5
1 यति बेला पलिश्तीहरूले परमेश्वरको सन्दुक कब्जा गरेका, र तिनीहरूले त्यो एबेन-एजेरबाट अश्दोदमा ल्याएका थिए । 2 पलिश्तीहरूले परमेश्वरको सन्दुक लगे, दागोनको मन्दिरमा त्यो ल्याए र दागोनको नजिकै राखे । 3 जब अश्दोदका मानिसहरू अर्को दिन बिहान सबेरै उठे, हेर, दागोन त परमप्रभुको सन्दुकको सामु घोप्टो परेर ढलेको थियो । त्यसैले तिनीहरूले दागोनलाई उठाए र त्यसलाई आफ्नै स्थानमा खडा गरे । 4 तर जब तिनीहरू अर्को बिहान सबेरै उठे, हेर, दागोन परमप्रभुको सन्दुकको सामु घोप्टो परेर ढलेको थियो । दागोनको शिर र दुवै हातहरू टुक्रिएर ढोकामा अलपत्र थियो । दागोनको जिउ मात्र बाँकी रहेको थियो । 5 यसैकारण आज पनि दागोनको भवनमा आउने दागोनका पुजारीहरू र कसैले पनि अश्दोदको दागोनको ढोकामा टेक्दैनन् । 6 अश्दोदका मानिसहरूमाथि परमप्रभुको हात भारी भयो । उहाँले तिनीहरूलाई विनाश पार्नुभयो, अनि अश्दोद र त्यसको वरिपरि क्षेत्रहरूमा गिर्खाको रूढीले प्रहार गर्नुभयो । 7 जे भइरहेको थियो त्यो कुरा जब अश्दोदका मानिसहरूले थाहा पाए, तब तिनीहरूले भने, “इस्राएलका परमेश्वरको सन्दुक हामीसँग रहनु हुँदैन, किनभने हामी र हाम्रो देवता दागोनको विरुद्धमा उहाँको हात भारी भएको छ ।” 8 त्यसैले तिनीहरूले बोलाउन पठाए र पलिश्तीहरूका सबै शासकहरूलाई एकसाथ भेला गरे । तिनीहरूले उनीहरूलाई भने, “इस्राएलका परमेश्वरको सन्दुकलाई हामीले के गर्नुपर्छ?” तिनीहरूले जवाफ दिए, “इस्राएलका परमेश्वरको सन्दुकलाई गातमा नै ल्याइयोस् ।” त्यसैले तिनीहरूले इस्राएलका परमेश्वरको सन्दुकलाई बोकेर त्यहाँ ल्याए । 9 तर तिनीहरूले त्यो वरिपरि ल्याएपछि, परमप्रभुको हात त्यो सहरको विरुद्धमा परेर ठुलो गोलमाल गोलमाल भयो । उहाँले सहरका साना र ठुला सबै मानिसहरूलाई प्रहार गर्नुभयो । अनि तिनीहरूमा गिर्खाको रूढी फैलियो । 10 त्यसैले तिनीहरूले परमेश्वरको सन्दुकलाई एक्रोनमा पठाए । तर परमेश्वरको सन्दुक एक्रोनमा आउने बित्तिकै, एक्रोनीहरूले यसो भन्दै कराए, “तिनीहरूले हामी र हाम्रा मानिसहरूलाई मार्नलाई इस्राएलका परमेश्वरको सन्दुक हामीकहाँ ल्याएका छन् ।” 11 त्यसैले तिनीहरूले पलिश्तीहरूका सबै शासकहरूलाई बोलाए र भेला गरे । तिनीहरूले उनीहरूलाई भने, “इस्राएलका परमेश्वरको सन्दुकलाई पठाइदिनुहोस्, र यो आफ्नै ठाउँतिर फर्कोस्, ताकि त्यसले हामी र हाम्रा मानिसहरूलाई नमारोस् ।” किनकि सहरभरि भयङ्कर मृत्युको त्रास फैलिएको थियो । त्यहाँ परमेश्वरको हात धेरै भारी पर्यो । 12 नमरेका मानिसहरूमा गिर्खाको रूढी आइपर्यो र सहरको क्रन्दन आकाशसम्मै पुग्यो ।