अय्यूब. 28. निश्‍चय नै चाँदीको एउटा खानी हुन्छ, एउटा ठाउँ छ जहाँ तिनीहरूले सुनलाई शुद्ध पार्छन् । फलामलाई जमिनबाट बाहिर निकालिन्छ । धातु पगालेर तामा निकालिन्‍छ । एक जना मानिसले अन्धकारलाई हटाउँछ, अँध्‍यारो अनि घोर अन्‍धकारमा, पल्‍लो छेउसम्‍म खानिजको खोजी गर्छ । मानिसहरू बसेका ठाउँभन्दा धेरै टाढा, वा कसैको खुट्टाले नटेकेको ठाउँमा, खानीमा तल जाने एउटा सुरुङ् उसले बनाउँछ । मानिसहरूभन्दा धेरै पर ऊ झुण्डिन्छ । ऊ यताउता हल्लिन्छ । जमिनमा खद्यान्‍न उत्‍पादन हुन्‍छ भने, मुनिपट्टि यसमा आगो बलिरहेको हुन्‍छ । यसका ढुङ्गाहरूका ठाउँमा नीर पाइन्छ, र यसमा धूलोमा सुन मिसिएको छ । कुनै पनि सिकारी चरालाई त्यहाँ जाने बाटो थाहा हुँदैन, न त बाजको आँखाले त्‍यसलाई देखेको छ । रवाफिला पशुहरू यस्तो बाटोमा हिंडेका हुँदैनन्, न त हिंस्रक सिंह त्यहाँबाट गएको छ । एक जना मानिसले आफ्नो हातले दर्शनढुङ्गा काट्‍छ । उसले पहाडहरूलाई फेदैदेखि पल्टाउँछ । उसले चट्टानहरूका बिचमा सुरुङहरू बनाउँछ । उसका आँखाले त्यहाँ हरेक बहुमूल्य वस्तु देख्छ । उसले खोलाहरू थुन्छ जसको कारणले ती बग्‍दैनन् । त्यहाँ जे लुकेको छ, त्‍यो उसले बाहिर प्रकाशमा ल्याउँछ । बुद्धि कहाँ पाइनेछ ? सुझबुझको ठाउँ कहाँ छ ? मानिसलाई यसको मूल्य थाहा छैन, न त यो जीवितहरूको देशमा पाइन्छ । पृथ्वीमुनि रहेको गहिरो पानीले भन्छ, 'त्यो ममा छैन ।' समुद्रले भन्छ, 'त्यो मसित छैन ।' सुनले त्यसलाई किन्‍न सकिंदैन, न त यसको मूल्यको रुपमा चाँदी जोख्‍न नै सकिन्‍छ । ओपीरको सुनसित त्यसको मूल्य दाँज्न सकिंदैन, न त बहुमूल्य आनिक्स वा नीरसित सकिन्छ । सुन र स्फटिक त्यसको बराबरी हुन सक्‍दैन, न त निखुर सुनका गहनासित त्यो साट्न नै सकिन्छ । मूगा र बिल्लौरको त चर्चा नै गर्नुपर्दैन । वास्तवमा बुद्धिको मूल्य मानिकभन्दा बढी हुन्छ । कूश देशको पुष्पराज त्यसको बराबर हुँदैन, न त त्‍यसलाई निखुर सुनले मूल्‍य तोक्‍न सकिन्छ । तब बुद्धि कहाँबाट आउँछ ? सुझबुझको ठाउँ कहाँ छ ? बुद्धिलाई सबै जीवित प्राणीहरूको दृष्‍टिबाट लुकाइएको छ, र आकाशका चराहरूबाट लुकाएर राखिएको छ । विनाश र मृत्युले भन्छन्, 'हामीले आफ्‍ना कानले यसको बारेमा हल्ला मात्र सुनेका छौं ।' कसरी यसलाई पाउने हो परमेश्‍वरले बुझ्‍नुहुन्‍छ । यसको बासस्थान उहाँलाई थाहा छ । किनकि उहाँले पृथ्वीको पल्‍लो कुनामा हेर्नुहुन्छ, सबै आकाशमण्‍डलको मुनि हेर्नुहुन्छ । उहाँले नै बतासको शक्ति बनाउनुभयो, र पानीलाई नापेर पोको पारेर पठाउनुभयो । उहाँले झरी परोस् भनी आदेश दिनुभयो, र गर्जनको मार्ग बनाउनुभयो । तब उहाँले बुद्धि देख्‍नुभयो, र यसको घोषणा गर्नुभयो । वास्तवमा उहाँले नै यसको स्थापना गर्नुभयो, र जाँच्नुभयो । मानिसहरूलाई उहाँले भन्‍नुभयो, 'हेर्, परमप्रभुको भय— त्‍यो नै बुद्धि हो । दुष्‍ट्याइँबाट अलग रहनु नै सुझबुझ हो' ।”