दानिएल. 4. नबूकदनेसर राजाले पृथ्वीमा बस्‍ने सबै मानिसहरू जातिहरू, र भाषा बोल्नेहरूलाई यो उर्दी पठाए: तिमीहरूमा प्रशस्त शान्ति होस् । सर्वोच्‍च परमेश्‍वरले मेरो निम्ति गर्नुभएका चिन्हहरू र आश्‍चर्य कामहरू बारेमा तिमीहरूलाई बताउनु मलाई असल लागेको छ । उहाँका चिन्हहरू कति महान् छन्, र उहाँका आश्‍चर्य कामहरू कति शक्तिशाली छन्! उहाँको राज्य अनन्‍तको राज्‍य हो, र उहाँको प्रभुत्व पुस्ता-पुस्तासम्म रहन्छ । म, नबूकदनेसर, मेरो महलमा खुशीसाथ बसिरहेको थिएँ, र म आफ्‍नो दरबारमा समृद्धिमा आनन्‍दित थिएँ । तर मैले देखेको एउटा सपनाले मलाई त्रसित बनायो । म त्‍यहाँ पल्टिरहँदा, मैले देखेका दृश्यहरू र मेरो मनका दर्शनहरूले मलाई व्याकुल बनाए । यसैले बेबिलोनमा भएका सबै बुद्धिमान् मानिसहरूलाई मेरो सामु उपस्‍थित हुनलाई मैले एउटा उर्दी निकालें ताकि तिनीहरूले उक्‍त सपनाको अर्थ मलाई बताउन सकून् । त्‍यसपछि जादुगरहरू, मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरू, बुद्धिमान् मानिसहरू र ज्योतिषीहरू आए । मैले तिनीहरूलाई सपना सुनाएँ, तर तिनीहरूले त्यसको अर्थ मलाई भन्‍न सकेनन् । तर अन्तमा दानिएल आए— जसलाई मेरा देवताको नाउँ बेलतसजर दिइयो, र जसमा पवित्र देवहरूका आत्मा छन्— र मैले तिनलाई सपना सुनाएँ । “ए बेलतसजर, जादुगरहरूका प्रमुख, पवित्र देवताहरूका आत्मा तिमीमा छन् भनी म जान्‍दछु र तिम्रो निम्ति कुनै पनि रहस्य कठिन हुँदैन । मैले आफ्‍नो सपनामा के देखें र त्यसको अर्थ के हो सो मलाई बताऊ । म आफ्‍नो ओछ्यानमा पल्टिँदा मैले देखेका दर्शनहरू यी नै हुन्: मैले हेरें, र पृथ्वीको बिचमा एउटा रूख थियो, र त्यो अत्यन्तै अग्लो थियो । त्यो रूख बढ्यो र बलियो भयो । त्यसको टुप्पो आकाशसम्मै पुग्यो, र पृथ्वीको पल्‍लो छेउबाट पनि त्यो देख्‍न सकिन्थ्यो । त्यसका पातहरू सुन्दर थिए, त्यसका फल प्रशस्त थिए, र त्यसमा सबैको निम्ति खानेकुरो थियो । जङ्गली पशुहरूले त्यसमुनि छाहरी पाउँथे, र आकाशका चराहरूले त्यसका हाँगाहरूमा वास गर्थे । सबै जीवित प्राणीहरूले त्यसैबाट खान्थे । म आफ्‍नो ओछ्यानमा पल्टिरहँदा मैले यस्तो दर्शन देखें, अनि आकाशबाट एउटा पवित्र समाचारवाहक तल आए । तिनले ठुलो सोरमा कराए र यसो भने, ‘त्यो रूख र त्यसका हाँगाहरू काट, त्यसका पातहरू टिपेर फाल र त्यसका फललाई छरपष्‍ट पार । त्यसको छहारीमुनिबाट पशुहरू भागून् र चराहरू त्यसका हाँगाहरूबाट उडून् । तर त्यसको जरासहितको फेदलाई फलाम र काँसाले बाँधिएर मैदानका कलिला घाँसहरूका बिच जमिनमा नै रहोस् । आकाशका शीतले त्यो भिजोस् । त्यो जमिनका बोट-बिरुवाका बिचमा रहने पशुहरूसित रहोस् । त्यसको मनलाई मानिसको मनबाट बद्लियोस् र सातवर्ष नवितेसम्म त्यसलाई एउटा पशुको मन दिइयोस् । यो निर्णय समाचारवाहकले बताएका उर्दिअनुसार हो । यो निर्णय पवित्र जनहरूले गर्नुभएको हो, ताकि बाँचेकाहरूले यो जानून्, कि सर्वोच्‍च परमेश्‍वरले मानिसहरूका राज्यमाथि शासन गर्नुहुन्छ र तिनीहरूमाथि शासन गर्नका निम्ति जोसुकैलाई अर्थात् सबैभन्दा निम्‍न स्‍तरका मानिसहरूका अधिनमा पनि उहाँले ती दिनुहुन्छ ।’ म, राजा नबूकदनेसरले यो सपना देखें । अब तिमी बेलतसजर, मलाई यसको अर्थ बताऊ, किनभने मेरो राज्यका बुद्धिमान् मानिसहरू कसैले पनि मेरो निम्ति यसको अर्थ खोल्न सक्‍दैनन् । तर तिमीले यो गर्न सक्छौ, किनभने पवित्र देवताहरूका आत्मा तिमीमा छन् ।” तब बेलतसजर भनिने दानिएल केही समय धेरै चिन्तित भए, र आफ्ना विचारहरूले तिनलाई त्रसित पार्‍यो । राजाले भने, “ए बेलतसजर, त्‍यो सपना वा त्यसको अर्थले तिमी त्रसित नहोऊ ।” बेलतसजरले जवाफ दिए, “मेरा मालिक, यो सपना हजुरलाई घृणा गर्नेहरूका निम्ति होस्, र त्यसको अर्थ हजुरका शत्रुहरूका निम्ति होस् । हजुरले देख्‍नुभएको त्यो रूख, जुन बढेर धेरै बलियो भयो, र जसको टुप्पो आकाशसम्मै पुग्यो, र जुन पृथ्वीको छेऊबाट पनि देखिन्थ्यो, र जसका पातहरू सुन्दर थिए, र जसको फल प्रशस्त थियो, जसले गर्दा सबैले यसैमा खानेकुरो पाउँथे, र यसको मुनि जमिनका पशुहरूले छहारी पाउँथे, र जसमा आकाशका चराहरूले वास गर्थे, हे महाराजा, त्यो रूख हजुर नै हुनुहुन्छ, जो ज्‍यादै शक्तिशाली हुनुभएको छ । हजुरको महान्‌ता बढेर आकाशसम्म पुगेको छ, र हजुरको अधिकार पृथ्वीको पल्‍लो छेऊसम्मै पुगेको छ । हे महाराजा, हजुरले एउटा पवित्र सन्देशवाहकलाई स्वर्गबाट तल आएको अनि यसो भनेका देख्‍नुभयो, ‘त्यो रूखलाई काटेर ढाल र त्यसलाई नष्‍ट गर, तर त्यसको जरासहितको फेदलाई फलाम र काँसाले बाँधेर मैदानका कलिला घाँसहरूका बिच जमिनमा नै छोड । त्यो आकाशको शीतले भिजोस्, र सात वर्ष नवितेसम्म जमिनमै जङ्गली पशुहरूसँग रहोस् ।’ हे महाराजा, यसको अर्थचाहिं यो हो । यो सर्वोच्‍च परमेश्‍वरको घोषणा हो, जुन मेरा मालिक, महाराजा हजुरकहाँ आएको छ । हजुर मानिसहरूका बिचबाट हटाइनुहुनेछ, र हजुर जमिनमा हुने जङ्गली पशुहरूसँग बस्‍नुहुनेछ । गोरुले झैं हजुरले घाँस खानुपर्नेछ, र आकाशको शीतले हजुरलाई भिजाउनेछ, र सर्वोच्‍च परमेश्‍वरले मानिसहरूका राज्यहरूमाथि शासन गर्नुहुन्छ अनि उहाँले चाहनुहुने जोसुकैलाई उहाँले त्यो दिनुहुन्छ भन्‍ने कुरा हजुरले स्वीकार गर्दासम्‍म सात वर्ष बित्‍नेछ । रूखको जरासहितको फेदलाई त्यहीं छोड्ने आज्ञा भएझैं, स्वर्गले शासन गर्नुहुन्‍छ भनेर हजुरले स्वीकार गरेपछि हजुरको राज्य हजुरलाई फर्काइनेछ । यसकारण, महाराजा, मेरो सल्लाह हजुरको निम्ति स्वीकारयोग्य होस् । पाप गर्न छोड्‍नुहोस् र जे ठिक छ त्यही गर्नुहोस् । थिचो-मिचोमा परेकाहरूलाई कृपा देखाएर आफ्ना अपराधहरूबाट मुक्त हुनुहोस्, र हजुरको समृद्धि अझै बढोस् ।” यी सबै कुराहरू राजा नबूकदनेसरमाथि घट्यो । बाह्र महिनापछि, तिनी बेबिलोनमा एउटा दरबारको कौसीमा हिंडिरहेका थिए, अनि तिनले भने, “के यो महान् बेबिलोन होइन, जुन मैले आफ्‍नो राजकीय निवास, र आफ्‍नो ऐश्‍वर्यको महिमाको निम्ति निर्माण गरें?”. राजाका यी शब्दहरू तिनको ओठमै हुँदा नै, स्वर्गबाट यस्तो आवाज आयो, “राजा नबूकदनेसर, तँलाई यो घोषणा गरिन्छ, कि तँबाट यो राज्य खोसिएको छ । तँ मानिसहरूबाट निकालिनेछस्, र तेरो वासस्थान खेतमा वन-पशुहरूसँग हुनेछ । तैंले गोरुले झैं घाँस खानेछस् । सर्वोच्‍च परमेश्‍वरले मानिसहरूका राज्यहरूमाथि शासन गर्नुहुन्छ अनि उहाँले चाहनुहुने जोसुकैलाई उहाँले त्यो दिनुहुन्छ भन्‍ने कुरा तैंले स्वीकार गर्दासम्‍म सात वर्ष बित्‍नेछ ।” नबूकदनेसरको विरुद्धमा भएको यो आदेश तुरुन्‍तै पुरा भयो । तिनी मानिसहरूबाट निकालिए । तिनले गोरुले झैँ घाँस खाए, र तिनको शरीर आकाशको शीतले भिज्यो । तिनको केस चीलका प्वाँखहरूझैँ लामो भयो, र तिनको नङहरू चराका नङ्ग्राझैं भयो । ती दिनहरूको अन्तमा, म, नबूकदनेसरले आफ्ना आँखा स्वर्गतर्फ उठाएँ, र मेरो होश मलाई फिर्ता दिइयो । “मैले सर्वोच्‍च परमेश्‍वरको प्रशंसा गरें, र सदासर्वदा रहनुहुनेलाई मैले सम्मान र महिमा दिएँ । किनभने उहाँको शासन सदासर्वदा रहन्छ, र उहाँको राज्य सबै पुस्तादेखि सबै पुस्तासम्म रहिरहन्छ । सम्‍पूर्ण पृथ्वीका मानिसहरूलाई उहाँले अगि निम्‍न स्‍तरका गनिन्छन् । स्वर्गका सेनाहरू र पृथ्वीका मानिसहरूका बिचमा उहाँले आफूलाई ठिक लागेअनुसार गर्नुहुन्छ । कसैले पनि उहाँलाई रोक्‍न वा उहाँलाई चुनौती दिन सक्दैन । कसैले पनि उहाँलाई यसो भन्‍न सक्दैन, ‘तपाईंले किन यसो गर्नुभयो’?” मेरो होश मलाई फिर्ता दिइएकै समयमा, मेरो राज्यको महिमाको निम्ति मेरो गौरव र वैभव मकहाँ फर्यो । मेरा सल्लाहकारहरू र भारदारहरूले मेरो कृपाको इच्‍छा गरे । मलाई आफ्‍नो सिंहासन फर्काइयो, र मलाई झनै धेरै महान्‌ता दिइयो । अब म, नबूकदनेसर, स्वर्गका राजाको प्रशंसा, स्तुति, र महिमा गर्दछु, किनकि उहाँका सबै कामहरू ठिक हुन्छन् र उहाँका मार्गहरू धर्मी हुन्‍छन् । आफ्नै घमण्डमा हिंड्नेहरूलाई उहाँले नम्र बनाउन सक्‍नुहुन्छ ।