अय्यूब. 39. चट्टानहरूका घोरल कहिले बियाउँछ भनी तँ जान्‍दछस् ? हरिणीले बच्‍चा जन्माउँदै गर्दा के तैंले हेर्न सक्छस् ? तिनीहरूले पेटमा पाठा बोक्दा के तैंले तिनीहरूको महिना गन्‍न सक्छस् ? तिनीहरूले बच्‍चा जन्माउने समय तँलाई थाहा छ ? तिनीहरू निहुरिन्छन्, र आफ्ना पाठा पाउँछन्, अनि यसरी तिनीहरूको आफ्नो प्रसव-वेदना सकिन्छ । तिनीहरूका पाठा बलिया हुन्छन्, र खुला खेतहरूमा हुर्कन्छन् । तिनीहरू बाहिर निस्कन्छन्, र फेरि फर्केर आउँदैनन् । वन-गधालाई कसले छाडा छोडेको हो ? कुद्‍ने गधाको बन्धन कसले फुकालेको हो, जसको बासस्थान अराबामा, त्यसको घर खारको जग्गामा मैले बनाएको छु । सहरको होहल्ला सुनेर त्यसले गिल्ला गर्दै हाँस्‍छ । लखेट्नेले कराएको त्यसले सुन्दैन । डाँडाहरूमा भएका आफ्‍ना खर्कहरूतिर त्‍यो घुम्‍छ । खानलाई त्यहाँ त्यसले हरेक हरियो बिरुवा खोज्‍छ । वन-गोरुले तेरो सेवा गर्न खुसी हुनेछ र ? तेरो डुँडनेर बस्‍न त्यो सन्तुष्‍ट हुनेछ र ? वन-गोरुलाई हलोको सियोमा हिंडाउन तँ डोरीको प्रयोग गर्न सक्छन् ? त्यसले तेरो कुरा मानेर उपत्यकाहरूलाई जोत्‍नेछ ? त्यसको बल अत्‍याधिक हुनाले त्यसमा तँ भर पर्छस् र ? त्यसले तेरो काम गरोस् भनेर के तैंले आफ्नो काम छाड्नेछस् ? तेरो अन्‍न घरमा ल्‍याउन, अन्‍लाई तेरो खलामा जम्मा गर्न, के त्यसमाथि तँ भर पर्छस् र ? शुतुरमुर्गका पखेटा हर्षोल्लाससाथ चल्छन्, तर के ती प्रेमका पखेटाहरू र पुच्‍छर हुन् र ? किनकि त्यसले भुइँमा आफ्ना फुलहरू छोड्छ, र ती त्‍यसले धूलोमा नै तातो हुन दिन्छ । पैतलाले तिनलाई कुल्चन सक्छ वा जङ्गली जनावरले कुल्चिन सक्‍छ भनी त्यसले बिर्सन्छ । त्यसले आफ्ना बच्‍चाहरूलाई आफ्नो नभएजस्तै गरी निर्दयतापूर्वक व्यवहार गर्छ । त्यसको परिश्रम व्यर्थैमा खेर जान्छ कि भनी त्यो डराउँदैन, किनकि परमेश्‍वरले त्यसलाई बुद्धिहीन तुल्याउनुभएको छ, र त्यसलाई कुनै समझशक्ति दिनुभएको छैन । जब त्यो तीव्र गतिमा दोडन्‍छ, त्यसले घोडा र त्यसमा सवार हुनेलाई गिल्ला गर्छ । घोडालाई त्यसको शक्ति तैंले दिएको हो ? त्यसको गर्दनमा जगरले पहिराएको तैंले हो ? त्यसलाई तैंले कहिल्यै सलहले झैं उफ्रन लगाएको छस् ? त्यसको चर्को हिनहिनाइ डरलाग्दो हुन्‍छ । त्यसले शक्तिमा टाप बजाउँछ, र आफ्नो ताकतमा आनन्द मनाउँछ । हतियारको सामना गर्न त्यो जाइलाग्छ । त्यसले डरको खिल्ली उडाउँछ, र हतोत्साही हुँदैन । तरवार देखेर त्यो फर्केर भाग्‍दैन । काँडको ठोक्रो त्यसको छेउमा धर्ररर बज्छ, अनि त्यहाँ भाला र तरवार चम्कन्छ । क्रोध र रिसले त्यसले जमिनलाई निलिदिन्छ । तुरहीको आवाजले गर्दा त्यो एक ठाउँमा खडा हुन सक्दैन । जब तुरही बजेको सुनिन्‍छ, तब त्यसले भन्छ, 'आहा!' कमान्‍डरहरूका गर्जने आवाज र होहल्‍लाले, त्यसले टाढैबाट युद्धको गन्ध थाहा पाउँछ । के तेरो बुद्धिद्वारा बाज माथि-माथि उड्ने हो र दक्षिणतिर त्यसले आफ्नो पखेटा फिंजाउने हो ? के तेरो आज्ञामा गिद्ध माथि-माथि उड्ने हो र अग्ला ठाउँहरूमा आफ्ना गुँडहरू बनाउने हो ? त्यो पहरामा बस्छ र पहराकै टाकुरामा त्यसले आफ्नो घर बनाउँछ जुन किल्‍लाझैं हुन्छ । त्यहाँबाट त्यसले सिकारहरूको खोजी गर्छ । त्यसका आँखाले धेरै टाढाबाट तिनलाई देख्छन् । त्यसका बचेराहरूले पनि रगत पिउँछन् । जहाँ लाश हुन्छ, त्यहाँ त्यो हुन्छ ।”