक हातमा दसवटा लौका बनाइएका थिए, र खड्कुँलो र लौका दुवै एउटै टुक्रा धातुबाट बनाइएका थिए । खड्कुँलोलाई बाह्रवटा गोरुमाथि राखिएको थियो– तिनवटा उत्तरतिर फर्केका, तिनवटा पश्चिमतिर फर्केका, तिनवटा दक्षिणतिर फर्केका र तिनवटा पूर्वतिर फर्केका थिए । खड्कुँलो तीमाथि राखिएको थियो, र तिनका सबै पछिल्ला भाग भित्रपट्टि फर्केका थिए । खड्कुँलोको चौडाइ चार अङ्गुल थियो, र यसको बिटचाहिँ कचौराको बिटजस्तो फक्रेको लिली फुलजस्तो थियो । यसमा लगभग चवालिस हजार लिटर पानी अटाउँथ्यो । हुरामले काँसाका दसवटा आधार बनाए । प्रत्येक आधार चार हात लामो, चार हात चौडा र तिन हात अग्लो थियो । ती आधार यसरी बनाइएका थिएः तिनका वरिपरिका पाटाहरू ठाडो फ्रेममा जोडिएका थिए, र ती पाटा र फ्रेमहरूमा सिंह, गोरु र करूबहरू थिए । सिंह र गोरुहरूको माथि र तल ढलौटे मालाहरू थिए । प्रत्येक आधारमा काँसाका धुरा भएका चारवटा चक्का थिए, र हरेकमा चार टेकामा अडेको एउटा बाटा थियो जसको चारैतिर ढलौटे मालाहरू थिए । आधारभित्र खुला भाग थियो, जसको गोलाकार साढे एक हात थियो, र त्यसभित्र एक हात अग्लो मुकुट थियो । त्यसको खुला भागको वरिपरि बुट्टाहरू कुँदिएका थिए, र आधारका पाटाहरू गोलाकार नभई वर्गाकार थिए । चारवटा चक्का पाटाहरूको मुनि थिए, र चक्काहरूका धुरा आधारसँग गाँसिएका थिए । हरेक चक्काको उचाइ साढे एक हात थियो । ती चक्काहरू रथका चक्काजस्ता थिए । तिनका धुरा, बिट, सुइरा र नाभि सबै ढालेर बनाइएका धातुका थिए । हरेक आधारका चारवटा समात्ने बिँड एउटा-एउटा कुनामा थिए, जुन आधारबाट बाहिर निस्केका थिए । आधारहरूको टुप्पामा आधा हात गहिरो गोलाकार धातुको फित्ता थियो, अनि आधारका टेका र पाटाहरू त्यसकै टुप्पासँग गाँसिएका थिए । पाटा र टेकाहरूका खाली ठाउँमा हुरामले करूबहरू, सिंहहरू र खजूरका रुखहरूको चित्र कुँदी त्यसको वरिपरि मालाहरू लगाए । यसरी नै तिनले दसवटा आधार बनाए । ती सबै एउटै नाप र एउटै आकार भएका ढालेर बनाइएका थिए । हुरामले काँसाका दसवटा बाटा बनाए । एउटा बाटामा आठ सय असी लिटर पानी अटाउँथ्यो । हरेक बाटा चार हातको थियो, र दसवटै आधारका लागि एउटा-एउटा बाटा थियो । तिनले पाँचवटा आधार मन्दिरको दक्षिणपट्टि र पाँचवटा आधार उत्तरपट्टि राखे । तिनले खड्कुँलोचाहि मन्दिरको दक्षिणपट्टि फर्कने गरी पूर्वी किनारामा राखे । हुरामले बाटाहरू, बेल्चाहरू र छर्कने बाटाहरू बनाए । यसरी तिनले परमप्रभुको मन्दिरमा सोलोमन राजाको लागि सबै काम सिद्ध्याए । तिनले दुईवटा स्तम्भ, स्तम्भको टुप्पामा कचौरा आकारका दुईवटा स्तम्भ-शिर माथिका स्तम्भ-शिरहरू सजाउने दुईवटा बुट्टादार जाली बनाए । तिनले दुईवटा सजाउने जालीका निम्ति चार सयवटा दारिम (दुईवटा स्तम्भका कचौराको आकार भएका स्तम्भ-शिरलाई ढाक्ने प्रत्येक जालीको निम्ति दुई पङ्क्ति दारिम), दसवटा आधार र आधारमाथि राख्नलाई दसवटा बाटा बनाए । तिनले खड्कुँलो भनिने विशाल बाटा र त्यसको मुन्तिर बाह्रवटा गोरु, भाँडाकुँडाहरू, बेल्चाहरू, बाटाहरू अनि सबै चिजहरू बनाए । हुरामले परमप्रभुको मन्दिरको लागि सोलोमन राजाको निम्ति टल्काइएका काँसाबाट बनाएका थिए । राजाले ती यर्दनको मैदानमा सुक्कोत र सार्तानको बिचमा ढालेर बनाउन लगाएका थिए । सोलोमनले धेरै भाँडाकुँडा बनाएकाले तिनले जोखेनन् । तिनले काँसाको ओजन निधो गरेनन् । सोलोमनले परमप्रभुको मन्दिरमा राखिने सबै सजाउने सामान सुनबाट बनाएका थिएः सुनको वेदी, उपस्थितिको रोटी राखिने सुनको टेबुल, निखुर सुनका सामदानहरू जसलाई भित्री कोठाको दाहिनेपट्टि पाँचवटा र देब्रेपट्टि पाँचवटा गरी राखिन्थ्यो; फुलको आकारका सुनका बुट्टाहरू, बत्तीहरू र चिम्टाहरू । सोलोमनले गिलासहरू, सलेदाका चिम्टाहरू, बाटाहरू, चम्चाहरू र धुपोराहरू पनि बनाए र यी सबै निखुर सुनका थिए । तिनले भित्री कोठा (अर्थात् महा-पवित्रस्थान) का ढोकाहरू र मन्दिरको मुख्य सभाकक्षका ढोकाहरूका निम्ति सुनका खोपिल्टाहरू पनि बनाए । यसरी सोलोमन राजाले परमप्रभुको मन्दिरको निम्ति सबै काम गरी सिद्ध्याए । त्यसैले सोलोमनले आफ्ना पिता दाऊदद्वारा अलग गरिएका चीजहरू अर्थात् चाँदी, सुन, सजाउने सामानहरू भित्र ल्याई परमप्रभुको मन्दिरका भण्डारमा राखे ।