भजनसंग्रह. 105. परमप्रभुलाई धन्यवाद देओ । उहाँको नाउँमा पुकारा गर । उहाँका कामहरू जातिहरूका माझमा प्रकट गर । उहाँको निम्ति गाओ । उहाँको स्‍तुति गाओ । उहाँका सबै अचम्मका कामहरूका बारेमा भन । उहाँको पवित्र नाउँमा गर्व गर । परमप्रभुको खोजी गर्नेहरूका हृदय आनन्‍दित होस् । परमप्रभु र उहाँको शक्तिको खोजि गर । उहाँको उपस्थितिको निरन्‍तर खोजी गर । उहाँले गर्नुभएका अचम्मका कामहरू, उहाँका आश्‍चर्य कामहरू र उहाँको मुखका आदेशहरूलाई याद गर, ए उहाँका सेवक अब्राहामका सन्तानहरू, याकूबका मानिसहरू, उहाँका चुनिएका जनहरू हो । उहाँ परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्छ । उहाँका आदेशहरू सारा पृथ्वीभरि छन् । उहाँले आफ्नो करारलाई सदासर्वदा, आफूले आज्ञा गर्नुभएका वचनलाई हजार पुस्तासम्‍म सम्‍झनुहुन्छ । आफूले अब्राहामसँग गरेको करार र इसहाकसँग खाएको शपथलाई उहाँले सम्झनुहुन्छ । यो उहाँले याकूबसँग आदेश रूपमा र इस्राएलसँग अनन्त करारको रूपमा पुष्‍टि गर्नुभयो । उहाँले भन्‍नुभयो, “तेरो उत्तराधिकारको तेरो अंशको रूपमा तँलाई म कनान देश दिनेछु ।” तिनीहरू संख्यामा थोरै, अति थोरै मात्र हुँदा र देशमा परदेशीहरू हुँदा नै उहाँले यसो भन्‍नुभयो । तिनीहरू एक जातिबाट अर्को जातिमा र एक राज्यबाट अर्को राज्यमा गए । उहाँले कसैलाई पनि तिनीहरूमाथि थिचोमिचो गर्ने अनुमति दिनुभएन । तिनीहरूका खातिर उहाँले राजाहरूलाई हप्‍काउनुभयो । उहाँले भन्‍नुभयो, “मेरो अभिषिक्‍त जनलाई नछोओ र मेरा अगमवक्‍ताहरूका हानि नगर ।” उहाँ देशमा अनिकाल ल्याउनुभयो । उहाँ खानेकुराको सारा आपूर्ती बन्‍द गर्नुभयो । उहाँले तिनीहरू अगिअगि एक जना मानिसलाई पठाउनुभयो । योसेफलाई कमाराको रूपमा बेचिएका थिए । तिनका खुट्टाहरू साङ्लाहरूले बाँधिएका थिए । तिनको घाँटीमा फालमको जन्जीर लगाइयो, तिनले जे भनेका थिए सो हुन नआएसम्म । परमप्रभुको वचनले तिनको जाँच गर्‍यो । तिनलाई मुक्‍त गर्न राजाले सेवकहरू पठाए । मानिसहरूका शासकले तिनलाई मुक्‍त गरे । उनले तिनलाई आफ्‍नो सारा सम्पत्तिको शासकको रूपमा आफ्‍नो दरवारको निरीक्षक बनाए, तिनले चाहेअनुरूप उनका शासकहरूलाई सल्‍लाह दिन र उनका धर्मगुरुहरूलाई बुद्धि सिकाउन । त्‍यसपछि इस्राएल मिश्रदेशमा गए र याकूब केही समय हामको देशमा बसे । परमप्रभुले आफ्ना मानिसहरूलाई फल्दोफुल्दो बनाउनुभयो र तिनीहरूलाई आफ्‍ना शत्रुहरूभन्दा बलियो बनाउनुभयो । उहाँका मानिसहरूलाई तिनीहरूका शत्रुहरूले घृणा गर्ने, आफ्ना सेवकहरूलाई दुर्व्यवहार गर्ने उहाँले बनाउनुभयो । आफूले चुन्‍नुभएका आफ्ना सेवक मोशा र हारूनलाई उहाँले पठाउनुभयो । तिनीहरूले मिश्रीहरूका माझमा उहाँका चिन्हहरू, हामको देशमा उहाँ अचम्मका कामहरू गरे । उहाँले अन्धकार पठाउनुभयो र त्यो देशलाई अँध्‍यारो बनाउनुभयो, तर त्‍यसका मानिसहरूले उहाँका आज्ञाहरू पालन गरेनन् । उहाँले तिनीहरूका पानीलाई रगतमा बद्लिनुभयो र तिनीहरूका माछाहरू मार्नुभयो । तिनीहरूका देश, तिनीहरूका शासकहरूका कोठाहरूमा समेत भ्यागुताहरूले भरिए । उहाँले बोल्नुभयो र झिंगाहरू र भुसुनाहरूको हुल तिनीहरूको देशभरि आए । तिनीहरूका देशमा बलिरहेको आगोको ज्वालासहित, उहाँले तिनीहरूको वर्सालाई असिनामा बद्लिनुभयो । उहाँले तिनीहरूका दाखका बोटहरू र अञ्‍जीरका रूखहरू नष्‍ट पार्नुभयो । उहाँ तिनीहरूका देशका रूखहरू भाँच्‍नुभयो । उहाँ बोल्नुभयो र सलहहरू, साह्रै नै धेरै सलहहरू आए । सलहहरूले तिनीहरूका देशमा भएका सबै वनस्पतिहरू खाए । तिनीहरूले जमिनका सबै फसलहरू खाए । तिनीहरूका देशमा भएका हरेक जेठा सन्तान, तिनीहरूका बलको पहिलो फललाई उहाँले मार्नुभयो । उहाँले इस्राएलीहरूलाई सुन र चाँदीसहित हाबिर निकालेर ल्याउनुभयो । उहाँका कुलमध्‍ये कुनैले पनि बाटोमा ठेस खाएन । तिनीहरू निस्केर जाँदा मिश्रदेश खुसी थियो, किनकि मिश्रीहरू तिनीहरूसँग डराएका थिए । उहाँले ढाक्‍नलाई बादल फिंजाउनुभयो र रातलाई उज्यालो पार्न आगो बाल्‍नुभयो । इस्राएलीहरूले खानेकुरा मागे र उहाँले बट्टाई चरा दिनुभयो र स्वर्गको रोटीले तिनीहरूलाई सन्‍तुष्‍ट पार्नुभयो । उहाँले चट्टानलाई चिरा पार्नुभयो र त्‍यसबाट पानी बगेर निस्क्यो । उजाडस्थानमा ती नदीझैं बगे । किनकि उहाँले आफ्नो सेवक अब्राहामसँग गर्नुभएको आफ्‍नो पवित्र प्रतिज्ञालाइ सम्झिनुभयो । आफ्ना मानिसहरूलाई आनन्दसाथ, उहाँका चुनिएकाहरूलाई जयजयकारको ध्वनिसँगै उहाँले डोर्‍याउनुभयो । उहाँले तिनीहरूलाई जातिहरूका देश दिनुभयो । तिनीहरूले मानिसहरूका सम्पत्तिमाथि आफ्नो अधिकार जमाए, ताकि तिनीहरूले उहाँका आदेशहरू पालन गरून् र उहाँका व्यवस्थाहरू मानून् । परमप्रभुको प्रशंसा गर ।