4
1 सम्पूर्ण इस्राएलभरि शामूएलले वचन दिए । यति बेला इस्राएल पलिश्तीहरूका विरुद्धमा लडाइँ गर्न गयो । तिनीहरूले एबेन-एजेरमा छाउनी हाले र पलिश्तीहरूले अपेकमा छाउनी हाले । 2 इस्राएल विरुद्ध युद्ध गर्न पलिश्तीहरू पङ्तिबद्ध भए । जब युद्ध फैलियो, पलिश्तीहरूद्वारा इस्राएल पराजीत भयो, जसले युद्ध मैदानमा झण्डै चार हजार मानिसहरू मारे । 3 जब मानिसहरू छाउनीमा आए, इस्राएलका धर्म-गुरुहरूले भने, “आज परमप्रभुले हामीलाई पलिश्तीहरूको सामु किन पराजीत गर्नुभयो? परमप्रभुको करारको सन्दुकलाई शीलोबाट यहाँ ल्याऔं, ताकि त्यो हामीसँग यहाँ नै रहोस्, जसले हामीलाई आफ्ना शत्रुहरूका हातबाट सुरक्षित राखोस् ।” 4 त्यसैले मानिसहरूले शीलोमा मानिसहरू पठाए । तिनीहरूले त्यहाँबाट सर्वशक्तमान् परमप्रभुको करारको सन्दुक बोके, जो करूबहरूमाथि विराजमान हुनुहुन्छ । एलीका दुई जना छोराहरू होप्नी र पीनहास त्यहाँ परमेश्वरको करारको सन्दुकसँगै थिए । 5 जब परमप्रभुको करारको सन्दुक छउनीमा ल्याइयो, इस्राएलका सबै मानिसहरू ठुलो सोरमा कराए र पृथ्वी नै गुञ्जियो । 6 जब पलिश्तीहरूले कराएको यो आवाज सुने, तिनीहरूले भने, “हिब्रूहरूको छाउनीमा यति ठुलो कराएको आवाजको अर्थ के हो?” तब छाउनीमा परमप्रभुको सन्दुक ल्याइएको थियो भन्ने कुरा तिनीहरूले थाहा पाए । 7 पलिश्तीहरू डराए । तिनीहरूले भने, “छाउनीमा एउटा देवता आएको छ ।” तिनीहरूले भने, “हामीलाई धिक्कार छ! पहिले यस्तो कुनै कुरा भएको छैन । 8 हामीलाई धिक्कार छ! यी शक्तिशाली देवताहरूको शक्तिबाट हामीलाई कसले सुरक्षा दिन्छ? मिश्रीहरूलाई उजाड-स्थानमा विभिन्न किसिमका विपत्तिहरूले प्रहार गर्ने देवताहरू यिनै हुन् । 9 ए पलिश्तीहरू हो, साहसी होओ र पुरुषार्थी बन, नत्र जसरी हिब्रूहरू तिमीहरूका दासहरू भएका छन् त्यसरी नै तिमीहरू तिनीहरूका दासहरू बन्नेछौ ।” 10 पलिश्तीहरूले यद्ध लडे, र इस्राएल पराजित भयो । हरेक मानिस आफ्नो घर भाग्यो र ठुलो नरसंहार भयो । किनकि इस्राएलका तिस हजार पैदल सिपाहीहरू मरे । 11 परमेश्वरको सन्दुक लगियो र एलीका दुई छोरा होप्नी र पीनहास मरे । 12 बेन्यामीनको एक जना मानिस युद्ध मैदानबाट आफ्नो लुगा च्यातिएको र शिरमा माटो लागेको अवस्थामा नै दौडे र त्यसै दिन शीलोमा आए। 13 त्यो आउँदा, एली आफ्नो आसनमा बाटोको छेवैमा बसेर हेरिरहेका थिए, किनभने परमेश्वरको सन्दुको चिन्ताले तिनको हृदय काम्यो । जब त्यो मानिस सहर प्रवेश गर्यो र त्यो खबर भन्यो, तब सारा सहरमा रुवाबासी भयो । 14 जब एलीले रुवाबासीको हल्ला सुने, तब तिनले सोधे, “यो हल्लाखल्लाको अर्थ के हो?” त्यो मानिस दौडेर आयो र एलीलाई भन्यो । 15 यति बेला एली अन्ठानब्बे वर्ष भएका थिए । तिनका आँखाहरू धमिला भएका थिए र तिनले देख्न सक्दैनथे । 16 त्यो मानिसले एलीलाई भन्यो, “युद्ध मैदानबाट आउने मानिस म नै हुँ । म युद्धबाट आज नै भागेको हुँ ।” एलीले भने, “हे मेरो छोरो, त्यो कस्तो भयो त?” 17 सामाचार ल्याउने मानिसले जवाफ दियो र भन्यो, “ पलिश्तीहरूको सामुबाट इस्राएली भागे । मानिसहरूका माझमा ठुलो पराजय पनि भएको छ । तपाईंका दुई छोरा होप्नी र पीनहास पनि मरे, र परमेश्वरको सन्दुक कब्जा गरेर लगिएको छ । 18 जब उसले परमेश्वरको सन्दुकको बारेमा भन्यो, तब एली ढोकाको छेउमा भएको आफ्नो आसनबाट पछाडीतिर लडे । तिनको घाँटी भाँचियो र तिनी मरे, किनभने तिनी वृद्ध र गह्रौं थिए । तिनी चालिस वर्षसम्म इस्राएलका न्यायकर्ता भएका थिए । 19 तिनकी बुहारी, पीनहासकी पत्नी गर्भवती थिइन् र बालक जन्माउने बेला बएको थियो । जब तिनले परमेश्वरको सन्दुक कब्जा गरेको, तिनको ससुरा र तिनको पति मरेको समाचार सुनिन्, तब तिनले घुँडा टेकिन् र बालक जन्माइन्, तर तिनको प्रसव वेदना तिनलाई सह्रै पीडा भयो । 20 तिनको मृत्यु हुने बेलामा तिनलाई सेवा दिने स्त्रीले भनिन् “नडराऊ, किनकि तिमीले एउटा छोरा जन्माएकी छ्यौ ।” तर तिनले जवाफ दिइनन् न त तिनीहरूले भनेका कुरालाई नै मनमा राखिन् । 21 “इस्राएलबाट महिमा गएको छ” भन्दै त्यो बालकको नाउँ तिनले ईकाबोद राखिन्, किनकि परमेश्वरको सन्दुक कब्जा गरिएको, अनि तिनका पति र ससुराको मृत्यु भएको थियो । 22 तिनले भनिन्, “महिमा इस्राएलबाट गएको छ, किनभने परमेश्वरको सन्दुक कब्जा गरिएको छ ।”