१ राजाहरू. 16. बाशाको विरुद्धमा हनानीका छोरा येहूकहाँ परमप्रभुको वचन आयो, “मैले तँलाई धूलोबाट उठाई मेरो जाति इस्राएलमाथि अगुवा बनाए तापनि तँ यारोबामको चालमा हिँडी तैँले मेरो जाति इस्राएललाई पाप गर्न लगाएको छस् र तिनीहरूका पापद्वारा मलाई रिस उठाएको छस् । हेर्, म बाशा र त्यसको घरानालाई पूर्ण रूपमा निमिट्यान्न पारिदिने छु र तेरो घरानालाई नबातका छोरा यारोबामको परिवारजस्तै तुल्याउने छु । बाशाको घरानाका सहरमा मर्ने जोसुकैलाई कुकुरहरूले खाने छन्, र खेतमा मर्नेलाई चाहिँ आकाशका चराचुरुङ्गीहरूले खाने छन् ।” के बाशाले गरेका अरू कामहरू र तिनको शक्तिको बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ? बाशा आफ्ना पित्रहरूसित सुत्न गए, र तिनलाई तिर्सामा गाडियो । तिनको ठाउँमा तिनका छोरा एलाह राजा भए । यारोबामको घरानाले गरेजस्तै बाशाले परमप्रभुको दृष्टिमा गरेका सबै खराबी गरेकाले र आफ्ना हातको कामले उहाँलाई रिस उठाएकाले र तिनले यारोबामको घरानाका सबैलाई मारेकाले बाशा र तिनको परिवारको विरुद्धमा परमप्रभुको वचन हनानीका छोरा अगमवक्ता येहूकहाँ आयो । यहूदाका राजा आसाको छब्बिसौँ वर्षमा बाशाका छोरा एलाहले तिर्सामा बसेर सारा इस्राएलमाथि शासन गर्न थाले । तिनले दुई वर्ष राज्य गरे । तिनको दास जिम्री अर्धरथ-सेनाका सेनापति थिए जसले राजाको विरुद्धमा षड्यन्त्र गरे । त्यस बेला एलाह तिर्सामा भएको आफ्नो राजमहलको जिम्मावाल आर्साको घरमा मद्यपान गरिरहेका थिए । जिम्री भित्र पसे, र राजामाथि आक्रमण गरी तिनलाई मारे । यहूदाका राजा आसाको सत्ताइसौँ वर्षमा जिम्री तिनको ठाउँमा राजा भए । जब जिम्री आफ्नो सिंहासनमा बसी शासन गर्न थाले, तिनले बाशाका सबै घरानालाई मारे । तिनले बाशाका आफन्त वा मित्रहरूमध्ये एउटै पनि पुरुषलाई जिउँदो छाडेनन् । यसरी अगमवक्ता येहूद्वारा परमप्रभुले बाशाको विरुद्धमा बोल्नुभएको वचनमुताबिक जिम्रीले बाशाका सारा घरानालाई नष्ट गरिदिए । बाशा र तिनका छोरा एलाहले गरेका पाप र इस्राएललाई गर्न लगाएका सबै पापको कारण अनि तिनीहरूका मूर्तिहरूले इस्राएलका परमेश्वर परमप्रभुलाई रिस उठाएको कारण यस्तो हुन आएको हो । के एलाहले गरेका अरू कामहरूको विषयमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ? यहूदाका राजा आसाको सत्ताइसौँ वर्षमा जिम्रीले तिर्सामा केवल सात दिन शासन गरे । त्यस बेला सेनाचाहिँ पलिश्तीहरूको सहर गिब्बतोनको नजिकै छाउनी हालेर बसेका थिए । छाउनीका सेनाले यो सुने, “जिम्रीले षड्यन्त्र गरी राजालाई मारेका छन् ।” त्यसैले त्यसै दिन छाउनीमा सारा इस्राएलले सेनापति ओम्रीलाई इस्राएका राजा घोषणा गरे । ओम्री गिब्बतोनबाट गए र तिनीसँगै सारा इस्राएल पनि गए, अनि तिनीहरूले तिर्सालाई घेरा हाले । त्यसैले जब जिम्रीले सहर घेरा हालिएको देखे तिनी राजाको महलसित गाँसिएको किल्लामा गए, र तिनले राजमहलमा आगो लगाइदिए । यसरी तिनी आगोमा जलेर मरे । तिनले परमप्रभुको दृष्टिमा जे खराब थियो, त्यही गरेर यारोबामको चालमा र तिनले गरेका पाप र तिनले इस्राएललाई गर्न लगाएका पापमा हिँडेर ती पाप गरेकाले यसो हुन आएको हो । के जिम्रीका अरू कामहरू र तिनले गरेको विद्रोहको विषयमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ? तब इस्राएलका मानिसहरू दुई भागमा विभाजन भए । मानिसहरूमध्ये आधाले गीनतका छोरा तिब्नीलाई राजा बनाउन तिनलाई पछ्याए भने बाँकी आधाले चाहिँ ओम्रीलाई पछ्याए । तर ओम्रीलाई पछ्याउने मानिसहरू गीनतका छोरा तिब्नीलाई पछ्याउने मानिसहरूभन्दा बढी शक्तिशाली थिए । त्यसैले तिब्नी मरे, र ओम्री राजा बने । यहूदाका राजा आसाको एकतिसौँ वर्षमा ओम्रीले सारा इस्राएलमाथि शासन गर्न थाले, र तिनले जम्माजम्मी बाह्र वर्ष राज्य गरे । तिनले छ वर्षचाहिँ तिर्साबाट राज्य गरे । तिनले करिब सत्तरी किलोग्राम चाँदीमा शेमेरको हातबाट सामरियाको डाँडा किने । तिनले त्यसमा एउटा सहर बनाए, र त्यस डाँडाको प्रथम मालिक शेमेरको नाउँमा त्यसको नाउँ सामरिया राखे । ओम्रीले परमप्रभुको दृष्टिमा जे खराब थियो, त्यही गरे, अनि तिनीभन्दा अगिका सबैले भन्दा तिनी अझै दुष्टतापूर्वक हिँडे । किनकि तिनी नबातका छोरा यारोबामका सबै चाल र तिनले तिनीहरूका बेकम्मा मूर्तिहरूद्वारा इस्राएललाई गर्न लगाएका पापमा हिँडी तिनले इस्राएलका परमेश्वर परमप्रभुलाई रिस उठाए । के ओम्रीले गरेका अरू कामहरू र तिनले देखाएको शक्तिको विषयमा इस्राएलका राजाहरूको इतिहासकको पुस्तकमा लेखिएका छैनन् र ? यसरी ओम्री आफ्ना पित्रहरूसित सुते, र तिनी सामरियामा गाडिए । त्यसपछि तिनको ठाउँमा तिनका छोरा आहाब राजा भए । यहूदाका राजा आसाको अठतिसौँ वर्षमा ओम्रीका छोरा आहाबले इस्राएलमाथि शासन गर्न थाले । ओम्रीका छोरा आहाबले सामरियाबाट इस्राएलमाथि बाइस वर्ष शासन गरे । ओम्रीका छोरा आहाबले परमप्रभुको दृष्टिमा जे खराब थियो, त्यही गरे । तिनले तिनीभन्दा अगिका सबैले भन्दा अझै खराब गरे । आहाबको लागि नबातका छोरा यारोबामका पापमा हिँड्नु मामुली कुरा थियो । त्यसैले तिनले सीदोनीहरूका राजा एताबालकी छोरी ईजेबेलसित विवाह गरे । तिनले बालको पुजा गरे र त्यसको सामु निहुरे । तिनले सामरियामा निर्माण गरेका बालको मन्दिरमा बालको निम्ति एउटा वेदी बनाए । आहाबले अशेरा देवीको मूर्ति खडा गरे । आहाबले तिनीभन्दा अगिका सबै राजाले भन्दा बढी इस्राएलका परमेश्वर परमप्रभुलाई रिस उठाए । आहाबको शासनकालमा बेथेलका हीएलले यरीहोको पुनर्निर्माण गरे । हीएलले सहरको जग बसाल्दा तिनको जेठो छोरो अबीरामको मृत्यु भयो । तिनले सहरका मूल ढोकाहरू बनाइरहँदा तिनको कान्छो छोरो सगूबको मृत्यु भयो । यसरी परमप्रभुले नूनका छोरा यहोशूद्वारा बोल्नुभएको वचन पुरा भयो ।