१ थेसलोनिकी. 5. भाइहरू हो, तिमीहरूलाई समय र ऋतुहरूको बारेमा कुनै कुरा लेखिरहनु जरुरत छैन । किनकि तिमीहरू आफैले राम्ररी जान्दछौ कि प्रभुको आगमनको समय राती आउने चोरको जस्तै हुनेछ । तिनीहरूले “शान्ति र सुरक्षा” भन्दै गर्दा गर्भवती स्‍त्रीलाई प्रसव-वेदना भएझैँ तिनीहरूमाथि अचानक विनाश आइपर्छ र तिनीहरू कुनै पनि किसिमले उम्कनेछैनन् । तर भाइहरू हो, त्यो दिन तिमीहरूमाथि चोरझैँ आइपर्नलाई तिमीहरू अन्धकारमा छैनौ । किनभने तिमीहरू सबै प्रकाशका सन्तानहरू र दिनका सन्तानहरू हौ । हामी रातका सन्तान होइनौँ, न त अन्धकारका नै । त्यसैले, हामी बाँकी अरूहरूझैँ नसुतौँ, तर जागा रहौँ र गम्भीर हौँ । किनभने सुत्‍नेहरू रातमा नै सुत्छन् र पिएर मात्‍नेहरू रातमा नै मात्दछन् । तर हामी दिनका सन्तानहरू हौँ । त्यसैले, गम्भीर हौँ, विश्‍वास र प्रेमको छाती-पाता लगाऔँ र भावी मुक्‍तिको टोप पनि लगाऔँ । किनभने परमेश्‍वरले हामीलाई क्रोधको निम्ति होइन, तर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा मुक्‍तिको निम्ति चुन्‍नुभयो । उहाँ हाम्रो निम्ति मर्नुभयो ताकि हामी जागा हौँ वा निन्द्रामा हामी सबै उहाँसँग जिउन सकौँ । यसकारण, तिमीहरूले अगिदेखि गरेजस्तै एक अर्कालाई सान्त्वना देऊ र निर्माण गर । भाइहरू हो, हामीले तिमीहरूमाझ परिश्रम गर्नेहरूप्रति र तिमीहरूलाई उत्साह दिनेलाई प्रभुमा तिमीहरूभन्दा माथि भएकाहरूप्रति कृतज्ञ हुनलाई आग्रह गर्छौं । हामीले तिनीहरूलाई तिनीहरूको कामको खातिर प्रेममा उच्‍च आदरको सम्झनलाई पनि आग्रह गर्छौं । तिमीहरू आपसमा शान्तिमा रहो । भाइहरू हो, हामी तिमीहरूलाई गोलमाल गर्नेहरूलाई चेतावनी दिन, निरुत्साहित भएकाहरूलाई उत्साह दिन, कमजोरलाई समर्थन गर्न र सबैसँग धैर्यवान् हुनलाई उत्साह दिन्छौँ । हेर, कसैले खराबीको बदला खराबी नगरोस्, तर सदैव एक अर्कामा र सबैलाई असल गर्न प्रयत्‍न गर । सदैव आनन्द गर, नरोकी प्रार्थना गरिरहो, हरेक कुरामा धन्यवाद देओ किनभने यो तिमीहरूको निम्ति ख्रीष्‍ट येशूमा परमेश्‍वरको इच्छा हो । पवित्र आत्मालाई ननिभाओ । अगमवाणीलाई अवहेलना नगर । सबै कुराको जाँच गर, जे असल छ त्यसमा लागिरहो । सबै किसिमको खराबीलाई त्याग । शान्तिका परमेश्‍वर आफैले तिमीहरूलाई पूर्ण रूपमा शुद्ध पारून्, र तिमीहरूका सम्पूर्ण आत्मा, प्राण, र शरीरलाई हाम्रा प्रभु येशू ख्रीष्‍टको आगमनमा दोषरहित राखून् । तिमीहरूलाई बोलाउनुहुने इमानदार हुनुहुन्छ । उहाँले नै यो पनि गर्नुहुनेछ । भाइहरू हो, हाम्रो निम्ति पनि प्रार्थना गर । सबै भाइहरूलाई पवित्र चुम्बनले अभिवादन गर । म प्रभुद्वारा तिमीहरूलाई बिन्ती गर्दछु, कि यो पत्र सबै भाइहरूका निम्ति पनि पढियोस् । हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूसँग रहोस् ।