१ इतिहास. 23. जब दाऊद वृद्ध भएका र आफ्नो जीवनको अन्तिम क्षणमा थिए, तब तिनले आफ्‍ना छोरा सोलोमनलाई इस्राएलमाथि राजा बनाए । पूजाहारीहरू र लेवीहरूसँगै तिनले इस्राएलका सबै अगुवाहरूलाई भेला गराए । तीस वर्ष र त्‍योभन्‍दा बढी उमेरका लेवीहरूको सङ्‍ख्‍याको गणना भयो । तिनीहरूको संख्या अठ्तीस हजार थियो । “तिमध्‍येका चौबीस हजारको काम परमप्रभुका मन्‍दिरको कामको रेखदेख गर्ने थियो, र छ हजार अधिकारीहरू र न्‍यायकर्ताहरू थिए । चार हजार द्वारपालहरू, र चार हजारले मैले दिएका बाजा बजाएर परमप्रभुको स्‍तुतिगान गर्नपर्छ,” दाऊदले भने । तिनले उनीहरूलाई लेवीका छोराहरू गेर्शोन, कहात र मरारीका नाउँबमोजिम विभाजन गरे । लादान र शिमी गेर्शोनका वंशका थिए । लादानका तीन छोराहरू: अगुवा यहीएल, जेताम र योएल थिए । शिमीका तिन छोराहरू: शलोमोत, हजीएल र हारान थिए । लादानका वंशका मुखियाहरू यी नै थिए । शिमीका चार छोराहरूः यहत, जीजा, येऊश र बरीआ थिए । यहत जेठा थिए, जीजा माइला, तर येऊश र बरीआका धेरै छोराहरू थिएनन्, त्यसैले तिनीहरू एउटै कामको निम्‍ति एकै वंशको रूपमा गनिए । कहातका चार छोराहरू: अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएल थिए । अम्रामका छोराहरू हारून र मोशा थिए । अति पवित्र कुराहरू अलग गर्न हारूनलाई चुनिएका थियो । तिनी र तिनका सन्तानहरूले परमप्रभुको सामु धूप चढाउनु, उहाँको सेवा गर्नु र उहाँको नाउँमा सधैं आशीर्वाद दिनुपर्थ्यो । तर परमेश्‍वरका मानिस मोशाका छोराहरू भने लेवीकै कुलका मानिए । मोशाका छोराहरू गेर्शोम र एलीएजर थिए । गेर्शोमका सन्‍तानमा शूबाएल जेठा थिए । एलीएजरका सन्‍तान रहब्‍याह थिए । एलीएजरका अरू छोरा थिएनन्, तर रहब्‍याहका धेरै सन्तानहरू थिए । यिसहारका छोरा अगुवा शलोमीत थिए । हेब्रोनका छोराहरू यरियाह जेठा, अमर्याह माइला, यहासेल साँइला र यकमाम कान्‍छ थिए । उज्‍जीएलका छोराहरू मीका जेठा र यिशियाह माइला थिए । मरारीका छोराहरू महली र मूशी थिए । महलीका छोराहरू एलाजार र कीश थिए । एलाजार छोराहरू नभै मरे । तिनका छोरीहरू मात्र थिए । कीशका छोराहरूले तिनीहरूलाई विवाह गरे । मूशीका तिन छोराहरू महली, एदेर र यरीमोत थिए । आ-आफ्ना वंशअनुसार लेवीका सन्तानहरू यी नै थिए । परमप्रभुको भवनमा सेवाको काम गर्ने वंशका नामअनुसार गनिएका र सूचिकृत गरिएका बीस वर्ष र त्‍योभन्‍दा बढी उमेरका अगुवाहरू तिनीहरू थिए । किनकि दाऊदले भने, “परमप्रभु इस्राएलका परमेश्‍वरले आफ्‍नो मानिसहरूलाई आराम दिनुभएको छ । उहाँले सदासर्वदाको निम्‍ति यरूशलेममा आफ्नो मन्दिर बनाउनुहुन्छ । लेवीहरूले फेरि कहिल्‍यै पवित्र वासस्‍थान अथवा त्‍यसको सेवामा प्रयोग गरिने भाँडाहरू बोक्‍नुपर्दैन ।” किनकि दाऊदका अन्‍तिम वचनद्वारा बीस वर्ष र त्‍यसभन्‍दा बढी उमेरका लेवीहरूको सङ्ख्‍या गनिए । तिनीहरूको काम परमप्रभुका मन्‍दिरको सेवामा हारूनका सन्‍तानहरूलाई सघाउनुपर्ने थियो । तिनीहरूले चोक र कोठाहरूको रेखदेख गर्नुपर्ने, परमप्रभुका सबै पवित्र थोकहरू शुद्ध पार्नुपर्ने, र परमेश्‍वरका मन्‍दिरका सेवामा अरू काम गर्नुपर्ने थियो । उपस्‍थितिको रोटी, अन्‍नबलिको मसिनो पीठो, पातला अखमिरी रोटी, पोलेका र तेलमा पकाएका भेटीहरूको हेरविचार गर्नुपर्ने, अनि विभिन्‍न कुराहरू नाप्‍नको निम्ति ढक र तराजू तयार गर्नुपर्ने जिम्‍मा पनि तिनीहरूको थियो । हरेक बिहान परमप्रभुलाई धन्यवाद दिन र प्रशंसा चढाउन पनि तिनीहरू खडा हुन्थे । तिनीहरूले बेलुका, र शबाथ र औंसीका चाडमा र चाडका दिनहरूमा परमप्रभुको निम्‍ति होमबलि चढाउने बेलामा पनि यसै गरे । तोकिएको संख्यामा नियमअनुसार जिम्मा दिइएकाहरू परमप्रभुको सामु उपस्‍थित हुनुपर्थ्यो । तिनीहरूको जिम्मामा भेट हुने पाल र पवित्रस्‍थान थिए, र आफ्ना आफन्त हारूनका सन्‍तानहरूलाई परमप्रभुका मन्‍दिरको सेवामा सहयोग गर्थे ।