3
बालक शमूएलले एलीको अधीनमा रहेर परमप्रभुको सेवा गरे । ती दिनहरूमा परमप्रभुको वचन दुर्लभ थियो । त्यहाँ कुनै किसिमको नियमित अगमवाणीको दर्शन थिएन । त्यस बेला एलीका आँखाहरू धमिला हुन थालेका हुनाले तिनले राम्ररी नदेख्‍ने भएर आफ्नै ओछ्यानमा पल्टिरहेका थिए । परमेश्‍वरको बत्ती अझैसम्‍म निभेको थिएन, र शमूएल परमप्रभुको मन्दिरमा सुत्‍नलाई पल्टिरहेका थिए, जहाँ परमेश्‍वरको सन्दुक थियो । परमप्रभुले शमूएललाई बोलाउनुभयो, जसले भने, “म यहाँ छु ।” शमूएल कुदेर एलीकहाँ गए र भने, “म यहाँ छु, किनकि तपाईंले मलाई बोलाउनुभयो ।” एलीले भने, “मैले तँलाई बोलाइनँ । फेरि सुत ।” त्यसैले शमूएल गए र सुते । परमप्रभुले फेरि बोलाउनुभयो, “ए शमूएल ।” फेरि शमूएल उठे र एलीकहाँ गए र भने, “म यहाँ छु, किनकि तपाईंले मलाई बोलाउनुभयो । एलीले जवाफ दिए, हे मेरो छोरो, मैले तँलाई बोलाइनँ । फेरि सुत ।” अझैसम्‍म शमूएलसँग परमप्रभुको बारेमा कुनै अनुभव थिएन, न त तिनलाई परमप्रभुको शन्देश कहिल्यै प्रकट गरिएको थियो । परमप्रभुले शमूएललाई फेरि तेस्रोपल्‍ट बोलाउनुभयो । फेरि शमूएल उठे र एलीकहाँ गए र भने, “म यहाँ छु, किनकि तपाईंले मलाई बोलाउनुभयो ।” तब परमप्रभुले त्‍यो केटोलाई बोलाउनुभएको थियो भनी एलीले महसुस गरे । तब एलीले शमूएललाई भने, “जा र फेरि सुत । उहाँले तँलाई फेरि बोलाउनुभयो भने, तैंले यसो भन्, 'बोल्नुहोस्, हे परमप्रभु, किनकि तपाईंको दासले सुनिरहेको छ' ।” त्यसैले शमूएल गए र फेरि एकपल्‍ट तिनको आफ्नै ठाउँमा पल्टे । 10 परमप्रभु आउनुभयो र खडा हुनुभयो । उहाँले अरू समयमा झैं बोलाउनुभयो, “ए शमूएल, शमूएल ।” तब शमूएलले भने, “बोल्नुहोस्, किनकि तपाईंको दासले सुनिरहेको छ ।” 11 परमप्रभुले शमूएललाई भन्‍नुभयो, “हेर्, म इस्राएलमा केही कुरा गर्न लागेको छु, जुन कुरा सुन्‍ने हरेकको कान झस्‍किनेछ । 12 त्यस दिन एलीको घरानाको विरुद्ध मैले भनेका हरेक कुरा सुरुदेखि अन्‍तसम्म नै म पुरा गर्नेछु । 13 म उसको घरानाको विरुद्ध सधैंको लागि एकैपल्‍ट न्याय गर्न लागेको छु भनी मैले उसलाई भनेको छु, किनभने उसका छोराहरूले आफैमाथि सराप ल्याए र उसले तिनीहरूलाई रोकेन । 14 यसकारणले गर्दा एलीको घरानाका पापहरू बलिदान वा भेटीद्वारा कहिल्यै पनि प्रायश्‍चित गरिनेछैन भनी मैले उसको घरनासँग शपथ खाएको छु ।” 15 शमूएल बिहानसम्म नै पल्टिरहे । अनि तिनले परमप्रभुको भवनका ढोकाहरू खोले । तर त्‍यो दर्शनको बारेमा एलीलाई बताउन शमूएल डराए । 16 त्यसपछि एलीले शमूएललाई बोलाए र भने, “ए मेरो छोरो शमूएल ।” शमूएलले भने, “म यहाँ छु ।” 17 तिनले भने, “उहाँले तँलाई भन्‍नुभएको वचन के थियो? कृपया त्‍यो मबाट नलुका । उहाँले तँसँग बोल्‍नुभएका सबै वचनमध्‍ये तैंले मबाट कुनै पनि कुरा लुकाइस् भने परमेश्‍वरले तँलाई त्‍यसै र त्‍योभन्दा अझ धेरै गर्नुभएको होस् ।” 18 शमूएलले तिनलाई हरेक कुरा बताए । उनले तिनीबाट कुनै पनि कुरा लुकाएनन् । एलीले भने, “उहाँ परमप्रभु हुनुहुन्छ । उहाँलाई जे असल लाग्छ सो गर्नुभएको होस् ।” 19 शमूएल बढे र परमप्रभु तिनीसँग हुनुहुन्थ्यो, र उहाँले आफ्नो भविष्यवाणीका वचनहरू कुनै पनि अपूर्ण रहेन । 20 परमप्रभुको अगमवक्ता हुनलाई शमूएललाई नियुक्‍त गरिएको कुरा दानदेखि बेर्शेबासम्मका सबै इस्रएलीहरूले थाहा पाए । 21 परमप्रभु फेरि पनि शीलोमा देखा पर्नुभयो, किनभने आफ्नो वचनद्वारा शीलोमा शमूएलकहाँ उहाँ प्रकट हुनुभयो ।